
वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेस प्रदेशमा सरकारमा सहभागी जनमत पार्टीका नेता तथा कार्यकर्ताले भ्रष्टाचारी सरकार मूर्दावाद भन्दै विरोध प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले आफनो नेतृत्वको सरकारले एक वर्षको अवधिमा गरेको कार्यहरुको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सत्ता साझेदार जनमत पार्टी कार्याकर्ताले विरोध प्रदर्शन गरेका हुन । महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा आफ्नो उपलब्धी सार्वजनिक गरेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिन लाग्दा जनमत पार्टीका सचिव बिपी साहको नेतृत्वमा कार्यकर्ताले भ्रष्टाचारी सरकार मूर्दावाद, साइकल चोरलाई कारबाही गर जस्ता नाराबाजी गरेका थिए ।
जनमत कार्यकर्ताले नाराबाजी गरिरहेको अवस्थामा मुख्यमन्त्री यादव पटकपटक शान्त रहनआग्रह गरेका थिए । तर जनमतका कार्यकर्ताले विरोध जनाइरहेका थिए । मुख्यमन्त्री यादवसँगै मञ्चमा रहेका जनमत पार्टीबाट मन्त्री बनेको श्रम तथा मन्त्री चन्दन सिंह र शिक्षामन्त्री महेश प्रसाद यादव बसेर हेरिरहेका थिए । निकैबेरको नाराबाजीपछि विरोध गर्ने आफैँ सभाहलबाट बाहिर निस्केका थिए । मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारमा कुनै पनि प्रकारले अनियमितता नभएको जिकिर गरे । उनले भने, ‘जनमत पार्टी कुन नैतिकताले सरकारमा बसेका छ । सरकारमा पनि बस्ने विरोध पनि गर्ने, भ्रष्टाचारी सरकारमा किन बस्नु पर्यो ?’
त्यसैगरी जनमतले नगरमा समेत विरोध प्रदर्शन गरेका छ । मधेस प्रदेश सरकारले प्रदेशको नामाकरण र राजधानी तोकिएको दिनलाई मधेस स्वाभिमान दिवस मनाउने निर्णय गरेको छ ।






