
मधेशदृष्टि
जनकपुरधाम ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमा पनि समाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परिरहेको बताएका छन् । मंगलबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथितिको आसनबाट बोल्दै उपाध्यक्ष पासवानले सो कुरा बताएका हुन् । पत्रकार महासंघले सदस्यता वितरण गर्दा दलित र महिलालाई प्राथमिकता दिएको भएपनि नयाँ सदस्यता वितरण र नविकरणमा जिल्ला, प्रदेश र केन्द्रले विभेद गरिरहेको बताउँदै उपाध्यक्ष पासवानले दलित समुदायका पत्रकारहरुले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने बताए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभरी महासंघका सदस्यता नविकरण र शुद्धिकरणका नाममा दलित समुदायका पत्रकारमाथि गरिएको विभेदबारे अध्ययन गरेर सुझाव दिएको बताए । पत्रकारिता क्षेत्रमा समेत दलित समुदायका पत्रकारहरुले अवसर पाउने सवालमा विभेदको सामना गर्नु परेको उनको भनाइ छ । सो क्रममा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले दलित समुदायका पत्रकारहरुलाई छात्रवृत्ति, पत्रकारिता तालिमलगायतका अवसरमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । तथ्यमा अधारित पत्रकारिता गर्न सुझाव दिदैँ प्राधिकरण अध्यक्ष यादवले दलित समुदायका पत्रकारहरु संगठित भएर पेशागत हकहितका लागि लड्न आग्रह गरे ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारिता क्षेत्रमा पनि विभेद कायम रहेको बताउँदै पत्रकार महासंघले दलित समुदायका नयाँलाई सदस्यता दिने त कता हो कता भएका सक्रिय रहेका दलित समुदायका पत्रकारहरु समेतलाई शुद्धिकरणका नाममा हटाउने प्रपञ्च गरीरहेको आरोप लगाए । राष्ट्रिय दलित पत्रकार संघ नेपालको मधेश प्रदेश अध्यक्ष समेत रहेका दासले संघलाई सक्रिय रुपमा परिचालन गर्दै दलित अधिकार कार्यान्वयनमा सहयोग पुग्ने ढंगले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशमा दलितमाथि दैनिक जातीय विभेद र हिंसाका घटना घटीरहेको जानकारी गराएका थिए । उनका अनुसार दलित समुदायको १७ प्रतिशत जनंसख्या रहेको मधेश प्रदेशमा मानव अधिकार उल्घनका घटनामा भने दलित समुदायका २१ देखी २९ प्रतिशतसम्म पीडित बन्नु परेको छ । सप्तरीको पातोमा दलित समुदायलाई ऐलानी जग्गाबाट हटाउने नाममा आधा दर्जनभन्दा बढीलाई निर्घात कुटपिट गरेको बताउँदै पासवानले दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध भएर विषय केन्द्रित पत्रकारिता गर्न आग्रह गरे । कार्यक्रममा दलित अगुवा सुनिता मेस्तरले दलितमाथि घटना हुँदा प्रमाण नष्ट भएपछि पत्रकार तथा अधिकारकर्मी पुग्ने गरेको बताए । अशोक धन्कारद्धारा संचालित कार्यक्रममा पत्रकार राजेश सक्सेनाले सहभागीहरुलाई स्वागत गरेका थिए ।
अध्यक्षमा पुनः दास
राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनले कुलदीप दासलाई पुनः अध्यक्षमा चयन गरेको छ । ९ सदस्य जिल्ला समितिको उपाध्यक्षमा मनोज पासवान, सचिवमा अशोक धन्कार र कोषाध्यक्षमा अनामिका मण्डललाई चयन गरेको छ । समितिका सदस्यहरुमा जितेन्द्र राम, ममता बैठक, निकी दास, नन्दनी दास कुमारी दास र सरोज राउत चयन भएका छन् । त्यसैगरी प्रदेश पार्षदमा राजेश सक्सेना, विरेन्द्र पासवान, र केन्द्रिय प्रतिनिधिमा कैलाश दास, रामएकवाल महरा चयन भएका छन् ।
००००






