विष्णुपुरका अध्यक्षलाई सफाइ

[mashshare]

मधेशदृष्टि
राजविराज ।
भ्रष्टाचार अभियोगमा मुद्दा लागेका सप्तरी, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र तेजनारायण सिंह राईको संयुक्त इजलासले गाउँपालिका अध्यक्ष यादवसहित कम्प्युटर अपरेटर वीरेन्द्र यादव र लेखापाल टेकनारायण यादवलाई सफाइ दिएको हो ।

साउन ३१ गते राजविराजस्थित गजेन्द्र चोक नजिकबाट लेखापाल टुकनारायण र कम्प्युटर अपरेटर वीरेन्द्रलाई योजनाको भुक्तानीको नाममा २ लाख नगद र ३ लाखको चेक लिँदै गरेको अवस्थामा पक्राउ गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु दुवैजनासहित गाउँपालिका अध्यक्षलाई समेतलाई प्रतिवादी बनाई विशेष अदालतमा भदौ १९ गते आरोप पत्र दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो । विशेष अदालतको शुक्रबार सुनुवाइ हुँदा उनले सफाइ पाएका हुन् । मुद्दा दायरपछि बयान दिन गएका अध्यक्ष यादवलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । उनी धरौटीमा रिहा भएका थिए । विशेष अदालतले सफाइ दिने फैसला गरेसँगै आरोप पत्र दायर भएको दिनदेखि पालिका अध्यक्षबाट निलम्बित यादव पुनः पालिकामा फर्किने भएका छन् । अख्तियारले मुद्दा चलाएकामध्ये सफाइ पाएर पुनः पदमा फर्किने यादव जिल्लाको दोश्रो पालिका प्रमुख भएका छन् । यसअघि सप्तरीकै बोदेबर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवले समेत भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।

यसअघि, सप्तरीकै शम्भुनाथ नगरपालिकाका निलम्बित नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा दुवै जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

त्यसअघि स्थानीय राज रङ्गशाला स्तरोन्नति ठेक्कामा भ्रष्टाचार गरेको मुद्दामा सप्तरीको राजविराज नगरपालिकाका मेयर भीमराज यादव दोषी ठहर भएका छन । अख्तियारले २०७९ असार २९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन् । राजविराजस्थित राज रङ्गशाला स्तरोन्नतिमा भ्रष्टाचार गरेको ६ वर्ष पुरानो मुद्दामा उनी मुछिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button