
वीरेन्द्र रमण
जनकपुरधाम
जानकी आँखा अस्पतालले अस्पतालमा कार्यरत रहेका चिकित्सकहरुमाथि कुटपिट भएको घटना पछि अस्पतालमा काम गर्ने वातावरण नभएको र भय त्रासको अवस्था सृजना भएको जनाएको छ । अस्पतालका पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा केही तत्वहरुले अस्पतालमा सेवा प्रवाह गरिरहेको चिकित्सकमाथि कुटपिट गरिएको घटनाबाट अस्पतालमा त्रासपूर्ण वातावरण सृजना भएको जनाएको छ ।
अस्पतालका कामु प्रशासकिय अधिकृत दिपेन्द्र सिंह र मेडिकल डाईरेक्टर डा. आशिष बोहराले जारी गरेको विज्ञिप्तमा ‘अस्पतालको कुशल व्यवस्थापन र भरपर्दो सेवाका कारण केही नीजि अस्पतालहरुलाई व्यवसायिक मर्का परिरहेको हुनाले केही अस्पताल सञ्चालक, स्वास्थ्य माफिया र भुमाफिया तथा अपराधमा संलग्न व्यक्तिहरु संगठित भई अस्पतालको छविमाथि धुमिल पारेर हानी नोक्सानी पुर्याई अस्पताल समाप्त पार्ने षडन्त्र अन्र्तगत पटक–पटक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुमाथि हातपात, धाकधम्की दिने कार्य गर्दै आएको र पछिल्लो पटक प्रहरीकै उपस्थितिमा चिकित्सक र कर्मचारीमाथि भएको कुटपिटको घटना दुखद रहेको’ जनाएको छ ।
विज्ञप्तिमा निजि क्षेत्रका स्वास्थ्य माफिया र अपराधिक समुहको वास्तविकतालाई बुझी नबुझी वा बुझा पचाई स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको हितमा कार्य गर्ने नेपाल मेडिकल एसोसियशन जस्तो गरिमामय संस्थासंग आवद्ध जनकपुर शाखाका केही उच्चपदस्थ पदाधिकारी समेतले चिकित्सक र स्वास्थयकर्मी माथि हातपात, अस्पताल तोडफोड र आक्रमण गर्ने गराउने कार्यमा संग्लन हुनु थप दुखद, आश्चर्यजनक र लजास्पद पक्ष रहेको जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका कर्मचारीहरुलाई कुटपिटगर्नेहरुमाथि मुद्दासमेत दर्ता नगर्नु दुखद रहेको जनाएको छ ।
आँखा अस्पतालका प्रमुख डा.आशिष बोहराले अस्पताल जस्तो संवेदनशील ठाउँको सेवा अवरुद्ध गनु नहुने बताए । उनले नेपाल तथा भारतका गरेर दैनिक सात सय बढीले यहाँबाट सेवा सुविधा लिइरहेको अवस्थामा यसरी तालाबन्दी गरेर सेवा अवरुद्ध गर्नु हातपात गर्नु उचित नरहेको हुँदा विवाद सुल्झाउने तर्फ लागेको बताए । उनले प्रशासनमा ताला लगाए भने सेवाग्राही मार्कामा पर्ने हुँदा अस्पतालको सबै सेवा खुला राख्नुपर्ने हुन्छ तर, यहाँ प्रशासनमा ताला लगाउने चिकित्सकको कार्यकक्षमै गएर हातपात गर्ने, ढोका फुटाउने जस्ता क्रियाकलाप हुँदा चिकित्सको ज्यान जोखिममा राखेर सेवा दिन नसकिने बताए ।
उनले संघर्ष समितिले राखेका माग र लगाएको आरोप निराधार रहेको बताए । अस्पतालको सामान टेण्डर प्रक्रियाबाट खरिद भएको हुँदा भ्रष्टाचार गर्ने ठाउँ नै नरहेको दाबी गर्दै उनले भने, ‘जुन विषयलाई लिएर यहाँ विवाद भएको छ, त्यसको कुनै आधार नै छैन, सबै बलजस्ती आरोप र हातपातसम्म गर्न उत्रेका छन् ।’
अस्पतालका प्रमुख डा. बोहराले संक्रमणकालीन अवस्थामा अति आवश्यक परेका बेला डा.अमितलाई करारमा खटाइएको र करार अवधि सकिएपछि छ महिना पहिले विदाई पत्रसमेत दिइएको बताए । उनले भने ‘डा. अमितले यसअघि पनि अस्पतालमा यसरी हुलदंगा गर्नुभएको थियो, उहाँ जबरस्ती काम गरी रहनु भएको छ, यस्तै डा. सन्तोष साहलाई हामीले बोलाएका होइन, उहाँको बुवा जानकी आँखा अस्पतालमा काम गर्ने हुँदा अभ्यासका लागि यहाँ ल्याउनु भएको हो, । डा. रञ्जना ठाकुरलाई पनि मन्त्रालयले काजमा पठाएको थियो र उहाँलाई पनि मन्त्रालयले पारिश्रमिक दिएको थियो । त्यसकारण जति पनि आरोप लगाएका छन सबै निराधार छन् । आवश्यक परे प्रमाण पनि दिन सकिन्छ ।’
अध्यक्ष नरेश सिंहले समेत आफुहरु अस्पताल आउँदा अस्पताल सुधारको धेरै कार्यहरु गरेको तर माफियाहरुको चलखेल बन्द भएपछि उनिहरु विभिन्न निहुमा अस्पतालमा अराजकता मचाउन खोजेको आरोप लगाए । अस्पताल प्रागाणमा सेवाहरु अवरोध गरेर धर्नामा बसेका सर्वदलीय तथा सर्वपक्षीय संर्घष समितिलेका संयोजक राम सिंहले समेत पत्रकार सम्मेलन गरेर आफूहरुको आन्दोलन अस्पताल सुधारको लागि भएको जनाएका छन् । अस्पताललाई आफ्नो नीजि संस्था जस्तो बनाइएकोले त्यसका विरुद्ध आफूहरुले संर्घष गर्नुपरेको उनको भनाइ छ ।






