
मिश्रीलाल मधुकर
महोत्तरी ।
नेपाल जनता पार्टीले नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनःस्थापना गर्न घरदैलो अभियान चलाउने भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकले शनिबार महोत्तरीको जलेश्वरमा आयोजित जिल्ला अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा यस्तो बताएका हुन् । उनले विश्वको एक मात्र हिन्दूराष्ट्रलाई विदेशी षड्यन्त्रमा धर्मनिरपेक्ष बनाइएको आरोप लगाए ।
‘नेपालका सबै दलले सत्ता प्राप्तिका लागि हिन्दू राष्ट्र बिर्सेका छन्,’ उनले भने, ‘८१ प्रतिशत हिन्दू जनसंख्या भए पनि नेपालमा हिन्दू सुरक्षित छैनन् । हिन्दू धार्मिक जुलुसमा ढुंगा प्रहार गरिन्छ । सरकार मौन छ र भोटका लागि तुष्टिकरण गर्छ । त्यसैले हिन्दूहरू संगठित हुनु जरुरी छ ।’ पाठकले नेपालमा ठूलो मात्रामा धर्म परिवर्तन भइरहेको बताए । बंगलादेशी र रोहिंग्या मुस्लिम घुसपैठ भइरहेको उनको दाबी थियो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई पैसा दिएर गरिब हिन्दूलाई क्रिश्चियन बनाइएको उनले आरोप लगाए । यसका लागि पार्टीले अभियान चलाउने उनको तर्क थियो ।
पार्टीका मधेश प्रदेश संयोजक शत्रुघ्न साहको अध्यक्षतामा भएको कार्यक्रममा युपी, भारतबाट आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता धर्मेन्द्र आचार्य, सन्तोषानन्द जी महाराज, राम विनय यादव, अन्जु ठाकुर, बन्दना पाण्डे, विजयकुमार साहलगायतले धारणा राखेका थिए ।






