
मधेशदृष्टि
रौतहट ।
रौतहट जिल्लामै पहिलो पटक गौर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगर प्रमुख शम्भु साहको पहलमा नगरपालिकाद्वारा कृषकलाई सहुलियत दिने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गरपालिकाले खेतीपाती तथा पशुपंक्षी पालन गर्ने किसानहरूको लागि घरमै पुगेर कृषि प्राविधिकले सेवा दिने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको मेयर साहले बताए ।
‘किसानलाई खेत र गोठमा पशुपंक्षी पालक किसानलाई फर्ममै सेवा चाहिएको हुन्छ । सोही अवस्थालाई मध्यनजर गर्दै सोही ठाउँमै पुगेर प्राविधिकसहितको सेवा दिन कृषि एम्बुलेन्स अत्यावश्यक रहेकोले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो’ मेयर साहले भने । गौर नगरपालिकाको मेयरको जिम्मेवारी सम्हालेदेखि नै शम्भु साहले भौतिक पूर्वाधार निर्माणका साथै शिक्षा, स्वास्थ र कृषिलाई विशेष प्राथमिकता दिएर काम गर्दै आइरहेका छन् ।






