जसपा पर्सामा गुटको छाया, जिल्ला बैठकमा आएनन् केही नेता

[mashshare]

अफ्रोज अर्पण
वीरगंज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला कमिटीको विस्तारित बैठकले तीन वटा प्रस्ताव पास गरेको छ । वीरगंजमा बसेको कमिटीको बैठकले गौर हत्याकाण्डमा पार्टीलाई फसाउने षडयन्त्रविरुद्ध डटेर सामना गर्ने, संगठन चुस्तदुरुस्त बनाउने र जिल्लामा विभिन्न विभागीय जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

विस्तारित बैठकमा प्रमुख अतिथि रहेका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले १७ वर्ष पुरानो गौर हत्याकाण्ड बल्झाएर सरकारले संघीयता असफल बनाउने कार्य गर्न लागेको आरोप लगाए । उनले सरकारले गौरकाण्डलाई अघि सारेर जसपालाई कमजोर बनाउन खोजेको टिप्पणी गरे । उनले पार्टीलाई एक ढिक्का बनाएर सरकारले गरिरहेको षडयन्त्रविरुद्ध संघर्ष गर्न जसपा पछि नहट्ने बताए ।

मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले गौर घटना राजनीतिक घटना भएकाले यसको समाधान पनि राजनीतिक तरिकाले हुने पर्ने बताए । बैठकको अध्यक्ष गरेको पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले पार्टीभित्र गुटउपगुट बनेकामा दुःख व्यक्त गरे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको विधान, नीति र नियममा चल्न आग्रह गरे ।

पर्सामा दुइ गुट
जनता समाजवादी पार्टी पर्सामा दुई गुट देखिएको छ । पार्टीका वीरगंज महानगर समितिका अध्यक्ष इश्वर यादवले पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले पार्टीलाई पदतिमा चलाउन नसकेको आरोप लगाएका छन् । उनले जिल्लाका कतिपय सक्रिय नेता तथा कार्यकर्तालाई जानकारी समेत नगरी जिल्ला समितिको विस्तारित बैठक आयोजना गरिएकामा आपत्ति जनाए । उनले भने, ‘अध्यक्षज्यूले धेरै नेता कार्यकर्तालाई बाइपास गरेर संगठन चलाउन खोजिरहनु भएको छ । यसमा हाम्रो आपत्ति छ । यसले जिल्लामा प्रस्ट देखिने गरी दुई गुट बनाएको छ ।’

बैठकबारे वीरगंज महानगरका प्रमुख राजेशमान सिंहलाई पनि जानकारी नभएको जिल्ला समितिका एक नेताले बताए । पर्सा क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वमन्त्री प्रदीप यादव र जिल्ला अध्यक्षको आपसी टकरावले जिल्लामा पार्टी कमजोर हुँदै गएको ती नेताले बताए ।

तस्बिरः जसपा नेता लालबाबु राउतको फेसबुकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button