मुख्यमन्त्रीको अनुपस्थितिले सर्वदलीय बैठक र प्रदेश सभा अनिश्चित

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव निजी कामले संघीय राजधानी काठमाडौँ गएकाले प्रदेश सभामा सहमति जुटाउनका लागि हुने भनिएको सर्वदलीय बैठक बस्न सकेन । जनमत पार्टीले मधेश प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएपछि सहमति खोज्न बुधबार बिहान सर्वदलीय बैठक बसेर सहमति खोज्ने र प्रदेश सभा बैठक चलाउने तयारी थियो । तर मुख्यमन्त्री नै बैठकमा नआउने भएपछि बैठक बस्न सकेन ।

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बैठक सुचारु गर्ने विषयमा सर्वदलीय बैठकमार्फत सहमति खोज्ने प्रयास गरेपछि मुख्यमन्त्री बाहिर जाने भएपछि बैठक बस्न नसकेको हो । मुख्यमन्त्री नआएसम्म सर्वदलीय बैठक नबस्ने बताइएको छ । सर्वदलीय बैठकविना प्रदेश सभा बैठक सञ्चालन गर्ने सम्भावना नरहेको नेताहरुले बताए ।

मंगलबार प्रदेश सभा बैठकमा जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवले माफी माग्नुपर्ने भन्दै प्रदेश सभा बैठक अवरोध गरेको थियो । जनमतले कृषि विश्वविद्यालय भवन शिलान्यास कार्यक्रममा तत्कालीन मन्त्री महेशप्रसाद यादव र जनमत पार्टीका प्रदेश सभा सदस्यमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको भन्दै जनमत पार्टीले मुख्यमन्त्रीले माफी माग्नुपर्ने र घटना छानबिन गर्न उच्चस्तरीय संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनकुमार सिंहले मुख्यमन्त्री आफैँ कार्यक्रममा उपस्थित भएको समयमा आफ्नै मन्त्रीमाथि प्रहरीले लाठ्ठी चार्ज गर्दासमेत थाहा नभएको जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै आएको आरोप लगाए । उनले प्रदेश सभाका सदस्यमाथि समेत दमन गरिएको बताए । उनले भने, ‘घटनाको वास्तविक छानबिन हुनुपर्छ तब मात्रै प्रदेश सभा बैठक सञ्चालन गर्न दिन्छौँ ।’ मुख्यमन्त्री यादवप्रति सत्ता गठबन्धनमा रहेका दलसमेत निकै असन्तुष्ट रहेका छन् । यस्तोबेला मुख्यमन्त्री नै निजी कामले प्रदेश बाहिर भएपछि प्रदेश सभा सुचारु गर्ने विषय पनि ओझेलमा परेको छ ।

बागमतीमा पनि मुख्यमन्त्री अनुपस्थित
बागमतीमा बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भएको हो । बुधबार बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको थियो । प्रतिपक्षी नेकपा एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने सूचना पाएपछि साढे १ बजेसम्म सरकारले एमाले र राप्रपासँग वार्ता गरेको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले बुधबारको बैठक स्थगित गरी बिहीबार बस्ने सहमति भएको जानकारी दिए ।
छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहभागी थिएनन् । विपक्षी नेकपा एमाले र राप्रपाले सहमतिका लागि मुख्यमन्त्री जम्कट्टेलको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छलफलमा सहभागी एक सांसदले बताए ।

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले १ असारमा ६२ अर्ब ७० करोडको बजेटमा ल्याएको थियो । तर बजेटमा सत्तारुढ र विपक्षी सांसदहरुबीच विभेद गरेको, प्रभावशाली नेताहरुले गृह जिल्लामा मात्र बजेट थुपारेको भनेर विपक्षी दलहरुले प्रदेशसभा अवरुद्ध गरेपछि सरकारले नेकपा एमाले र राप्रपाका सांसदहरुको छुटेका योजना समेट्ने सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै दुबै दलले विरोध गरेपछि असोज २२ गतेको बैठक स्थगित भयो, सरकारले प्रदेशसभा अधिवेशन नै अन्त्य गरेको थियो । १ सय ४० दिनपछि मंगलबार बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button