
सञ्जय मिश्रा
रौतहट ।
तत्कालीन जोकाहा गाविस–९, हाल ईशनाथ नगरपालिकास्थित एक संस्थाले भारतीय दूताबासबाट उपहारस्वरुप लिएको एम्बुलेन्स विगत ३ वर्षदेखि दुरुपयोग गरेको पाइएको छ । भारतको गणतन्त्र दिवसका अवसरमा तत्कालीन जोकाहा गाविस–९ तथा हाल ईशनाथ नगरपालिकास्थित शान्ति युवा परिवारलाई तीन वर्षअघि एम्बुलेन्स प्रदान गरिएको थियो ।
गाउँका जनताको सुविधाका लागि प्राप्त एम्बुलेन्स संस्थाकै पदाधिकारीले गाउँमा नल्याइ जनकपुरमा राखेर कमाइखाने भाँडो बनाएको पाइएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटमा २०६४ असोज १६ गते शान्ति युवा परिवारका नाममा ११४१ नम्बरमा दर्ता भएको र संस्थाको अध्यक्ष विश्वनाथ प्रसाद गुप्ता रहेको देखिएको छ ।
सीप विकास केन्द्र जनकपुर पिडारी चोक नमूना बस्तीमा कार्यरत संस्थाका अध्यक्ष गुप्ताले भारत सरकारबाट जोकाहाका लागि पाएको ना५च १४५३ नम्बरका एम्बुलेन्स आफैँ बसेको ठाउँ जनकपुरमै राखेर सञ्चालन गरी आर्थिक अनियमितता गर्दै आइरहेको एम्बुलेन्स चालक महासंघको दाबी छ ।
एम्बुलेन्सको गतिविधिबारे पटकपटक जिल्ला प्रशासन कार्यालय धनुषामा लिखित उजुरी दिँदा स्थानीय प्रशासनले पनि वास्ता नगरेको एम्बुलेन्स चालक महासंघका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले गुनासो गरे । २०८० फागुन १५ गते २६ संस्थाको संयुक्त बैठकले स्थानीय बिरामीलाई सुरक्षित अस्पतालसम्म पुर्याउन जुन ठाउँको एम्बुलेन्स छ, एम्बुलेन्स त्यहीँ पठाउने जिल्ला प्रशासन कार्यालय धनुषामा निर्णय भएको थियो । तर निर्णयको महिनौँ बित्दा पनि कार्यान्वयन हुन नसकेको केन्द्रीय अध्यक्ष ठाकुरले गुनासो गरे । एम्बुलेन्स जनकपुरधाम, थापाचोकस्थित एक निजी घरको कम्पाउन्डमा पार्किङ गरिएको अवस्थामा फेला परेको उनको भनाइ छ । रौतहटका सिडिओ हीरालाल रेग्मीले कुनै पनि गैरसरकारी संघसंस्थाका नाममा आएका एम्बुलेन्स व्यक्तिगतरुपमा चलाउन नपाइने बताए । एम्बुलेन्सको अवस्थाबारे आवश्यक अनुसन्धान गरी कारबाहीको दायरामा ल्यायने सिडिओ रेग्मीले प्रतिवद्धता जनाए ।






