
मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन् । आर्थिक नगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोहीअनुसार थप लगानी गर्नुपर्ने बताए । आजपा पर्साले टाउनहलमा गरेको ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ वृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।
वीरगंजबाट देशको कुल राजस्वमध्ये ८० प्रतिशतभन्दा बढी उठ्ने गरेको छ । मुुलुककै आर्थिक नगरी वीरगंजबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए ।
‘वीरगंज देशकै आर्थिक नगरी हो, यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजश्व पनि अन्त भन्दा यहाँबाट धेरै उठ्ने गरेको छ,’ साहले भने, ‘आर्थिक नगरी वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन, यथाशिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गरिनुपर्छ ।’ साहले सरकारले वीरगंजबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्ने कार्य रोक्नु पर्ने बताए ।
बारा, पर्सा देशमै सबैभन्दा बढी उद्योग व्यापार हुने ठाउँ हो । यसको केन्द्र वीरगंज हो । वीरगंजमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरी विकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग गरे । तर हालै आएको सरकारको बजेटले समेत न्याय नगरेको बताउँदै उनले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानी घोषणा गराएर सोहीअनुसार विकासका आयोजना ल्याउने बताए ।
वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि उद्योगी, व्यापारी, नागरिक समाज, बुद्धिजीबी, जनप्रतिनिधि, राजनीतिक दललगायतका सबैको साथ सहयोग आवश्यक रहेको बताए । सबै मिलेर एकढिक्का भई अगाडि बढ्दा सरकारले आर्थिक राजधानीका रुपमा घोषणा गरेर विकासका आयोजना पनि सोहीअनुसार दिइने उनले बताए ।
देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजश्व उठ्ने ठाउँका साथै उद्योग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउन सरकारलाई दबाब दिने उद्देश्यले आयोजित भेलामा सहभागीलाई उनले धन्यवाद व्यक्त गरे । भेलामा उद्योगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, बुद्धिजीबी, नागरिक समाजसहित विभिन्न क्षेत्रका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो । भेलामा सहभागीले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल गरेकामा धन्यवाद दिँदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।






