
सञ्जय तिवारी
कलैया ।
बारा प्रहरीले श्रोत नखुलेको २१ लाख ९ हजार नेपाली रुपैयाँसहित अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ३ भारतीय नागरिक र २ नेपालीसहित ५ जनालाई सोमबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गत फागुन १८ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित अस्पताल रोडबाट अवैध रुपमा भारतबाट नेपाली रुपैयाँ ल्याउदै गरे को अवस्थामा भारत बिहारका रन्जित सर्राफलाई स्रोत खुलाउन नसकेको ५ लाख नगदसहित पक्राउ गरेको थियो ।
घटनाको अनुसन्धानका क्रममा सर्राफले नेपाली र भारतीयसँग मिलेर संगठित रुपमै हु्ण्डीको धन्दा चलाएको खुलेपछि त्यसमा संलग्न अरु ४ जनालाई पनि थप १६ लाख ९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले जानकारी दिए । सर्राफसहित कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आशिफ मनि चेञ्जरका सञ्चालकद्वय कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी कलामुदिन अन्सारी र महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी मेराजुल अन्सारीलाई फागुन १८ गते नै पक्राउ गरिएको थियो । अन्य दुई भारतीय नागरिकलाई भने फागुन २० गते भारतबाट हुण्डीको रकम ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए ।
फागुन २० गते बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर १ छतवाबाट भारत बिहारको मोतिहारीका ४२ बर्षिय कृष्णलाल प्रसाद यादव र ४० बर्षिय रविशंकर सिंहलाई नेपाली १६ लाख ९ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए । पक्राउ परेका पाँचै जना कलैयामा अन्सारीद्वयले इजाजत बिना सञ्चालन गरेको मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गर्ने गिरोहमा संलग्न व्याक्तिहरु रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक काफलेले बताए ।
पक्राउ परेका गिरोहले खाडी मुलुक लगायतका देशहरुमा रहेका नेपालीहरुले कमाएको रकम संकलन गरी भारत पठाएर त्यहाँबाट अवैध रुपमा नेपाल भित्रयाउने गरेका थिए । बारामा मात्रै यो गिरोहले हुण्डी मार्फत मासिक तीनदेखि चार करोड रुपैयाँको अवैध कारोबार गर्दै आएको काफलेले बताए । यो गिरोहमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको भन्दैै प्रहरी उपरीक्षक काफलेले यसबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।






