कलैया अस्पतालका लेखापाल यादवको कमिसनमोह, भुक्तानी रोकेर ठेकेदार र सप्लायर्सलाई सास्ती

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

बाराको कलैया अस्पताल तथा स्वास्थ्य कार्यालयका लेखापाल रामबालक यादवले हाकाहाकी ठेकेदार र सप्लायर्ससँग कमिसन मागेर भुक्तानी रोकेपछि समस्या भएको छ । असार मसान्त आइरहँदा लेखापाल यादवले कमिसन नबुझाउनेलाई भुक्तानी रोकेका हुन् ।

यादवलाई कमिसन बुझाउन तयार नहुँदा अस्पतालमा सेवा र आपूर्ति गरेका दर्जनौँ ठेकेदार र सप्लायर यतिखेर प्रक्रिया पूरा भइसकेको भुक्तानीसमेत पाउनबाट वञ्चित भएका छन् । एक ठेकेदारका अनुसार, कानूनी प्रक्रिया र आवश्यक कागजात पुर्‍याएर जाँदासमेत यादवले कम्तीमा १० प्रतिशत कमिसन नदिए फाइल अगाडि नबढ्ने भन्दै अडान लिएर रोकेर राखेका छन् । ३ प्रतिशत कमिसन सबैले दिइरहँदा लेखापाल यादवले नमानेपछि महिनौँदेखि धेरैको प्रक्रिया पुगेका, काम सम्पन्न भएका भुक्तानी रोकिएको पाइएको छ ।

अस्पतालमा काम गरिरहेको एक एक सप्लायरले लेखापाल यादवको रवैयाले साना व्यवसायी हैरान भएको बताए । सप्लायरका अनुसार यादवले हाकाहाकी प्रदेश मन्त्रालयमा पैसा पठाउनुपर्ने र आफूलाई पनि टेन्सन रहेको भन्दै कमिसनबिना काम सम्पन्न गर्न कठिन हुने बताउने गरेका छन् ।

असार मसान्त नजिकिँदै गर्दा धेरै सप्लायर तथा ठेकेदारले भुक्तानी नपाउँदा कर्जा तिर्न नसक्ने अवस्था बनेको छ । बैंक तथा चेक बाउन्स हुने डर, मजदुरलाई तलब रोकिने समस्याबाट ठेकेदार र सप्लायर्स पीडित भएका छन् ।

कलैया बजारमा अस्पतालका लेखापाल यादवकै चर्चा चुलिएको छ । एक व्यवसायीले भने, ‘मुख्यमन्त्रीलाई भेटेरै भुक्तानी रोकिने संरचना भत्काउन आग्रह गर्नु पर्ने भएको छ ।’

कलैया अस्पतालको मात्रै होइन, पछिल्ला महिना कलैयामा स्वास्थ्य सामग्री खरिददेखि निजी अस्पतालको अनियमित सञ्चालन, जनस्वास्थ्य सेवाको चरम अभाव जस्ता अनेकौँ गम्भीर समस्या सतहमा आएका छन् । यस्तैमा लेखापालले न खुलेआम कमिसन माग्ने रवैयाले मधेश प्रदेशमै सरकारी कार्यालयमा बढ्दो भ्रष्टाचारको संकेत गरेको छ ।

स्थानीयस्तरमा लेखापाल रामबालक यादवविरुद्ध कैयौँ गुनासा प्रशासन र अख्तियारमा परेको स्रोतले बताएको छ। पीडितहरूले तत्काल अस्पताल तथा स्वास्थ्य कार्यालयमा स्वतन्त्र आर्थिक छानबिन समिति गठन गरेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button