
मधेशदृष्टि
जनकपुरधाम, २४ माघ । धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
वडा नम्बर ८ को बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी राखेर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार परी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबीसहित अख्तियारद्वारा विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई लागत बढाई २ लाख १२ हजार ८१६ रुपैयाँ बढी भुक्तानी गरेको देखिएका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
अख्तियार जनाए अनुसार पूर्व नगरप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध मुद्दा दायर भएको छ ।
तयस्तै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत र योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा र उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमार र सचिव मुकेश लखनदेव यादवविरुद्ध पनि मुद्दा दायर भएको हो ।






