एक दशकदेखि हरियाली वीरगंजको अभियानमा प्रकाश खेतान

[mashshare]

‘प्रकृतिलाई कसरी जोगाउने र प्रकृतिलाई हामीले के दिन सक्छौँ भन्नेमा हामी सचेत भएर काम गर्नुपर्छ । बोटविरुवा रोपेर पानीका स्रोतको संरक्षण गर्न सकिन्छ । प्रकृति संरक्षण गर्नसके मात्र मानव अस्तित्व जोगाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’
प्रकाश खेतान
संस्थापक अध्यक्ष,
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र

महेश कठायत
वीरगंज ।
औद्योगिक र व्यापारिक दृष्टिकोणले परिचित वीरगंजका आफ्नै विशेषता छन् । पुरानो र गौरवपूर्ण इतिहास बोकेको वीरगंजको चर्चा गर्न लायक थुप्रै विषयहरु भेटिन्छन् । कुनै समय फोहोरले गर्दा दुर्गन्धित शहरको उपमा पाएको वीरगंजले अहिले त्यसलाई गलत साबित गरिदिएको छ । ‘स्वच्छ सफा हराभरा वीरगंज’ महानगरपालिको नारा बनेको छ । यही नारालाई सार्थक तुल्याउन तथा वीरगंजलाई हराभरा बनाउने अभियानमा जोडिएको एउटा नाम हो, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगंज । जसको नेतृत्व गर्दै आएका छन्, जय प्रकाश खेतान ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले विगत एक दशकदेखि स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षणलगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ । ग्रीन सिटीले कुनै बेला वीरगंजको आदर्शनगर क्षेत्रलाई मात्रै विशेष जोड दिएर काम गर्दै आएको थियो । किनभने त्यो बेलामा ग्रीन सिटीलाई काम गर्ने क्षेत्राधिकार नै सीमित दिइएको थियो । तर, अब ग्रीन सिटी आदर्शनगरमा मात्र नभइ हरियाली वीरगंजको अभियानमा जोडिएको छ । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका जय प्रकाश खेतानलाई वीरगंज महानगरपालिकाले वातावरण हरियाली तथा सरसफाइ समितिको संयोजकको जिम्मेवारी सुम्पेको छ । २०७९ पुस महिनामा वीरगंज महानगरले वातावरण हरियाली तथा सरसफाइ समितिको संयोजकको जिम्मेवारी दिएपछि खेतानको कार्यक्षेत्र फराकिलो बनेको छ । ग्रीन सिटीले विगतदेखि नै वातावरण संरक्षणका लागि गर्दै आइरहेको काम कारवाहीलाई हेरेर महानगरले आफूलाई वातावरण हरियाली तथा सरसफाइ समितिको संयोजकको जिम्मेवारी दिएको जय प्रकाश खेतान सुनाउँछन् ।

मधेशदृष्टिसँगको कुराकानीमा उनी भन्छन्, ‘मेरो नेतृत्वमा ग्रीन सिटीले विगमा गरेका कामलाई हेरेर २०७९ पुस महिनाको १८ गते मलाई वीरगंज महानगरको वातावरण हरियाली तथा सरसफाइ समितिको संयोजकको जिम्मेवारी दिइयो ।’ त्यसबेला स्वच्छ सफा हराभरा वीरगंज बनाउन आफूहरु सक्रिय भएर लाग्ने तर त्यस्ता काममा राजनीतिकरण भने नहोस भनेर महानगरसँग आग्रह गरेको उनी सुनाउँछन् । महानगरले दिएको जिम्मेवारीलाई बोध गरी सोही बम्मोजिम कामहरु गर्दै आइरहेको उनी बताउँछन् । सरसफाइको कुरामा वीरगंज पहिलेको तुलनामा अहिले धेरै नै परिवर्तन भएको महसुस सबैले गरेको उनको भनाइ छ ।

हुन पनि कुनै समय वीरगंजको खाली ठाउँहरुमा फोहोरको डंगुर हुन्थो, तर अहिले खाली ठाउँहरुमा पनि हरियाली देखिन्छ । यसका लागि ग्रीन सिटीको भूमिका पनि उत्तिकै प्रसंशायोग्य नै छ । अझै वातावरणको संरक्षणका सवालमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र स्थानीय तहसँग मात्रै नभइ राष्ट्रिय चुरे संरक्षणसँग पनि हातेमालो गर्दै आइरहेको छ । विगत करिब चार वर्ष अघिदेखि नै ग्रीन सिटीले राष्ट्रिय चुरे संरक्षणसँगको सहकार्यमा विभिन्न ठाउँहरुमा वृक्षारोपणका कामहरु समेत गर्दै आइरहेको छ ।

…अनि शुरु भयो ग्रीन सिटीको अवधारणा
आजभन्दा करिब ११ वर्ष अघि २०७० सालतिर जय प्रकाश खेतानसहित केही साथीहरु आफ्नै घरआँगनमा फूलहरु र बोटविरुवा रोप्ने गर्दथ्ये । घरआँगनलाई स्वच्छ सफा र हराभरा राख्न बोटविरुवा रोप्न थालेपछि टोलका अन्य छिमेकीले पनि सोही कुरालाई अनुसरण गर्दै गए । त्यसपछि टोलका केही घरपरिवार मिलेर बोटविरुवा रोप्न थालेको जय प्रकाश खेतान सम्झिन्छन् । त्यतिञ्जेलसम्म ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना भएकै थिएन । २०७२ सालमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना हुनुमा प्रमुख दुई जना पात्रको नाम जोडिएको घटना जय प्रकाश खेतान सुनाउँछन् । ती हुन्, तत्कालिन समयमा पर्सा प्रहरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) राजुबाबु श्रेष्ठ र तत्कालिन वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइराला ।

जय प्रकाश खेतान विगतलाई सम्झिदै भन्छन्, ‘त्यो बेला उहाँहरु दुबै जना (राजुबाबु श्रेष्ठ र विष्णु कोइराला) मा वीरगंजका लागि केही गरेर जाऔँ भन्ने चाहना थियो । वीरगंजलाई परिवर्तन गर्न उहाँहरुले वीरगंजवासीको साथ खोजिरहेका थिए । राजबाबु श्रेष्ठले धेरै संघसंस्थालाई गुहार्नु पनि भयो । तर, ६ महिनासम्म धेरैलाई गुहार्दा पनि कुनै नतिजा आउन सकेन ।’ उनी अगाडि थप्छन्, ‘त्यो बेला एक दिन राजुबाबु श्रेष्ठ ‘मर्निङ वाक’मा आइरहेका बेला हामीलाई बिहान दुई÷चार वटा विरुवाहरु रोपिरहेको देख्नुभयो । अनि हामीलाई बोलाउनु भयो । एसपी श्रेष्ठले ‘प्रहरी मेरो साथी’ भन्ने श्लोगनलाई राखेर प्रहरीसँगै मिलेर काम गर्दा अझै सहज हुने सल्लाह दिनुभयो ।’ एसपी श्रेष्ठको कुरामा सहमति जनाएपछि ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको औपचारिक शुरुवात भएको जय प्रकाश खेतानले सुनाए । उनी भने, ‘हामीले त्यो बेला धेरै चासो राखेका थिएनौँ । तर, उहाँ (राजुबाबु श्रेष्ठ)ले नै विधी विधान बनाइ दिनुभयो । २१ सदस्यको समिति गठन गरिदिनुभयो । तीन वटा जनपथ प्रहरीसहित चार वटा कर्मचारीको व्यवस्था मिलाइदिनु भयो । हामीले पनि त्यो कुरालाई स्वीकार गर्दै काम गर्न थाल्यौँ ।’

तत्कालिन एसपी श्रेष्ठ र प्रशासकीय अधिकृत कोइरालाको चाहना अनुरुप अहिलेसम्म पनि ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले समाजका लागि इमानदार भएर काम गरिरहेको खेतान बताउँछन् । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको औपचारिक शुरुवात भएपछि नागरिक र प्रहरीबीचको दूरीलाई समेत कम गर्न मद्दत मिलेको उनले सुनाए । हुन पनि आजभोलि सानोतिनो घरझगडा, वादविवाद, घरेलु हिंसा जस्ता कतिपय स्थानीयवासीका समस्याहरु यही सेवा केन्द्रमा समाधान हुने गरेका छन् । ‘ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना भए पश्चात स्वास्थ्य, सरसफाइ, खेलकूद, शिक्षादेखि लिएर समाजमा आइनपर्ने हरेक परिस्थितीसँग लड्ने तरिकाले काम गर्न थाल्यौ’ जय प्रकाश खेतान सुनाउँछन, ‘कोराना महामारीका बेला पनि अप्ठ्यारोमा परेकाहरुका लागि हामीले थ्रुपै कामहरु समेत गर्यौ । आजसम्म पनि हामी हरेक आइपर्ने परिस्थितीसँग जुधेर काम गर्दै अघि बढिरहेका छौँ ।’

सामाजिक क्षेत्रको सक्रियता
वि.स.२०३२ सालमा वीरगंजमा जन्मिएका जय प्रकाश खेतानको रुचि समाजसेवामा कम व्यापार व्यवसायमा बढी थियो । वीरगंजको त्रिभुवन स्कूलमा विद्यालय शिक्षा अध्ययन गरेका खेतान एसएलसी उत्तिर्णपछि व्यापार गर्न थाले । २०४९ सालतिर खेतानले भारतको पटनाबाट अगरबत्ति ल्याएर व्यापार शुरु गरे । त्यो बेला बैंकबाट ऋण लिएर व्यापार शुरु गरेका खेतानले व्यापारमा घाटा बेहोर्नु पर्यो । तर, त्यो बेला व्यापार घाटामा जाँदा पनि आफूले हिक्मत नहारेको उनी सुनाउँछन् । स्नातकसम्मको अध्ययन पूरा गरेका खेतान अहिले पनि अगरबत्तिको व्यापार गर्दै आइरहेका छन् । आफ्नो व्यापारसँगै सामाजिक कार्यमा पनि उनको सक्रियता उत्तिकै छ । स्नातकसम्म अध्ययन पछि सरकारी जागिरतिर ध्यान दिनु भएन ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन् ‘पहिलेदेखि नै चाहना थियो आफ्नै काम गर्छु, तर जागिर खादिनँ । पान दोकान खोल्छु, चिया पनि बेच्छु आफ्नै काम गर्छु, सरकारी जागिर खाँदैन भन्ने सोच थियो । त्यसैले पनि मैले सरकारी जागिरतिर ध्यान दिइनँ ।’ आफ्नो काम गर्ने बाँकी समय सामाजिक कार्यमा सक्रिय हुने गरेको छु ।’

शुरुवाती दिनहरुमा सामाजिक कार्यमा लाग्दा जय प्रकाश खेतानलाई घरपरिवारले साथ दिएका थिएनन् । त्यो बेला कतिपयले उनलाई समाजसेवा ‘बेकारको काम’ हो भनेर सुनाउँथे । त्यसैले होला त्यो बेला उनलाई समाजसेवा नै गर्छु भन्ने पनि लागेको थिएनँ । तर, पनि उनी सामाजिक कार्यमा भने सक्रिय हुँदै गए । त्यो बेलाको विगत सम्झिदै प्रकाश खेतान भन्छन्, ‘राम्रो काम गर्दा पनि कसैले घरमा गएर ‘तिम्रो बेटा त नाली सफा गर्दै छ’ भनेर सुनाइ दिन्थ्ये । अरु काम छैन भन्ने कुरा सुन्नु पर्दथ्यो । घरपरिवारलाई पनि सम्झाएर सामाजिक काममा अग्रसर भइयो । अहिले सबैले समाजसेवालाई सही तरिकाले बुझेकोमा खुसी लाग्छ ।’ सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएका खेतानलाई आजभोलि समाजसेवा नै उनको काम जस्तो बनेको छ । ग्रीन सिटीले गर्दै आइरहेको वातावरण हरियाली तथा सरसफाइलगायतका सामाजिक कार्य देखेर धेरैले उनको कामको प्रशंसा गरेका छन् । जसले गर्दा उनलाई सामाजिक कार्यमा सहभागि बन्न थप उर्जा मिलेको छ ।

आगामी दिनमा वीरगंजलाई हरियाली बनाउने सोचका साथ वृक्षारोपणका कामहरु गर्दै आइरहेका प्रकाश खेतान भन्छन्, ‘प्रकृतिलाई कसरी जोगाउने र प्रकृतिलाई हामीले के दिन सक्छौँ भन्नेमा हामी सचेत भएर काम गर्नुपर्छ । बोटविरुवा रोपेर पानीका स्रोतको संरक्षण गर्न सकिन्छ । प्रकृतिलाई जोगाउन सकिएन भने मानव अस्तित्व नै खतरामा पर्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’ अब गण्डकदेखि परवानीपुरसम्म, पावर हाउसदेखि ड्राइपोटसम्मको खाली ठाउँ लगायत अन्य खाली ठाउँमा पनि वृक्षारोण गर्ने योजना रहेको उनले सुनाए । वीरगंजलाई स्वच्छ सफा र हरियाली बनाइ ‘वीरगंज हेर्न जाऊ’ भन्ने गरी पयर्टकीय गन्तव्य बनाउने कुरामा उनले विशेष जोड दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button