धान किन्नै समस्या

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य तोके पनि सरकारी कम्पनीलाई किसानले यस वर्ष धान बिक्री गर्नै मानेनन्, चाहेनन् । विगतका वर्षमा किसान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्न तछाडमछाड गर्ने गरे पनि यस वर्ष उनीहरु कम्पनीलाई धान दिन तयार भएनन् ।

किसानले धान दिन नमानेपछि अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धान खरिद शून्य बराबर छ । पहिला सरकारले तोक्ने धानको मूल्य बजार भन्दा धेरै रहने गरेकामा किसान कम्पनीसँग धान बेच्न चाहन्थे । स्थानीय किसान सरोज यादवका अनुसार पहिला बजार मोल थोरै र संस्थानको मूल्य धेरै हुने गरेका कारण कम्पनीलाई धान बेच्ने गरेका थिए तर यसपटक बजारमै धेरै मोल पाउने भएपछि बजारमै धान बिक्रीमा लागे । लिमिटेडका मधेश प्रमुख गंगाप्रसाद साहले आफूहरुले निर्धारण गरेको दर भन्दा बढी रेट बजारमा पाउने गरेपछि किसानले बजारमै बढी मूल्यमा धान बिक्री गरे ।

उनले १५ दिनदेखि धान खरिदका लागि सूचना प्रकाशित गरेर बस्दासमेत किसान धान बेच्न नआएको बताए । चालु आवका लागि सरकारले असार २६ गतेको मन्त्रिपरिषद् बैठकबाट धानको समर्थन मूल्य तोकेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मोटा धानको मूल्य तीन हजार एक सय ९८ र मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ तोकिएको थियो । सोहीअनुसार मधेश प्रदेशमा सोना मन्सुली (मध्यम) को तीन हजार तीन सय ६२ र जिरा मसिनो (कतर्नी) धानको मूल्य चार हजार रुपैयाँ तोकेर खरिद प्रक्रिया सुरु गरिएको थियो । तर बजारमा भने अहिले ४ हजार १ सय रुपैयाँ प्रतिक्विन्टलमा धान बिक्री भइरहेको छ । यसले समेत कम्पनीलाई लक्ष्यअनुसार धान खरिद गर्न समस्या भइरहेको छ । कम्पनीले यस वर्ष सोना मन्सुली ३० हजार क्विन्टल र बासमती ११ हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यअनुसारले खरिद गर्ने सम्भावना कम देखिएको छ ।

यसवर्ष तराई मधेशमा धानको उत्पादन कम भएका कारणसमेत बजारमा धानको मोल निकै बढेको छ । सुरुमा किसान धान बेच्न आएको र उनीहरुबाट ६१ क्विन्टल मन्सुली धान मात्र खरिद भएको बताइएको छ । तर पछि यहाँ भन्दा बजारमै बढी मूल्य पाइने भएपछि किसान बजारतिर बढी धान बेच्न रुचि राख्न थालेका हुन् । मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष धनुषामा ४२ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा १ लाख ७६ हजार मेट्रिक टन उत्पादन भएको छ । यस्तै, सिरहामा ४५ हजार ९ सय हेक्टर क्षेत्रफलमा १ लाख ६६ हजार ४ सय ८६ मेट्रिक टन, बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा १ लाख ९१ हजार ६२ मेट्रिक टन र पर्सामा ५७ हजार हेक्टर क्षेत्रफलमा १ लाख ९७ हजार ९ सय ४६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले जानकारी दिए ।

यसैगरी, महोत्तरीमा ३९ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा १ लाख २२ हजार ७ सय मेट्रिक टन, सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा २ लाख १७ हजार ६ सय मेट्रिक टन, रौतहटमा ३५ हजार ६ सय ३० हेक्टर क्षेत्रफलमा १ लाख ४१ हजार २ सय ३३ मेट्रिक टन र सर्लाहीमा ४५ हजार ८ सय हेक्टर क्षेत्रफलमा १ लाख ४१ हजार ९ सय ८० मेट्रिक टन वर्षे धान उत्पादन भएको छ । गतवर्षको तुलनामा यस वर्ष मधेशमा वर्षे धान ९२ हजार मेट्रिक टन कम उत्पादन भएको मन्त्रालयका प्रवक्ता मेहताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button