
मधेशदृष्टि
बारा ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रमु साहले तीनै तहको बजेटमा हुने गरेको भ्रष्टाचारको खुलेर विरोध गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बिहीबार बारागढी गाउँपालिका–७ सुखीपथरामा पार्टीद्वारा आयोजित खुला सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले भ्रष्टाचारीलाई जनस्तरबाटै कारवाही थाल्नुपर्ने बताए । भ्रष्टाचारीहरु जहाँ भेटिन्छन त्यहीँ जनकारवाही थाल्नुपर्ने उनले बताए । भ्रष्टाचारीहरुलाई कारवाही गर्न सरकार असफल भएको बताउँदै उनीहरुलाई कारवाही नगर्दासम्म मुलुक समृद्ध नहुने उनको दाबी छ । अध्यक्ष साहले पार्टीले भ्रष्टाचार, दलीय लुटतन्त्र, बेथिति एवम् कुशासनको बिरुद्धमा निरन्तर लडिरहने र संघर्षका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपासहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता एवम् समाजसेवीहरु आजपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई आजपा अध्यक्ष साहले खादा, माला, अविर लगाउँदै पार्टीमा स्वागत गराएका थिए । देशमा बढदै गएको भ्रष्टाचार, दलीय लुटतन्त्र, बेथिति एवम् कुशासनका बिरुद्धमा आजपाले लिएको अडान ठिक लागेर आजपामा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ ।
समाजसेवी एवम् माओवादी केन्द्रका नेता सियाराम साहको अध्यक्षतामा भएको कार्यक्रममा साह सहित विभिन्न पार्टी परित्याग गरी सयौं नेताकार्यकर्ता, समाजसेवीहरु आजपामा प्रवेश गरेको आजपमा निकट आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए । मधेश प्रदेश शिक्षाको अवस्था कमजोर भएको बताउँदै उनले आजपा निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थी अनुपातका आधारमा एवम् विषयगत शिक्षकको माग गर्दै संघर्ष गरिरहेको बताए । सो आन्दोलनलाई सफल बनाई आफ्नो छोराछोरीको उज्जवल भविष्य निर्माणमा उनले जोड दिए ।






