
मधेशदृष्टि
राजविराज ।
सप्तरीको खडक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले नियम मिचेर लाखौँ रुपैयाँको मोबाइल खरिद गरेको फेला परेको छ ।
प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी र कर्मचारीले पाउने सेवा सुविधासम्बन्धी कानुनमा मोबाइल उपलब्ध गराउने व्यवस्था छैन भने नगर कार्यपालिकाले पनि त्यस्तो सुविधासम्बन्धी मापदण्ड र निर्णय गरेको छैन । तर, जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी १८ वटा मोबाइल खरिद गरेको पाइएको हो ।
तीमध्ये ७ वटा २०७९–८० अघि नै खरिद गरेको भेटिएको छ भने २०७९–८० मा मात्रै एउटा ‘आइफोन’सहित ११ वटा खरिद गरेको भेटिएको छ । मेयर जयप्रकाश चौधरीले एउटा ‘आइफोन’ र अर्को भिभो सहित दुई वटा मोबाइल राज्यको करबाटै चलाइरहेको पाइएको हो ।
त्यस्तै, उपमेयर रीताकुमार चौधरीले पनि दुई वटा मोबाइल लिएकी छन् । प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार दास, अधिकृत छैठौँ रमाकान्त चौधरी, सिनियर अहेवद्वय अधिकृत जीवनारायण चौधरी र जाकिर हुसेन, जनस्वास्थ्य निरीक्षक वीरेन्द्रकुमार दास, सब इन्जिनियरद्वय विक्रान्त चौधरी र राधेकृष्ण साह, वडा नम्बर–२ का अध्यक्ष हरेराम मण्डल, सह लेखापालद्वय ध्रुव प्रकाश विश्वकर्मा र रामकुमार श्रेष्ठ, सवारी चालक हसमत मियाँ, कार्यालय सहयोगी श्यामकुमार चौधरीले एक–एक वटा तथा अन्य दुई मोबाइल नगरपालिकामा रहेको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।






