
मधेशदृष्टि
वीरगंज ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको नयाँ गठबन्धन देशको आवश्कता भएको बताएका छन् । नेकपा एमाले पर्सा जिल्ला कमिटिको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको बिहीबार वीरगंजमा उद्घाटन गर्दै महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय अभिभारा पूरा गर्नका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिए । विगतको गठबन्धनको सरकारले मुलुकको विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारेर अर्थतन्त्र धारासायी बनाएको उनले आरोप लगाए । विगतमा स्वार्थहरुको गठबन्धन सरकार बनेको हुँदा जनताका पक्षमा काम नभएको जिकिर गर्दै अहिले बनेको सरकार स्वार्र्र्थहरुको गठबन्धन नभई नीतिगत श्रेष्ठताका आधारमा बनेको हुँदा यसले जनताको पक्षमा काम गर्न सक्ने दाबी गरे ।
महासचिव पोखरेलले देशको स्वाधिनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले सदैव खरो उत्रिएको बताउँदै एमाले सत्ताको खेलमा लाग्न नखोज्दा समेत अहिले बाध्य नयाँ जगमा गठबन्धन सरकार बनाउन बाध्य भएको बताए । महासचिव पोखरेलले जनताको चाहना पूरा गरी मिसन ८४ को महाअभियान पूरा गर्ने दिशामा नेकपा एमाले अगाडी बढिरहेको बताउँदै मधेश प्रदेशमा समेत एमालेको बहुमतको सरकार बन्ने दाबी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज एवम् केन्द्रिय सचिव योगेश भट्टराईले समृद्ध मुलुक निर्माणका लागि आर्थिक–सामाजिक विकास र रूपान्तरणको कामलाई तीव्रता दिनु पर्ने कुरामा जोड दिए । नेकपा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, चन्देश्वर मण्डल, प्रदेश कमिटी उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, सांसद राज कुमार गुप्ता लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।






