चैत्री दशैँ प्रारम्भसँगै शक्तिपीठ सजावट

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरमा वासन्ती दशैं सुरु भएलगत्तै चहलपहल बढेको छ । चैत्री नवरात्राको पहिलो दिन जनकपुरको प्रमुख शक्तिपीठ राजदेवीसहितका शक्तिपीठ भव्यरुपमा सजाइएको छ । जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलगायत एक दर्जन भन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको प्रतिमा निर्माण गरी श्रद्धा तथा उल्लासपूर्वक दशैँ मनाइँदै छ । राजदेवी मन्दिरका साथै पुजास्थली बेहुली झैँ सजाइएको छ । बिहानैदेखि पूजापाठ गर्न श्रद्धालुको भिड देखिएको छ । यो महिना रामनवमीसमेत मनाइने भएकाले कतिपय मठमन्दिरमा राम चरित्रपाठको समेत सुरुवात गरिएको छ ।

झिलिमिली बत्ती जडान गरी सजाइएका जनकपुरका मन्दिर जो कोहीलाई आकर्षित गरिरहेको छ । पूजा हुने स्थानमा बिहानदेखि साँझसम्म निरन्तर भइरहने दुर्गा स्तुती, भजनकिर्तनले थप धार्मिक माहौल बनेको छ । नवरात्रको पहिलो दिन मंगलबार शक्तिपीठमा कलश स्थापना गरेर जमरा राखिएको छ । वासन्ती नवरात्र प्रारम्भसँगै मिथिलाका शक्तिपीठमा दर्शनार्थी बढेका छन् ।

हिन्दू–मैथिल परम्परामा वर्षमा दुईपटक दशैँ मनाइन्छ । असोज शुक्लपक्ष प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल परेवादेखि नवमीसम्म वासन्ती नवरात्र मान्ने परम्परा छ । दुवै नवरात्रमा देवी पूजनका समान विधि भए पनि शारदीय नवरात्रमा असोज शुक्लपक्षभर नै दशैँ पर्व मनाइन्छ । नवरात्रको अन्तिम दिन नवमीमा देवी पूजन सकेर दशमीका दिन देवी बिसर्जन गर्दै प्रसादस्वरुप मान्यजनबाट टीकाजमरा लगाउने चलन छ तर वासन्ती नवरात्रमा भने नवमीका दिन नै दशैँ सम्पन्न गरिन्छ ।

मिथिलामा चैत शुक्लपक्षको नवरात्रभित्रै वासन्ती छठको परम्परा छ । छठ पनि वर्षमा शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने शारदीय छठकै विधि जसरी चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म वासन्ती छठ मनाउने हिन्दू मैथिल परम्परा छ । वासन्ती नवरात्रको अन्तिम दिन नवमी तिथि हिन्दू परम्पराका आराध्य देव श्रीरामको जन्म भएको विश्वास गरिन्छ । मिथिलासँग श्रीरामको वैवाहिक सम्बन्धले यहाँ यो पर्व अर्थात् रामनवमी (चैत शुक्ल नवमी) विशेष रूपमा मानिन्छ ।

यसैगरी मधेशका प्राचीन मिथिला क्षेत्रका सप्तरीको सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कुलदेवी मानिएको) र बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् । यी सबै शक्तिपीठमा नवरात्र प्रारम्भसँगै चण्डीपाठ पनि प्रारम्भ भएको छ । हिन्दू परम्पराका सबै मैथिल परिवारमा देवीको पूजाअर्चनासहित चण्डीपाठ गर्ने परम्परा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button