मधेशदृष्टि
वीरगंज ।
पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भएको बताएका छन् । उनले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको बताए ।
वीरगंजमा नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित हुँदै भने, ‘अन्नको भण्डार भनिने, तराईं मधेशको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास इतिहास थियो, उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेको थियो तर दुई तीन दशक यता मधेश उजाड बन्दै गइरहेको छ, यहाँका पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ र मरुभूमिकरण भइरहेको छ, यो गम्भीर चिन्ताको विषय हो ।’
उनले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छाउने काम भएको सम्झिए । भने, ‘राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा सबै लाग्नु पर्छ, यसैमा हामी सबैको कल्याण छ ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बोधनको पूर्णपाठः
तपाईंहरुबीच मनका कुरा भन्न पाउँदा खुशी लागेको छ । तराईं फाँटका जनभावना बुझ्ने र यहाँहरुसँग साँक्षात्कार हुने मौका मिलेकामा आयोजक सबैलाई धन्यवाद् दिन चाहन्छु । अन्नको भण्डार भनिने, तराई मधेशको समथर उब्जाउ फाँट हाम्रा बाँच्ने आधार हुन् । गौरवशाली इतिहास बोकेको, उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा छ । तर पछिल्लो दुई तीन दशक यता मधेश उजाड बन्दै गइरहेको छ । यहाँको पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ । मरुभूमिकरण भइरहेको छ । यो गम्भीर चिन्ताको कुरा हो ।
मधेशका होनहार युवाशक्ति विदेशतिर दौडिरहेको छ । उचित अवसर दिन नसक्दा यस्तो भएको हो । स्रोतसाधन सुक्दै जाँदा जनशक्ति पातलिँदै गएको छ । यो दुःखको कुरा हो । यो देश बनाउनु, बचाउनु हामीमाथि सबैको आह्वान पनि छ । हामी हाम्रो पुर्खाको पौरख र गौरव नभूलून् भन्ने पनि चाहन्छौँ । हामी जन्मभूमिका लागि मरिमेटौँ । विकास, उत्थान र समस्या निवारण आफैँबाट हुने हो । अरुले आएर गरिदिने होइन । तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल, पहाड र तराई उजाड बन्दै चरम दुर्भाग्यको अवस्थामा छ । यो अवस्थाको अन्त्य अब गर्र्नै परेको छ । अब सोच्ने बेला आयो । देशलाई झन झन बर्बादीतिर नलैजाऔँ । अब सबैले समीक्षा गरौँ । हाम्रो राम्रो प्रकृति, स्रोतसाधन, आफ्नो क्षमता सबै कुरा आर्थिक उन्नतिमा लगाऔँ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
अब आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने बेला गयो । आफ्नो क्षमता आफ्नै घरद्वार बनाउनेतिर अब हामी लाग्नैपर्छ । यसैमा हाम्रो देशको उन्नति, प्रगति, इज्जत र प्रतिष्ठा निर्भर हुनेछ । भूगोल र भूबनोटमा बाँडिने होइन, जातजातिमा खण्डित हुने होइन । हामी सबैको देश नेपाल, नेपालमा बस्ने सबै नेपाली । विभेद, विखण्डन, विग्रह र निषेधको राजनीति नगरौँ, सबैको भलाइ यसैमा छ ।
आत्मीय अग्रजहरु गुमाएको पीडाको अवस्थामा करिब ७ वर्ष मुलुकको अभिभावकत्व ग्रहण गरेँ । देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर त्याग गरेको हुँ । २०५८ मा भएको भएको विनाशकारी घटना, हामी र हाम्रो परिवारलाई कहालीलाग्दो, सम्झन पनि मन नलाग्ने घटनामा राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल पनि गराए, नकारात्मक भावना फैलाए । हामी र हाम्रो परिवारलाई घातक प्रहार पनि गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
तर, सत्य सधैँ सत्य नै हुन्छ । असत्य विजयी हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानत र छलले बहकिरहको छौँ । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो । २०६५ जेठ २९ गते भनेको थिएँ, म नेपालीमै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु । स्वाभिमानी आमनेपालीको समग्र हित होस भन्ने कामना छ ।
हाम्रो राष्ट्रप्रेम र राष्ट्रिय हितको सदासयता कायम नरहँदा देशमा बेथिति बढेको छ ।
बितेका १५ पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको छ ।
गरिमापूर्ण राजपाठबाट वियुक्त हुँदा गरेको प्रतिवद्धता र देश तथा जनताको उत्थानमा क्रियाशील हुने विषय आज पनि सान्दर्भिक रहेको सम्झिरहेको छु । चिरकालपर्यन्त सुरक्षित रहोस् भनेर मैले श्रीपेच राष्ट्रलाई सुम्पिएको हुँु । देशमै छौँ । देशकै गौरवगाथा गाइरहेका छौँ । फेरि पनि देशको सर्वांगिण उन्नति होस् । आफ्नो मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर सनातनदेखि रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो हुँदैन, यसमा हाम्रो अडान कायम छ । राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा लाग्नु पर्छ । यसैमा हाम्रो कल्याण छ ।
जयनेपाल ।