
मधेशदृष्टि
वीरगंज ।
एकता, भाइचारा र सद्भावको पर्व होलीको अवसरमा वीरगंजमा ‘एक शाम लता मंगेशकर के नाम’ म्युजिकल कन्सर्ट भएको छ । बुधबार वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र नेपाल भारत सहयोग मञ्चले कन्सर्ट गरेको हो । नेपालकी चर्चित गायिका मेनुका पौडेलको एकल प्रस्तुतिमा कार्यक्रममा उपस्थित सबै रमाएका थिए । गायिका पौडेलले भारतकी स्वर कोकिला स्वर्गीय लता मंगेशकरको दर्जनौँ गीत गाएर कार्यक्रमलाई रंगीन बनाएकी थिइन् ।
कार्यक्रमका मुख्य अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह थिए भने स्व. लता मंगेशकरको संगीतिक जीवनीबारे वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले प्रकाश पारेका थिए । कार्यक्रमका अतिथि तथा गायिका मेनुका पौडेलको उपस्थितिमा आभार व्यक्त गर्दै महावाणिज्यदूत देवी सहाय मिनाले भाइचारा र सद्भावको पर्व होलीको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा वीरगंज महानगरले ५१ हजार रुपैयाँ र साइक्लिङ क्बलले २५ हजार रुपैयाँ गायिका पौडेललाई प्रदान गरेको थियो । कार्यक्रममा नेपाल भारत सहयोग मञ्जका अध्यक्ष अशोक वैद्य, विभिन्न व्यवसायी, पत्रकार तथा विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।






