
एसपी गौरब
सर्लाही ।
सर्लाहीको हरिपुर नगरपालिका २ स्थित सानो जगतपुरमा रहेको जनता आधारभूत विद्यालयको भवन निर्माणको काम गुणस्तरहिन भएको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् । हरिपुर नगरपालिकाको ६१ लनख ७० हजार रुपैयाँ भ्याट सहितमा करिब एक महिना पहिला निर्माण सुरु भएको विद्यालय भवनमा प्राविधिक मापदण्ड अनुसार नभएको पाईएको भन्दै अभिभावकहरुले हरिपुर नगरपालिकाको शिक्षा शाखा र प्राविधिक शाखामा गुनासो गरेका एक अभिभावकले बताए ।
आफूहरुसहित विद्यालयका प्रधानाध्यापक गिरिराज तिमल्सिनासहितले नगरपालिकामा गुनासो गरेपनि अझै पनि निर्माण स्थलमा सूचना बोर्ड नराखेको, गिट्टी २५ एमएम र बालुवा नचालि नपखालि हालेको र राति राति काम गरेको साथै ढलान गर्दा बाँसका टेका हालेको अभिभावकहरुको गुनासो छ । हरिपुर नगरपालिकाले एक करोड रुपैयाँमा ठेक्का खुलाउनु, ६१ लाख ७० हजार रुपैयाँ भ्याट समेतमा रोहन इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिले ठेक्का सकार गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले विशेष अदालतमा मुद्दा हाली मुद्दा विचाराधिन अवस्थामा रहेका निर्माण व्यावसायीले नै ठेक्काको काम पाउनुले हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरको मिलेमतोमा कमसल निर्माण सामाग्रीमा विद्यालय भवन निर्माण भएको स्रोतको दाबी छ ।
निर्माण व्यावसायी रन्जित साह हरिपुर नगरपालिकाका पूर्व इन्जिनियर समेत हुन भने अख्तियारले विशेष अदालतमा साह समेतलाई मुद्दा हालेपछि आफ्नो नाममा रहेको कम्पनीलाई साहले आफ्नी श्रीमती सोजिता साहको नाममा नामसारी गरेर काम गरिरहेका छन् । चालू आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तसम्ममा निर्माण सक्ने भन्दै रोहन इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिले चालू आर्थिक वर्ष २०८०÷०८१ को चैत महिनामा सम्झौता गरेको निर्माण व्यावसायी साहले बताए ।
‘गिट्टी र बालुवाको सवालमा पहिला मसँग पनि गुनासो आयो, त्यो अहिले सुधार भएको छ साथै हरिपुर नगरपालिका १ र २ पहिलादेखि नै विवादित वडा हो’ निर्माण व्यावसायी साहले बताए । उनले पहिला पनि जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण आफू सहितलाई मुद्दा परेको समेत बताए । उनीहरु विरुद्ध हरिपुर नगरपालिका २ कै भुगोलमा लखन्देही नदीमा बाँध बनाउने विषयमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले विशेष अदालतमा मुद्दा दायर गरेको छ तर साह सहितका कोही सो मुद्दाको सम्बन्धमा मौन देखिएका छन् भने हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको मिलेमतोमा उनै भ्रष्टलाई निर्माणको काम दिँदा थप भ्रष्टाचार हुनेमा स्थानीय चिन्तित देखिएका छन् ।
नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालिन उप प्रमुख रेणुका देवी काफ्लेसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ । उनीहरूले सम्झौता अनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी आर्थिक अनियमितता गरेको भन्दै आयोगले चैत्र ५ गते सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
तत्कालीन नगर उप प्रमुख काफ्ले, सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुँमर तथा हरिपुर नगरपालिका १ का वडाध्यक्ष कुमार लामाले लखनदेवी खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै सम्पन्न भएको भन्दै भुक्तानी दिन सिफारिस गरेका थिए । हरिपुरका तत्कालीन निमित्त प्रमख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल, इन्जिनियर रञ्जित साह र सव–इन्जिनियर सञ्जीव चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूले तोकिएको भन्दा कम क्षेत्रफल र कमसल तटबन्ध बनाएर ८५ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।






