
हिजो स्रोता बनेर रेडियो सुन्ने गरेका एमके गुप्ताले एउटा परिचित ‘आरजे’ छवि बनाएका छन् । झण्डै डेढ दशकदेखि रेडियोमा कार्यक्रम चलाउँदै आएका गुप्ता अझै पनि रेडियोकै दुनियाँमा रमाइरहेका छन् । रेडियोमा कार्यक्रम चलाउनु कुनै नौलो र गाह्रो काम कहिल्यै नलागेको उनको अनुभव छ । सायद बच्पनको ‘आदत’ नै पेशा बनेर होला ।

नेपाल र भारतबीचको सम्बन्धलाई हरेक व्यक्ति र निकायले आआफ्नै ढंगले परिभाषित गर्लान् । अर्थात् यी दुई मुलुकबीचको सम्बन्धलाई व्यक्तिविशेषले भिन्नै शब्दले अथ्र्याउन पनि खोज्लान् । तर, राज्यका विभिन्न निकायले नेपाल र भारतबीचको सम्बन्धलाई जसरी परिभाषित र जुनसुकै नाम दिए पनि जनस्तरमा भने सम्बन्ध झनै फराकिलो पाइन्छ । सम्बन्धको सीमित घेराभन्दा बाहिर गएर अझै फैलाउन मद्दत गरिरहेका भेटिन्छन्, ‘एमके गुप्ता’हरु, जोसँग न कुनै मुलुक न त कुनै पेशाले बाँधेको छ । एमके गुप्ताको आवाजसँग कुनै देश र कुनै पेशा सीमित छैन । नेपाल र भारतमा मात्र नभई पाकिस्तान, श्रीलंका, कतार, मलेसिया, दुबई, इरान, अमेरिका र अष्टे«लियालगायतका मुलुकमा पनि एमके गुप्ताको आवाजसँग परिचित स्रोता भेटिन्छन् ।
करिब पाँच दशकअघि भारतको मोतिहारी जिल्ला पलनवा थाना ग्राम जगधरमा जन्मिएका एमके गुप्ता पाँच दाजुभाइमा चौथो सन्तान हुन् । एमके गुप्तालाई उनको गाउँघरतिर मंकेश्वर गुप्ता र जगदीप साह नामले पनि बोलाउने गरिन्छ । अहिले ४८ वर्ष पुगेका एमके गुप्ता बाल्यकालमै रेडियो सुन्न रुचि राख्थे । आकाशवाणीबाट आउने लोकगीतको कार्यक्रम उनी बढी सुन्ने गर्दथे । बाल्यकालमा असाध्यै रेडियो सुन्ने रुचि भएका गुप्ताले त्यो बेला दर्जनौँ रेडियो बिगारे, बिग्रेको रेडियो बनाउने प्रयास पनि गरे । रेडियो सुन्ने रुचि यतिसम्म थियो कि, जसले उनको परिवारलाई चिन्तित तुल्याएको थियो । मधेशदृष्टिसँगको कुराकानीमा एमके गुप्ता भन्छन्, ‘सबै काम छाडेर भए पनि रेडियो मात्रै सुनिरहने मेरो ‘आदत’लाई देखेर त्यो बेला बुबाले चिन्ता लिनुहुन्थ्यो ।’ बुबाले आफूलाई सम्झाएको कुरा सुनाउँदै एमके गुप्ता अगाडि थप्छन्, ‘त्यो बेला बुबाले भन्नुभएको थियो, ‘बाबु खेतबारीमा रोपाइँको काम चलिरहेको छ । तिमी खेतमा जान छोडेर रेडियो मात्र सुनिरहन्छौ, यो रेडियोले तिमीलाई दालरोटी दिँदैन, त्यसैले खेतबारीमा जाऊ, काम गर, दिनभर रेडियो सुनेर के फाइदा ?’ तर, आज यही रेडियोले दालरोटी मात्र होइन धेरै कुरा दिइरहेको छ । अफसोच, यो कुरा सुनाउन आज बुबा हुनुहुन्न ।’ सानैदेखि रुचि भएको क्षेत्रमा अहिले आफूले काम गर्न पाउँदा घरपरिवार पनि खुसी रहेको उनी बताउँछन् ।
रेडियो सुन्ने त्यही ‘आदत’ले उनलाई सन् १९९० मा रेडियोसँगै जोडिएर काम गर्ने अवसर जुर्यो । करिब १५ वर्ष पहिले उनले ‘बिहार रेडियो स्रोता संघ’ गठन गरेर काम गरे । त्यो स्रोता संघ नेपाल र भारत दुवैतिर परिचित थियो । स्रोता संघको अध्यक्ष भएका बेला नेपालका दर्जनौँ रेडियोले उनको अन्तर्वार्ता पनि लियो । रेडियोमा काम गरिरहेका व्यक्तिसँग चिनजानले उनलाई रेडियोको यात्रातिर डोर्याउन सहयोगी भूमिका खेल्यो । नेपालतिरका आरजेसँगको सहकार्य बढ्दै जाँदा एमके गुप्ताको यात्रा नेपालतिर नै मोडियो । तिनै एमके गुप्ता विगत १२ वर्षदेखि रेडियो वीरगंज ९९ मेगाहर्जसँगै सहकार्य गरिरहेका छन् ।
अहिले रेडियो वीरगंजमा एमके गुप्ताले दुई वटा कार्यक्रम चलाउँछन् । सातामा शनिबारबाहेक बाँकी ६ दिन दिउँसो ३ देखि ४ बजेसम्म ‘भोजपुरी कार्यक्रम’ र राति १०ः३०–१२ः०० बजेसम्म ‘सदावहार हिन्दी गीतमाला ।’ उनको कार्यक्रममा सहभागी स्रोता नेपाल र भारतमा मात्र सीमित नभई अन्य मुलुकबाट समेत छन् । उनको ‘भोजपुरी कार्यक्रम’ सन् २०१३ देखि र ‘सदावहार हिन्दी गीतमाला’ सन् २०१२ देखि निरन्तर चलिरहेको छ । दिनभरको थकान मेट्न राति कार्यक्रम सुन्ने स्रोता बढी भएकाले रातिको कार्यक्रम दिउँसो भन्दा बढी लोकप्रिय रहेको अनुभव छ गुप्ताको । उनी आफ्नो कार्यक्रममा आउने स्रोताबारे सुनाउँछन्, ‘मेरो कार्यक्रम सुन्ने स्रोतामा प्रायःजसो रेलसेवा र बैंकका अधिकारी, वकिल, डाक्टर, किसान, रिक्सा चालक, अटो ड्राइभर, व्यवसायी छन् ।’ अहिले आकाशवाणी (तत्कालीन भारतीय प्रसारण सेवा) र एसएलबिसी (श्रीलंका ब्रोडकास्टिङ कर्पोरेसन)का स्रोताले पनि आफ्नो कार्यक्रम सुन्ने गरेको उनी बताउँछन् । जवलपुर मध्ये प्रदेशका माधव नामदेव, सिमा नामदेवदेखि वान्दा, युपीका फहिम मन्सरीलगायत थुप्रै नियमित स्रोताको नाम लिँदा उनी खुसी देखिन्छन् । राति डेढ घण्टाको ‘सदावहार हिन्दी गीतमाला’ कार्यक्रमलाई पनि स्रोताले समयसीमा कम भएको भन्दै बढाउन सुझाव दिने गरेको उनी सुनाउँछन् ।
पहिले आफू जन्मेको गाउँमा सबैको घरघरमा एक सेट रेडियो हुने गरेको भए पनि अहिले त्यसमा कमी आएको उनको बुझाइ छ । उनी भन्छन्, ‘आजभोलि बजारमा रेडियो कमै पाइने भए पनि रेडियो सुन्ने स्रोतामा कुनै कमी आएको छैन । बरु स्रोता बढ्दै गएका छन् । विभिन्न माध्यमबाट रेडियो सुनिरहेका छन् ।’ आफ्नो गाउँको उदाहरण दिँदै एमके गुप्ता भन्छन्, ‘गाउँमा पहिलेदेखि नै केही साथी अहिले पनि समूहमा रेडियो सुनिरहेका हुन्छन् ।’
हिजो स्रोता बनेर रेडियो सुन्ने गरेका एमके गुप्ताले एउटा परिचित ‘आरजे’ को छवि बनाएका छन् । झण्डै डेढ दशकदेखि रेडियोमा कार्यक्रम चलाउँदै आएका गुप्ता अझै पनि रेडियोकै दुनियाँमा रमाइरहेका छन् । रेडियोमा कार्यक्रम चलाउनु कुनै नौलो र गाह्रो काम कहिल्यै नलागेको उनको अनुभव छ । सायद बच्पनको ‘आदत’ नै पेशा बनेर होला । अहिले गुप्ता रेडियोमा कार्यक्रम चलाउनुका साथै रेडियोको उपकरण मर्मतको काममा समेत व्यस्त देखिन्छन् । उनी आफ्नो जीवनको अनुभवलाई लिएर भन्छन्, ‘जिन्दगीमा कुनै एउटा यस्तो क्षेत्रमा काम गर्नुहोस्, जसमा तपाईंको रुचि होस् । अनि त्यही क्षेत्रमा दिलदेखि काम गर्नुहोस् त्यही क्षेत्रमा ‘नम्बर वान’ बन्ने प्रयास गर्नुहोस्, सफलता पाउन मुश्किल हुँदैन ।’






