
मधेशदृष्टि
वीरगंज ।
केही समय सुस्ताएको जस्तो देखिएको आर्थिक नगरी वीरगंज आसपासमा तस्करी ह्वात्तै मौलाएको छ । तस्करहरुले समय मिलाएर सुरक्षा निकायलाई नै साक्षी राखेर निकासी र आयात सक्रिय पारेका छन् । यसका लागि उनीहरुले सहमतिमै ‘लाइन’ र ‘रुट’ बनाएका छन् । यसरी तस्करीको रुट, समय र आयातनिर्यातको तालिका बनाउन सुरक्षा निकाय नै सहयोगी बनेपछि बारा, पर्सा, रौतहट, सर्लाहीका तस्करलाई भ्याइनभ्याइ भएको छ । उनीहरुको कमाइ एक्कासि बढेको छ । एकातिर भन्सार कार्यालय हुँदै सर्वसाधारणले भारतीय बजारबाट किनेर ल्याएको सामान खोस्ने, भन्सार दाखिला गर्ने गरेको देखाइए पनि पर्सा, बारा, रौतहट र सर्लाहीका ग्रामीण नाकामा महिनावारी नै तोकेर सुरक्षा निकायकै सेटिङमा तस्करी मौलाइरहेको छ ।
रमाइलो त के छ भने सीमामा सशस्त्र प्रहरी परिचालनपछि तस्करलाई सहज भएको छ । सशस्त्र र नेपाल प्रहरीका घुमुवाले नै आयातनिर्यात तालिका र आम्दानीको रेट कायम गरेर तस्करलाई ढुक्कसँग लगानी र कारोबार गर्न सहज भएको छ । एकताका वीरगंज, गौर, कलैया, सर्लाहीमा तस्करीबाट उँभो लागिन्न कि, नाका अदलाबदली गरेर जनकपुरपूर्व वा पश्चिम भैरहवातिर बसाइँ सर्ने कि भन्ने मानसिकतामा पुगेका तस्करहरु फेरि जग्मगाएका छन् । उनीहरु जुर्मुराएर बीचमा कारोबार बन्द हुँदाका बेलाको क्षतिपूर्ति पनि उठाउन सकिन्छ कि भनेर उत्साहित भएका छन् । अहिले पुरानै शैली, नाका र प्रणालीमा तस्करीले लय लिएको छ । दुर्गेश थापाको गीतजस्तै नाकाबाटै तस्करी हुने र सुरक्षाकर्मी ‘हेरेको हेर्यै’ हुने प्रणाली कायम गरिएको छ । वरपर बस्नेहरु पनि ‘देखेको देख्यै’ हुने गरेका छन् ।
पर्साको अलौ र भिस्वाको जानकी टोल नाकाबाट ग्रामीण क्षेत्र हुँदै बाराको जीतपुरसम्म तस्करीका सामान सजिलै पुग्ने गरिरहेको छ । जीतपुरबाट देशका विभिन्न ठाउँमा सामान ढुवानी हुने गरेको छ । यस्तै, अलौ नाकाबाट पनि दिनदहाडै तस्करी भइरहेको छ । यस्तै, छप्कैया र सिर्सिया नाकाबाट पनि ठूलो मात्रा चोरीपैठारीमार्फत तस्करीको सामान आयात भइरहेको छ । खासमा सशस्त्र प्रहरीले चोरीतस्करी नियन्त्रण गर्ने जिम्मा पाएपछि राजस्व संकलनको तथ्य देखाएर तस्करी रोकेको देखाइए पनि उनीहरुकै कारण देश टाट पल्टिँदै गएको व्यापारीहरु बताउँछन् । तस्करहरुले महिनाभर नै लाइन लिएर काम गर्ने गरेकामा अहिले सुरक्षा निकायकै संयोजनमा सामान तस्करीका लागि १५ दिनको ‘लाइन’ दिने काम भइरहेको छ । यसरी सेटिङ गरिएपछि दैनिक रातका समयमा भारतबाट भैँसी, राँगो अवैध रुपमा भित्रने गरेको छ ।

यस्तै, बाराको बलिरामपुर, मुसहरवा, छतवा नाकाबाट सशस्त्र र प्रहरीको सहयोगमा व्यापकरूपमा तस्करी भइरहेको छ । तर तस्करी भइरहँदा पनि बाराको सशस्त्र प्रहरी मौन छ । तस्करले बाराको बलिरामपुर र मुसहरवाको नहरको बाटो हुँदै इटियाहीको बाटो प्रयोग गर्दै परवानीपुरमा दैनिक ५० देखि एकसयसम्म भैँसी राति १२ बजेदेखि ४ बजे तस्करीका लागि लाइन मिलाइएको छ । भारतबाट सजिलैसँग भैँसी नेपाल आइरहेको छ । नाकाबाट दैनिक रातका समयमा भारतबाट भैँसी, राँगो अवैधरुपमा भित्रने गरेको छ । बलिरामपुर, मुसहरवा, छतवा नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा व्यापकरूपमा तस्करी भइरहे पनि सशस्त्र र प्रहरी यो विषयमा मौनता साँधिरहेको छ ।

राँगो र भैँसी मात्रै होइन, प्रहरीको मिलेमतोमै अवैधरूपमा भन्सार छलेर विभिन्न सामग्रीको खुलेयाम तस्करी भइरहेको छ । भारतसँग सीमा नाका जोडिएको मटिअर्वा, मुसहरवा र छतवा नाका भएर अवैध रूपमा विभिन्न सामग्री तस्करी भइरहेको छ । प्रहरीकै मिलोमतोमा भारतबाट अवैध रूपमा विभिन्न सर्टिङसुटिङको कपडा, गुट्खा, धान, माछा र किराना सामग्री नेपाल भित्रिइरहेको छ । बाराकै सीमानाका भएर भारतमा ठेलामा कबाडको तस्करी पनि भइरहेको छ । कवाडीको तस्करी भने अझ व्यवस्थित बनाइएको छ । जस्तो कवाडीको सामान निर्यात तालिका बनाइएको छ । यतिखेर तस्करी हुने भनेपछि ठेलाहरुको लाइन पहिले नै लागेको हुन्छ । जब संकेत आउँछ, १५ मिनेटमै कवाडका ठेला वारपार हुने गरेको छ । सिसिटिभी पनि चलिरहेको हुन्छ । प्रहरी पनि पहरा दिइरहेका हुन्छन् । कोही मोबाइलमा कुरा गरिरहेका हुन्छन् । कोही जुत्ताको लेस मिलाइरहेका हुन्छन् । हेर्दाहेर्दै भारतीय नाकाबाट नेपाल ल्याउने सामान पनि एकैछिनमा आइसकेको हुन्छ र भारत जाने कवाडको ठेला पार भइसकेको हुन्छ । यसरी सहजै कवाड तस्करीको रुट मिलाइएपछि अहिले नारायणगढ, हेटौँडादेखिका कवाड तस्कर खुशी भएका छन् र सक्दो कवाड संकलन गरेर वीरगंज र बारा पुर्याउने गरेका छन् ।
बारामा पछिल्लो दुई सातादेखि अवैध रूपमा विभिन्न नाका भएर दिनहुँ खुलेयाम तस्करी भइरहेको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरी तथ्यांकअनुसार चैत १९ गते बारा प्रहरीले ३५ लाख ६४ हजार रुपैयाँ बराबरको जुत्ता, चप्पल, डाइपर, स्टेसनरी सामानसहित ट्रक नियन्त्रणमा लिएको थियो । त्यसयता बारा प्रहरीले कुनै पनि सामग्री पक्राउ गरेको छैन । एकदिन मात्रै तस्करी हुने त पक्कै होइन । एकदिन ठूलो मात्रामा सेटिङमा नभएकाको सामान समातेर चर्चा बटुल्ने र बाँकी समय सेटिङमा सामान आयातनिर्यातमा तस्करले नै बनाएको योजनामा सुरक्षा निकाय मौन बस्ने गरेको व्यापारी बताउँछन् ।
नयाँ डिआइजी, नाकानाकाबाट तस्करीको रुट
मधेश प्रदेशमा सशस्त्र प्रहरी कमान्ड सम्हाल्न डिआइजी कृष्ण ढकाल आएका छन् । नयाँ डिआइजी आएको मौका पारेर सीमावर्ती क्षेत्रमा तस्करी पनि बढेको छ । प्रत्यक्षदर्शीका भनाइमा पर्साको विभिन्न नाकाबाट दिनदहाडै तस्करी भइरहेको छ र चेकजाँचको जिम्मा पाएको सशस्त्र प्रहरीको मौनताले राज्यको राजस्व गुमिरहेको छ ।
भारतसँग खुला सीमाना जोडिएको पर्सामा तस्करी वृद्धि भएको छ । छप्कैया, सिर्सिया, अलौ, तिलावे, बर्वा, प्रसौनीभाठा, धोरे, पकहा, खेस्राहा, सबैठ्वा, टिहुकी, भेडिहर्वा, आसबारी, जानकीटोला, पाँडेपुर, पिडारी गुठी, धुमाटार हुमाटार, महादेवपट्टी, सुवर्णपुर र विजयबस्तीजस्ता नाम चलेका नाकाबाट खुलेयाम तस्करी भइरहेको छ ।
आसबारी, जानकीटोला र पाँडेपुर नाकाबाट हुने तस्करीमा नेकपा एमालेका जिम्मेवार नेताहरु नै संरक्षक बनेका छन् । स्रोतका अनुसार, भैँसी र राँगोको तस्करीमा एमाले नेता जालिम मियाँ मन्सुरीको संलग्नता र संरक्षणमा सीमाका सुरक्षानिकायसँग सेटिङ छ । पर्साको जगरनाथपुर गाउँपालिका–४ का नेता मियाँका छोरा जफिर मियाँको जगरनाथपुर पशु हाट बजार छ । भारतबाट अवैध रूपमा ल्याइएका तस्करीको राँगाभैँसी त्यहीँबाट बिक्रीवितरण भइरहेको छ । आइतबार र बिहीबार पशु बजार लाग्ने गरेको छ । यसैको आडमा भारतीय सीमावर्ती गाउँबाट राँगाभैँसी ल्याउने गरिएको छ ।
यता, जानकीटोलामा दसवताका अफताब आलम सक्रिय छन् । उनले भारतबाट सक्खर तस्करी गरिरहेका छन् । दसवताकै उमेश गुप्ता र दिपक साहले नेपालबाट चिनियाँ लाइटर, १० फिटे इन्च टेपलगायतका चिनियाँ सामान, चुरोट, युनिलिभरको सामान फेयर एण्ड लभ्ली, फेयर लभ्लीको पाउच, प्रोस्टाइल तेल, क्लोजअप पेस्ट, नेपाली उत्पादित विभिन किसिमका पर्फ्युम र विभिन्न किसिमका क्रिम र भारतमा प्रतिबन्धित प्लास्टिकजन्य सामान तस्करीको लाइन लिएका छन् । आसबारी नाकाबाट गहुँ, धान, राँगोभैँसी र कुखुराको चल्लाको तस्करीको रुट चलिरहेको छ । यस्तै भेडिहर्वा, टिहुकी र चरगाहाबाट गहुँ, धान, घरेलु मदिरा तथा सिलप्याक मदिरा तस्करीको रुट चलाइएको छ । भारतमा बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएपछि नेपालबाट भारततर्फ घरेलु मदिरा र सिलप्याक मदिरा निर्यात भइरहेको छ ।
धोरे नाकाबाट किराना सामान तथा लत्ताकपडा, पाउडर दूध, हार्डवेयर, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, खानेतेल, चिनीलगायतका खाद्यान्न र कस्मेटिक सामानको तस्करी रुट चलिरहेको छ । प्रसौनीभाठा नाकाबाट लखनपुरका रामशंकर र रमेशसहित ५ जनाको समूहले भारतीय ब्रान्डका बच्चाले पिउने पावर दूध, काजु र चक्लेट तस्करी गरेका छन् । गर्दौलका सहनी थरका तस्करले भारतीय ब्रान्डका बच्चाले पिउने पावर दूध, काजु र चक्लेट तस्करीको लाइन पाएका छन् । प्रसौनीभाठामै अजय, जितेन्द्र, प्रकाश, रबिन्द्र साह र रबिन्द्र गुप्ताले किराना, सरफदेव ग्रुपले कपडा, अब्दुलले खसीबाख्राको तस्करीको रुट पाएका छन् ।
यस्तै, हरिनारायणले किराना, भारतका मुसहरवाका बिनय साहले जुत्ताचप्पल, सुर्तीजन्य सामान, राजनिवासले हार्डवेयर, मिठा, प्रकाश साह, सुनिल, अजय, मनोजले किरानाको लाइन चलाएका छन् । इन्द्रजीत र अनिलले कष्टमेटिक सामानको तस्करी लाइन चलाएका छन् । धोरे नाकाबाट कपडा, चक्लेट, किराना सामान र जुत्ताचप्पलको लाइन चलाइएको छ । सस्तो भारतीय पेय पदार्थ कोक, फेन्टा, स्प्राइट, म्यांगो जुस पनि तस्करी गरेर वीरगंज ल्याएर हेटौँडासम्म तस्करी भइरहेको छ । वीरगंजबाट हेटौँडा चल्ने इभि भ्यानमा पेय पदार्थ एक–एक थरिका चार कार्टुन एकपटकमा पठाएर तस्करी भइरहेको छ ।
अरु को को हुन् लाइन चलाउनेहरु
भारतका विकास कुमारको टोलीले नेपालका तस्करसँग मिलेर अमरपट्टीमा संगठितरूपमा तस्करी लाइन चलाइरहेका छन् । चर्चित तस्कर उत्तम तिवारीसहितका समूह पनि यसमा संलग्न छन् । पर्साको बिन्दबासिनीका तिवारीसहितका समूहले अमरपट्टी नाकाबाट कपडा, पपकर्न बनाउने मकै र चिनियाँ सामान तस्करी गरिरहेका छन् । रातका समयमा कपडा, पपकर्न बनाउने मकै र चिनियाँ सामान तस्करीको रुट मिलाइएको छ ।
कुखुराको चल्ला तस्करीको काम स्वरुप र अन्य दुई जनाले गरिरहेका छन् । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्म यिनै तस्करले ल्याएको चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको आरोप छ । पिकअप र रातका समयमा मोटरसाइकल तथा पैदल भरियाका माध्यमबाट ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्ममा चल्ला पुर्याउने गरिएको छ । अमरपट्टी, मधवल, झौवा, इटियाही, विश्रामपुरलगायत पाँच गाउँमा मात्र ८० देखि १ सय वटासम्म कुखुरा फर्ममा तस्करीकै कुखुराका चल्लाको रजगज छ ।
अमरपट्टी नाकाबाट जलाउद्दिनलगायतकाले कबाडको तस्करी गरिरहेका छन् । अमरपट्टी नाकाबाटै भारततर्फ ठूलो मात्रामा हड्डी, स्त्र्mयाप तस्करी भइरहेको छ । भारतीय संजय चौरसियाको संलग्नतामा नेतृत्वमा यो काम भइरहेको छ । यसका लागि जगरनाथपुरस्थित हड्डी फ्याक्ट्रीबाट कटिङ गरिन्छ । दर्जनौँ भरियाले साइकल प्रयोग गरी राति १० बजेदेखि बिहान ४ बजेसम्म सीमापार तस्करी गरिरहेका छन् । नेपालमा प्रति केजी २५–३० रुपैयाँमा खरिद गरिएको हड्डी स्त्र्mयाप भारतमा प्रतिकेजी ५० रुपैयाँमा बेच्ने गरिएको छ ।
भारततर्फ लागुऔषध गाँजा तस्करी पनि भइरहेको छ । पर्साको पश्चिमी ग्रामीण सीमावर्ती क्षेत्र आसबारी, जानकीटोला, पाँडेपुर, पिडारी र भङ्गहा बलुवा नाका प्रमुख ट्रान्जिट प्वाइन्ट हुन् । हरेक दिन मकवानपुरबाट गाँजा आयात भइरहेको छ र भारत निकासी भइरहेको छ । यसरी संगठितरुपमा विभिन्न तस्करीको लाइन चलेपछि सीमामा परिचालन भएका सुरक्षाकर्मी र उनीहरुको संगठन तथा कमाण्डरको भूमिका शंकास्पद बनेको छ । युनिट इन्चार्जको मिलेमतोविना तस्करी हुने सम्भावनै छैन ।
सबैठवा नाकाबाट सशस्त्र प्रहरीकै संरक्षणमा अवैध ओसारपसार मौलाएको स्थानीयको आरोप छ । भारतीय प्रसिद्ध बजार सिक्टासँग जोडिएको सबैठवा नाकाबाट पर्साका चर्चित तस्कर, कालिकामाई–२ भेडिहारी निवासी बैला भनिने सत्रोहन साह रौनियारको समूहले लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक सामान, चक्लेट, र पावडर दूधको तस्करी चलाएका छन् ।
रौतहटमा पनि तस्करी
रौतहटको बंकुल छोटी भन्सार नाकाबाटै तस्करी भइरहेको छ । तस्करी बढ्नुमा नाका सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतो रहेको स्थानीय बताउँछन् । भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करको सक्रियता बढे पनि सुरक्षाकर्मी मौन देखिन्छन् । बंकुल छोटी भन्सार, बडा बंकुल, नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको छ ।
सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करको सक्रियता बढेको छ । केहीदिन अघि तस्कर लेखेट्न सशस्त्र प्रहरी पछि लाग्दा तस्करले अर्को मोटरसाइकल यात्रीलाई लडाएर भाग्न सफल मात्रै भएनन्, ती सर्वसाधारणको ज्यानै गयो । भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करले यो नाकाबाट पनि प्रत्येक दिन हजारौँ कार्टुन मदिरा भारत पठाइरहेका छन् । बंकुल, नरकटिया नाकाबाट कपडा, कस्मेटिक सामान, चिनी, स्पेयरपार्ट, कुखराका चल्ला, लसुन, हुन्डी कारोबारीको रकाम, आलु, प्याजभित्र गाँजालगायत सामान खुलारूपमै तस्करी भइरहेको स्रोतको दाबी छ ।
यस्तै, बेलबिछुवा सशस्त्र प्रहरी नाकाबाट युनिटले तस्करबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको आरोप बेलाबखत लाग्ने गरेको छ । बेलबिछुवा नाकाबाट संजय साह, सुरेश यादव, निरज सिंह, बिरेन्द्र सिंह, डाक्टर, मुकेश पट्टेल, अनिल र रूपेशले प्रमुख रूपमा तस्करीको लाइन चलाउने गर्छन् । सीमावर्ती क्षेत्रबाट तस्करी मौलाएपछि भन्सारले लक्ष्य अनुरूपको राजस्व संकलन गर्न सकिरहेका छैन । कपडा, खैनी, खाद्यान्न सामग्री, स्पेयर पार्टस्, भैँसीराँगो, कुखुरा, कस्मेटिक, हार्डवेयर, बिँडी बनाउने सुक्खा, चप्पललगायतका सामाग्री भारतबाट नेपालमा भित्रिने गरेको छ । नेपालबाट मदिरा, गाँजा, छोहाडा, मरिचलगायतका सामान भारततर्फ निर्बाध तस्करी भइरहेको छ । कुनै बेला भारतीय बजार बैरगनियाबाट रौतहटको नाका भएर भारतीय ट्याम्पोमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी हुने गरेको बताइन्थ्यो । मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म दररेट तोकेर नाकाबाट व्यापारीलाई कपडा तस्करीको लाइन दिइएको चर्चा थियो ।
विवाह कार्डका नाममा तस्करी

पछिल्लो समय बारा, पर्सा र रौतहटका तस्करले सामान तस्करीमा नयाँ तरिका अपनाएका छन् । उनीहरुले विवाह कार्ड छापेर प्रहरीलाई देखाउँदै कपडा, सामान, चिनी, चामललगायतको तस्करी संस्थागत गरेका छन् । वीरगंजबाट हेटौँडासम्म पनि विवाह कार्ड देखाएर चिनी र खाद्यान्न तथा कपडाको तस्करी हुने गरेको छ । यसै सिलसिलामा रौतहटका नयाँ प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले बिचौलिया संस्कृति अन्त्य गर्न पत्रकार, स्थानीय तह र सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको बताएका छन् । पत्रकारहरूद्वारा आयोजित परिचयात्मक कार्यक्रममा उनले भने, ‘कार्ड लिएर आएको विवाहको सामानमा कसैलाई रोकेको छैन । हामी केबल तस्करी वा गैरकानूनी गतिविधिमा संलग्नमाथि निगरानी गर्छाैँ ।’






