
मधेशदृष्टि
वीरगंज ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानले काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको टिप्पणी गरेका छन् । उनले आफू कानुनले नभएर अनुमान र एकतर्फी भनाइका आधारमा दोषी भएको दाबी गरेका छन् । लामिछानेले उक्त घटना घटेको नभई घटाइएको बताएका छन् । ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ, त्यसमा तपाईंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो’, उनले लेखेका छन् ।
मंगलबार राति सामाजिक सञ्जालबाट सन्दीपले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् । उनले लेखेका छन् – ‘मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ । तर, पनि धेरै चुप लागेर बसेँ । कानुन व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ । तर, मैले कति सहनु ?’
आफू न्याय माग्दामाग्दै शिथिल भइसकेको उल्लेख गर्दै उनले आफूमाथि केही ‘सामाजिक अभियन्ता’हरूले झुटा आरोप लगाएको बताएका छन् । ‘ती तथाकथित र भनौदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन’ उनले लेखेका छन् । उनले आफू बोलेकै भरमा फसाइएको दाबी समेत गरेका छन् । हाल उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।






