
मधेशदृष्टि
वीरगंज ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता मनोज चौधरीले नयाँ मन्त्रिमण्डल विस्तारमा पार्टीले मधेशका सांसदलाइ प्राथमिकतामा नराखेको भन्दै आक्रोस पोखेका छन् । एकीकृत समाजवादीको वीरगंज महानगरपालिका अध्यक्ष समेत रहेका नेता चौधरीले सामाजिक सञ्जालमा नै आफ्नो आक्रोस पोखेका हुन । उनले सामाजिक सञ्जालमा पार्टीले मन्त्रिमण्डल विस्तारमा मधेशबाट कुनै पनि सांसदलाई मन्त्री नबनाएको भन्दै रातारात बनेको नयाँ गठबन्धनको बिषयमा समेत प्रश्न गरेका छन् । उनले आफ्नो स्टाटसमा बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)लाई मन्त्रीको जिम्मेवारी नदिएको, अहिलेको गठबन्धनको बिषयमा ग्रास लेभलमा छलफल नभएको भन्दै आक्रोश पोखेका छन् ।
उनले स्टाटसमार्फत सांसद श्रेष्ठलाई अहिलेको नयाँ मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने र मधेशको चित्त बुझाउनु पर्नेमा जोड दिएका छन् । समाजवादीको साँख जोगाउन मधेशको भूमिका पार्टीले भुलेको भन्दै तत्काल मधेशको आवाज समेट्न अनुरोध गरेका छन् । उनले मधेश प्रदेशको पहिचानको लागि पनि अब्बल नेतालाई मन्त्रिमण्डलमा स्थान दिनु पर्ने कुराको वकालत गरेका छन् । उनले घुमाउरो पारामा सांसद किसान श्रेष्ठलाई अहिलेको मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने आशय व्यक्त गरेका छन् ।
केन्द्र सरकारमा मधेश प्रदेशबाट ४ जना मधेशी मूलका मन्त्री र एक जना पहाडी मूलका गरी ५ जना मन्त्री हुँदा पनि मधेश प्रदेशको पहिचान सम्बोधन भएन र ? भनेर मधेशदृष्टिको प्रश्नमा उनले भने, ‘मधेश प्रदेशमा ३१ प्रतिशत भन्दाबढी पहाडी मूलको बसोबास छ, मधेश प्रदेशलाई समावेशी बनाउन हाम्रो पार्टीले पनि भूमिका खेल्नु पथ्र्यो, तर त्यो देखिएन् । सांसद श्रेष्ठ मधेशको पनि जनप्रतिनिधि हुनुहुन्छ, पहाडी मूलको पनि हुनुभयो, नेवार भएकोले जनजातिको पनि प्रतिनिधित्व गर्नुभयो, पश्चिमबाट माननीय मेटमणि चौधरीलाई पनि पार्टीले स्थान दिएन, यतिको व्यक्तित्व भएको जनप्रतिनिधिलाई नयाँ मन्त्रिमण्डलमा स्थान दिनु पथ्र्यो ।’
उनले पश्चिमबाट सांसद मेटमणी चौधरीलाई पनि नसमेटेको विषयमा समेत गुनासो पोखे । चौधरीले यसअघि मन्त्रालयमा रहि जनतामुखि काम गरेको उनको दाबी छ । पार्टी नेतृत्वले श्रेष्ठ र चौधरीको विषयमा पुर्नविचार गर्नुपर्ने उनले बताए । नेता चौधरीसँगको कुराकानीमा अहिलेको गठबन्धनले सरकार निर्माण गर्न सहयोग त होला तर यसको दिगोपनको विषयमा शंका रहेको बताए । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई आश्वासन मात्र दिएको तर कुनै पनि कुरामा भर पर्न नसकिने बताए ।






