
मधेशदृष्टि
वीरगंज ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं मधेशी राष्ट्रिय मुक्ति मोर्चका संयोजक मातृका यादवले मधेशको समृद्धि र सुशासनका लागि मधेशी मोर्चाको आवश्यकता बढेर गएको बताएका छन् । मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको विस्तारित बैठकबारे जानकारी दिन बिहीबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो बताएका हुन् । संविधानमा उल्लेखित अधिकारको पूर्ण कार्यान्वयन र बाँकी अधिकारको लागि जनपरिचालन, मधेशको समृद्धिको लागि सुशासन, स्वायत्तता र विकास निर्माणमा हस्तक्षेपकारी भूमिका लागि मोर्चाको प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।
मोर्चाका संयोजक यादवले (भोलि) शुक्रबार र शनिबार वीरगंजमा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको विस्तारित बैठक हुने र विस्तारित बैठकमा तराई मधेशका विभिन्न जिल्लाहरुबाट सयौंको संख्यामा प्रतिनिधिहरुको सहभागी हुने जानकारी दिए । मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको आयोजना र प्रेस सेन्टर नेपाल पर्साको संयोजनमा गरिएको पत्रकार सम्मेलनमा उपमहासचिव यादवले वीरगंजमा हुन गइरहेको विस्तारित बैठकले कोमामा गएको मधेशी मोर्चालाई नयाँ उर्जा थप्ने बताए । वर्तमान अवस्थामा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको आवश्यकता बढ्दै गइरहेका बेला मोर्चा कोमामा गएको टिप्पणी गर्दै उपमहासचिव यादवले मोर्चाको विस्तारित बैठकपछि नयाँ उर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
मधेशी मोर्चाको इतिहासबारे गम्भीर समिक्षा गरेर भविष्यको दिशा निर्माण गर्नुपर्ने उनले बताए । उनले भने, ‘क.माओको निर्देशन अनुसार मालेमावादलाई मधेशको धरातलमा आफ्नो मौलिकता अनुसार कसरी प्रयोग गर्ने भन्ने बारेमा हामी इमान्दार बन्नु परेको छ । मधेश आन्दोलन र मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको इतिहासको गम्भीरता पूर्वक निर्मम समिक्षा र वर्तमानमा टेकेर भविष्यको दिशा निर्माण गर्नु परेको छ ।’
जनयुद्धमा करिब १४ सय मधेशीले आफ्नो ज्यान गुमाएको उल्लेख गर्दै उपमहासचिव यादवले सबैभन्दा उत्पीडित तथा उपेक्षित मधेश र मधेशी भएकोले समानुपातिक समावेशी प्रतिनिधित्व तथा धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र मधेशको लागि अपरिहार्य भएको बताए । मोर्चालाई पुनर्जीवन प्रदान गरी सबै प्रकारको गलत पक्तिका बिरुद्ध जनतासँग हातेमालो गर्दै अधिकार सम्पन्न तथा समृद्ध मधेशको निर्माणमा सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
००००






