
मधेशदृष्टि
राजविराज ।
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री महेश प्रसाद यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म पूर्वाधार विकास कार्यालयका कर्मचारी काममा नफर्किने भएका छन् । सप्तरीको राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण प्रताप अधिकारीमाथि सार्वजनिक स्थानमा हातपात तथा दुव्र्यवहार गरेको भन्दै मन्त्री यादवले सार्वजनिकरुपमा माफी नमागेसम्म आन्दोलन जारी राख्ने उनीहरूले अडान राखेका हुन् ।
पूर्वमन्त्री यादवमाथि कारबाही माग गर्दै पूर्वाधार विकास कार्यालय मधेश प्रदेश अन्तर्गतका सम्पूर्ण कार्यालयका कर्मचारीले हातमा कालोपट्टी बाँधेर पेनडाउनसहितका दबाबमूलक कार्यक्रम जारी राखेका छन् । कार्यालयमै प्रवेश गरी कार्यालय प्रमुखमाथि भएको हातपात तथा दुव्र्यवहार निन्दनीय रहेको र अमर्यादित व्यवहार देखाउने पूर्वमन्त्री यादवसहित घटनामा संलग्न दोषीमाथि कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने कर्मचारीहरू बताउँछन् ।
पूर्वमन्त्री यादव जनमत पार्टीका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित हुन् । कर्मचारीहरू आन्दोलनमा उत्रँदा मधेश प्रदेशभर पूर्वाधार विकास कार्यालयको सम्पूर्ण सेवा प्रभावित भएको छ । कर्मचारीको आन्दोलनका कारण सेवाग्राही मारमा परेका छन् ।
आइतबार पूर्वमन्त्री यादव र उनीसँगै आएका धिरेन्द्र यादवले कार्यालय प्रमुख अधिकारीमाथि गालीगलौज गर्दै हातपात गरी दुव्र्यवहार गरेका थिए ।






