
मधेशदृष्टि
वीरगंज ।
पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर २ गदियानीमा रहेको कृषि तथा पशु उपशाखाको भवनमा डोजर लगाएर भत्काउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
प्रहरीले डोजर लगाएर भवन भत्काउने क्रममा प्रतिकारमा उत्रिएका स्थानीयसँग झडप भएको हो । झडपका क्रममा प्रहरीले स्थानीयमाथि लाठी चार्जपनि गर्दा २ जना सामान्य घाइते भएका छन् ।
झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै घरभित्रै पसेर महिला लगायतलाई कुटपिट र दुव्र्यवहार गरेको स्थानीयको आरोप छ ।
गदीयानीस्थित सार्वजनिक पोखरीको १० धुर जग्गामा करिब डेढ दशकपहिले तत्कालीन सात दलको निर्णयमा ब्रिलियन्ट क्लबले कार्यालय सञ्चालनका लागि एक तल्ले भवन बनाएको थियो ।
भवन निर्माण भएलगत्तै स्थानीय राजुल सहनीले सार्वजनिक जग्गामा भवन निर्माण गर्ने ब्रिलियन्ट युवा क्लबविरुद्ध पर्सा जिल्ल अदालतमा मुद्धा दिएका थिए । उक्त मुद्धामा जिल्ला अदालतले क्लबको पक्षमा फैसला गरेपछि उक्त फैसला विरुद्ध सहनीले तत्कालीन पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेका थिए । पुनरावेदन अदालतले भने जिल्ला अदालतको फैसला उल्ट्याँउदै सहनीको पक्षमा फैसला गरेपछि क्लब सर्वोच्च अदालतमा पुगेको थियो । तर सर्वोच्च अदालतले भने पुनरावेदन अदालतको फैैसलालाई सदर गर्दै सार्वजनिक पोखरीको जग्गामा बनाइएको उक्त भवन भत्काएर सार्वजनिक कायम गर्न फैसला गरेको थियो ।
त्यसपछि क्लबले उक्त भवन गाँउपालिकालाई जिम्मा लगाएको थियो । क्लबले जिम्मा लगाएपछि गाँउपालिकाले पालिकास्तरीय निर्णय गरेर उक्त भवनमा करिब डेढ बर्षदेखि पशु तथा कृषि उपशाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । यसका साथै गाँउपालिका अध्यक्ष बशिष्ठ गुप्ताले उक्त भवन पालिकाको स्वामित्वममा आइसकेकाले पालिकाले आफनो संरक्षणमा राखेर पशु तथा कृषि उपशाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारीसहितको निवेदन पर्सा जिल्ला अदालतमा दिएका थिए ।
तर शनिबार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन दाहाल नेतृत्वको टोलीले डोजर लगाएर भवन भत्काउने क्रममा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीसँग झडप भएको हो । स्थानीय तहसँग पनि समन्न्वय नगरी शनिबार बिहान अचानक डोजर लिएर आएको प्रहरीले गुण्डागर्दी शैलीमा भवन भत्काइदिएको क्लबका सचिव उमाशंकर साहको आरोप छ ।
गाँउपालिका अध्यक्ष गुप्ताले भने पालिकासँग कुनै समन्वय नै नगरी जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर जबरजस्ति भवन भत्काएको बताए ।
यता प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने आँफुले अदालतको फैसला कार्यान्वयन गर्न मात्रै लगाएको बताए । सार्वजनिक पोखरीको जग्गा पुर्वत् अवस्थामै कायम गराउनु भन्ने सवोच्च अदालतको फैसला आएको र सर्वोच्चको उक्त फैसला कार्यान्वयन गराउन शनिबार प्रहरी र डोजर पठाएर भवन भत्काइएको उनले बताए ।






