
मधेशदृष्टि
वीरगंज ।
नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरुद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुन लागेको छ । शनिबार काठमाडौँस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी मुखिया एन्टरटेनमेन्ट एण्ड मिडिया प्रा. लि.ले निर्माण गरेको भोजपुरी सिरिज ‘खेलाडी’को टिजर रिलिज गरिएको छ । ‘विकास र विस्तार हेरेर नै हामीले पनि भोजपुरी भाषामा केही गर्ने अठोट गरेका छौँ ।’ निर्माण कम्पनी मुखिया एन्टरटेनमेन्टले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । ‘नेपालबाट भोजपुरी भाषामा गीत संगीत र फिल्महरूको निर्माण गरी त्यसलाई विश्वका भोजपुरी दर्शकमाँझ पुर्याउने उद्देश्यले हाम्रो यो एउटा प्रयास हो ।’
हास्य÷कमेडीलाई आधार बनाई यूट्यूब मार्फत आफ्नो पहिलो प्रस्तुति ‘खेलाडी’को रूपमा टेलिसिरियल निर्माण भइरहेको निर्मातामध्येका एक विरेन्द्र मुखियाले बताए । ‘खेलाडी’मा बारा स्थायी घर भएकी चर्चित संचारकर्मी प्रियंका पाण्डेय, विरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ । साथै सिरीजमा सरू बराल, रामभजन कामत, अरकना खातुन, गोविन्दा यादव, सेराज आलम, गंगालाल श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।
सिरिजका लेखक÷निर्देशक शैलेसमान सिंह बस्नेत रहेका छन् भने निर्माता विरेन्द्र मुखिया, चांदनी देवी र पूर्णिमा कुमारी रहेका छन् । सिरिजमा भोजपुरी साहित्यका वरिष्ठ लेखक÷गीतकार गोपाल अश्कले आफ्नो शब्द दिएका छन् भने आकाश ठाकुरको गायन तथा संगीत विनय कार्कीको रहेको छ । आगामी २५ फेब्रुअरीमा सिरिज रिलिज हुने निर्माता मुखियाले जानकारी गराए ।






