
तीव्र आर्थिक वृद्धि दर तथा स्वदेशमै रोजगारीको विस्तृत क्षेत्र अझै पाउन बाँकी छ । देशमा विस्तारै औद्योगीकरण भइरहेको छ । भूकम्प, कोरोना तथा आर्थिक मन्दी आदिले यसै समयमा देशलाई पिरोलेको आलोचकहरुले पनि देखेका छन् । यस अवस्थामा अब देशले विस्तारै विकासको गतिलाई गतिमान बनाउन तथा रोजगारी र औद्योगिकीकरणको क्षेत्रमा अग्रसर हुने विश्वास लिन सकिएको छ । फेरि पनि असन्तुष्टिहरुको सम्बोधन संविधानको मर्मअनुसार संसदले नै गर्ने हो । संविधानलाई गाली गरेर हुँदैन । संविधानलाई गाली गर्नुभन्दा पहिले आफ्ना कर्तव्यहरु पालना गर्न सके वा नसकेको बारेमा पनि विचार गर्नुपर्ने आवश्यकता रहेको छ । संविधानको सफल कार्यान्वयनमा हरेक व्यक्तिको सकारात्मक भूमिका हुनु अपरिहार्य छ । हामी नेपालीले आफ्नो भविष्य आफैँले बनाउने हो, अरुले बनाइदिने होइन ।

नेपालमा लागू रहेको वर्तामान संविधान जारी हुँदा केही असन्तुष्टि रहेको थियो । संविधान कार्यान्वयन हुँदै जाँदा जारीको बखत असन्तुष्ट देखिएका पक्षको पनि बलियो सहभागिता हुँदै गयो । संविधानमा संशोधन पनि भयो र कानुनहरु निर्माणको क्रम अहिलेसम्म जारी रहेको छ । यो लोकतान्त्रिक संविधान हो र कार्यान्वयनमा आएका समस्याहरु तथा देशमा अन्य किसिमबाट देखिएका समस्याहरुको समाधान पनि हुँदै जान्छ । संसारको कुनै पनि देश पूर्णतया समस्याविहीन छैन र कुनै पनि संविधान आफैँमा जादुको छडी हुन सक्दैन कि भन्नासाथै समस्याको समाधान छुमन्दर गरिदेओस् । हाम्रो संविधान प्रगतिशील छ, समाजवादोन्मुख छ । कार्यान्वयनमा आएको केही वर्षमा नै सबै समस्या समाधान हुने कल्पना गर्नुलाई फरक हिसाबले पनि सोच्नुपर्छ किनभने सबै समस्या संविधानसित सम्बन्धित नहुन सक्छन् । कतिपय समस्या हाम्रो व्यवहारमा पनि हुन सक्छ ।
एकथरिले नेपालीको चिन्तनलाई सदैव विद्रोही तथा आलोचनात्मक बताउने गरेका छन् । तत्काल परिणाम खोज्ने र परिणाम आफ्नै पक्षमा खोज्ने हाम्रो प्रवृत्ति तथा तत्काल आफ्नो पक्षमा परिणाम नदेखिए त्यसलाई आलोचना गर्ने, अवगुणको व्याख्या गर्ने, विरोध गर्ने तथा अरुलाई यसको लागि तयार पार्ने प्रवृत्तिका साथै आलोचनात्मक र विद्रोही कुरामा तत्काल विश्वास गरिहाल्ने हाम्रो प्रवृत्तिले पनि हामीमा हतारको प्रवृत्ति रहेको स्पष्ट पार्दछ । हुन त आफ्नो पक्षमा नतिजा आउँदा समर्थन गर्ने र आफ्नो पक्षमा नआउँदा विरोध गर्ने प्रवृत्ति सामान्य हो । आफूलाई सुधार्नुपर्छ भन्ने कुरामा हामीलाई कमै विश्वास हुन्छ र जति हामी कुरा गर्दछौँ त्यत्ति काम गरेका हुँदैनौँ । कुरा र कामले पनि हामीमा यस प्रकारको चिन्तन हावी हुन पुगेको हुनुपर्छ । अर्को आरोप यो पनि रहेको छ कि फाइदा लिउन्जेल राम्रो र फाइदा लिन छाडेपछि नराम्रो मान्ने हाम्रो प्रवृत्ति फाइदामुखी छ । जब बढी फाइदामुखी, व्यक्तिवादी हुने हो भने स्वार्थमुखीको नजिक हुन पुग्छौँ । व्यक्ति फाइदामुखी हुँदा नीति, नियमको दोष दिनु उचित हुँदैन । नियत चाहिँ सही हुनुपर्छ । नियत सही छ भने अलिकति कमी कमजोरीलाई सच्याउन तयार हुनुपर्छ । आफू पनि सच्चिन तयार हुनुपर्छ ।
अहिले पनि धेरै असन्तुष्टि विकासमा नै रहेको छ । विकास भएन भन्ने कुराप्रति असन्तुष्टि सर्वत्र रहेको छ । विकासमा असन्तुष्टिले यो पनि बुझ्न सजिलो बनाउँछ कि मानिसलाई विकासको भोक निकै धेरै रहेको छ । मानिसले विकास चाहेका छन् । विकासको चाहना तीव्र छ । विकास तत्काल होस् भन्ने चाहना रहेको छ । यदि विकास भएन भन्नेलाई प्रश्न गर्ने हो कि के के विकास हुनुप¥यो तब उत्तर आउँछ – सडक, बिजुली आदि । दोस्रो प्राथमिकतामा आउँछ शिक्षा र स्वास्थ्य । अझै सोध्ने हो भने अनि बल्ल आउँछ संस्कृति, रोजगारी आदि । अझै नवयुवालाई सोध्ने हो भने विकासको नाममा सोझै रोजगारीलाई पहिलो प्राथमिकता दिन्छन् । रोजगारीमा कस्तो रोजगारी ? त उत्तरमा आउँछ सरकारी नोकरी । तपाईँ केमा सक्षम हुनुहुन्छ ? यदि यस्तो प्रश्न गर्ने हो भने सक्षमताको सबालमा अलिक पछाडि हटेर सक्षम बनाउने काम सरकारको हो भन्ने जवाफ दिन्छन् । सरकारले सक्षम नबनाएकोले सक्ष्मा हुन नसकी रोजगारी नपाएको जवाफ आउँछ । अनि अन्ततः असन्तुष्टि सरकारसित जोडिन पुग्छ । सरकारसित जोडिएको असन्तुष्टिलाई बंग्याएर फेरि कुरो संविधानसम्म पु¥याउँछन् ।
यस संविधानले प्रगति गर्न कसैलाई रोकेको छैन । समावेशी अधिकार दिएको छ । समानुपातिक अधिकार दिएको छ । यदि खोज्ने हो भने सक्षम बन्नको लागि सरकार र संविधानले धेरै अवसर पनि दिएको छ तर आफूमा रहेको क्षमतालाई नहेर्ने, आफ्नो सक्षमताको उपयोग गर्ने ठाउँको खोजी नगर्ने र सबै कुरा संविधानले नै रोकेको हो भन्ने आरोप लगाउनेहरुले कुनै विकास भएको नदेख्नुमा पनि आश्चर्य मान्नु हुँदैन । सबै अरुले नै गरिदेओस् र बसी बसी मेरो अगाडि केवल सफलता ल्याएर देओस् भन्ने चाहना राख्नेले जुन सुकै व्यवस्था आए पनि र जस्तो सुकै संविधानको निर्माण भए पनि केही गर्न सक्लान् ? फेरि पनि उही विरोध नै गर्लान् र खोट नै देख्लान् । यस्तो मानिसलाई तपाईँले संविधान बनाउनु भयो भने के गर्नुहुन्छ ? भन्ने प्रश्न राख्दा केही बोल्न सक्दैनन् । यदि संविधान, ऐन, नियमावली तथा नीति र कार्यक्रम पनि यस्तै मानिसलाई बनाउन दिने हो तर कार्यान्वयन गर्ने अवसर नपाउने हो भने फेरि पनि विरोध गर्नेछन् । भन्नुको तात्पर्य संविधानमा दोष देखाउनेलाई कथंकदाचित संविधान बनाउने अवसर दिँदा कार्यान्वयन आफैँले गर्न नपाउँदासम्म पनि यदि विरोध गर्दछन् भने यसको अर्थ संविधानलाई दोष देखाएर आफूले कार्यान्वयनको अधिकार खोजेको मात्र हो । अहिलेकै संविधानअनुसार आफूलाई कार्यान्वयनको तहसम्म पुग्ने नदेखेर खोट देखाएको मात्र हो तर अब नागरिक सचेत भइसकेका छन् । सचेत नागरिकले विकास देख्न थालेका छन् । अब विकासको पथमा नै समृद्धिको सपना देख्न सकिन्छ भन्ने चिन्तन सर्वसाधारणमा पनि आउन थालेको छ । सर्वसाधारणले खोज्ने विकास नै हो, रोज्ने विकास नै हो । बाँकी कुरा तपसीलका हुन्, वर्तमान संविधान निकै राम्रो रहेकोमा धेरैको दुईमत रहेको छैन ।
नयाँ संविधान जारी भएको गत आठ वर्षमा नेपालमा परिवर्तन हुँदै नभएको हो त ? कसैलाई यदि लागेको छ कि पहिले विकास भएको थियो र अहिले विकास भएको छैन भने एकचोटि पहिलेको कुनै आठ वर्षलाई यो संविधान जारी भएको आठ वर्षसित तुलना गर्दा हुन्छ । फेरि पनि यस आठ वर्षमा कोरोना, भूकम्पको असर, आर्थिक मन्दी र चुनावहरुलाई पनि विचार गर्नु उत्तिकै विचारणीय छ । यत्तिका प्राकृतिक तथा वैश्विक संकटहरुका बिचमा पनि यस देशको आन्तरिक विकासमा प्रगति भएको छ । यदि भौतिक क्षेत्रमा पनि विकासको गतिलाई विचार गर्ने हो भने यस आठ वर्षमा सडकको निर्माण कति भएका छन् ? कति भवनहरु बनेका छन् । पहिले कस्ता सडकको कल्पना गर्दथ्यौँ ? कस्ता पुलहरुको कल्पना गर्दथ्यौँ ? अहिले कतिपय ठाउँमा व्यवहारमा कस्ता सडक र पुलहरु निर्माण भएका छन्, हुँदै छन् । पहिले गाउँ गाउँमा बाह्रै महिना मोटर वा मोटरसाइकल पुग्दथे ? अहिले कुनै दिन घरसम्म सबारी साधनलाई सायदै कुनै बाधाले रोकेको हुन सक्छ । यद्यपि यस्ता बाधाहरुलाई पनि पन्छाउने प्रयास भइरहेको हुनुपर्छ । के अब सडक र भवनलाई विकास नमान्ने ? यदि सडक र भवन अर्थात् पुराना सोचाइको भौतिक पूर्वाधारलाई विकास नमान्ने हो भने शिक्षा र स्वास्थ्यलाई लिन सकिन्छ । आठ वर्ष पहिले देशको साक्षरता दर कति थियो ? अहिले साक्षरता दरमा परिवर्तन भयो कि उही छ ? पहिले देशमा स्वास्थ्यको अवस्था कस्तो थियो ? देशको प्रतिव्यक्ति आयु कस्तो थियो र अहिले कति भएको छ । मलाई लाग्छ, नेपालीको औसत आयु बढेको छ र देशको स्वास्थ्य क्षेत्रप्रति पहिलेको तुलनामा निकै धेरै विश्वासमा वृद्धि भएको छ ।
बिजुलीकै अवस्था नै हेरौँ न । पहिले मानिसले बिजुलीको प्रयोग औषधिको जस्तो बेला मौकामा गर्न पाउँथे । घन्टौँसम्म लाइन हुँदैनथ्यो । धेरैको पहुँच बिजुलीसम्म थिएन । अहिले अधिकांश नागरिक बिजुलीको पहुँचमा पुगेका छन् । बिजुलीको खपत बढाएका छन् । बिजुलीको विभिन्न काममा उपयोग गर्न सिकेका छन् । बिजुलीमाथिको पहुँच विस्तारले सर्वसाधारणलाई पनि आत्मनिर्भर हुन सहयोग गरेको छ । वास्तवमा विचार गर्ने हो भने विगतको आठ वर्षमा बिजुलीको क्षेत्रमा नेपालले धेरै प्रगति गरेको छ । यदि बिजुलीको उत्पादन हुन सक्यो भने नेपालले बिजुली विदेशलाई बेचेर समृद्धिको सपनालाई साकार पार्न सक्छ भन्ने दिशामा पहिलो कदम यसै अवधिमा चालिएको छ । अलिकति उत्साहजनक सफलता पनि हात लागेको छ । साथमा यदि विचार गर्ने हो भने यो पनि देखिन्छ कि नेपालले यस अवधिमा बिजुली उत्पादनमा ठुलो सफलता हात पारेको छ । बिजुली उत्पादनको सफलताले नेपालमा केही समयको लागि भए पनि लोडसेडिङ नभएको पनि अवस्था रहेको छ । साँच्चै यदि विगतको कुनै पनि कालखण्डसित अहिलेको तुलना गर्ने हो भने नेपालीले अर्थात् प्रतिव्यक्ति नेपालीले खपत गर्ने बिजुलीको युनिटमा व्यापक सुधार भएको पाउन सक्दछौँ । केही असन्तुष्टि छैन भन्ने होइन तर पनि अहिलेको बिजुली उपभोग भरपर्दो भएको छ । बिजुलीको भरपर्दो उपभागको कारण अहिले धेरै भान्छा कोठामा विद्युतीय चुलोको प्रयोग बढेको छ । विद्युतीय चुलोले भान्छा कोठामा भान्छा पकाउने मानिसलाई कति सहयोग पुगेको र कति सजिलो भएको छ भन्ने कुरा धेरै दृष्टिकोणले महत्वपूर्ण छ । यदि स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने यदि ग्याँसको ठाउँमा विद्युतको उपभोग गर्न रुपान्तरण भएको हो भने ग्याँसको गन्ध र धुवाँ साँसको माध्यमले शरीरमा प्रवेश गर्दा हुने हानि नोक्सानीबाट विद्युतीय चुलोले मुक्ति नै दिएको छ । स्वास्थ्य र पर्यावरणका साथै देशको पैसा अन्यत्र जाने आदि सबालमा विद्युतले एउटा क्रान्ति गर्न थालेको छ । अहिले कृषि तथा यातायातमा बिजुलीको उपयोग बढ्दै जाँदा यस देशको अर्थतन्त्रमा निकै सकारात्मक प्रभाव पर्ने सम्भावना सर्वत्र गरिँदैछ । अहिलेको समयले यस सम्भावनाको सपनालाई देख्ने अवसर दिएको हो भन्ने कुरामा सबै एकमत हुनुपर्छ ।
अहिले विस्तारै खानेपानीको क्षेत्रमा सुधार भइरहेको छ । पहिलेभन्दा धेरै ठाउँमा खानेपानीको सुविधा पुगिसकेको र पुगिरहेको छ । सधैँ पानीको असुविधा रहने काठमाडौँमा अब मेलम्चीको पानी आइसकेको छ । सिंचाइको क्षेत्रमा पनि सुधार भइरहेको छ । सिंचाइको लागि सतहको पानी र भूमिगत पानी दुवैको उपयोगको क्षेत्रमा धेरै काम भइरहेको छ । मरिन डाइभर्सनमार्फत बागमतीमा पानी ल्याउने प्रयासको थालनी भइसकेको छ । यसले गर्दा सम्भवतः मधेश प्रदेशका धेरै जिल्लामा सिंचाइको लागि कैयौँ दशकसम्म पानीको असुविधा नहोला । यसै गरी महिला सशक्तीकरणको क्षेत्रमा संविधानले निकै ठूलो परिवर्तन ल्याएको छ । विगतका वर्षहरुमा भन्दा अहिलेको समयमा करिब सबै क्षेत्र र ठाउँमा महिलाको उपस्थिति भइसकेको छ । आदिवासी, जनजाति, मधेसीले पनि अधिकार पाएको देखिएको छ । यो यस संविधानकै सफल र सबल प्रयोग हो कि एक जना मधेसी र एक जना महिलाले राष्ट्रपति बन्ने अवसर पाइएका छन् । महिलाको पहुँच हरेक क्षेत्रमा बढ्दै गएको देखिनु आफैँमा सुन्दर पक्ष हो ।
हो, तीव्र आर्थिक वृद्धि दर तथा स्वदेशमै रोजगारीको विस्तृत क्षेत्र अझै पाउन बाँकी छ । देशमा विस्तारै औद्योगीकरण भइरहेको छ । भूकम्प, कोरोना तथा आर्थिक मन्दी आदिले यसै समयमा देशलाई पिरोलेको आलोचकहरुले पनि देखेका छन् । यस अवस्थामा अब देशले विस्तारै विकासको गतिलाई गतिमान बनाउन तथा रोजगारी र औद्योगिकीकरणको क्षेत्रमा अग्रसर हुने विश्वास लिन सकिएको छ ।
फेरि पनि असन्तुष्टिहरुको सम्बोधन संविधानको मर्मअनुसार संसदले नै गर्ने हो । संविधानलाई गाली गरेर हुँदैन । संविधानलाई गाली गर्नुभन्दा पहिले आफ्ना कर्तव्यहरु पालना गर्न सके वा नसकेको बारेमा पनि विचार गर्नुपर्ने आवश्यकता रहेको छ । संविधानको सफल कार्यान्वयनमा हरेक व्यक्तिको सकारात्मक भूमिका हुनु अपरिहार्य छ । हामी नेपालीले आफ्नो भविष्य आफैँले बनाउने हो, अरुले बनाइदिने होइन । अहिले धेरै हदसम्म अरुको बोलीमा बोली मिलाउनेहरुले संविधानको व्यापक विरोध गरेका छन् । संविधानमा भएका सकारात्मक कुराहरुलाई अझै पनि सम्बन्धितसम्म पु¥याउन नसके पनि नयाँ संविधान जारी भएपछि समानुपातिक प्रतिनिधित्व, बलियो स्थानीय सरकार तथा प्रदेश सरकारको अनुभूति गर्दै गाउँगाउँसम्म विकास पुगेको छ भन्ने कुरालाई पनि देखाइरहनुपर्ने आवश्यकता देखिएको छ । नकारात्मक टिप्पणी गर्नुभन्दा सकारात्मक कुरालाई पनि सँगसँगै यदि पस्किने हो भने संविधानले धेरै कुरा दिएको सर्वसाधारणले थाहा पाउने छन् । संविधान दिवसको दिन कम्तीमा संविधान नयाँ व्यवस्थाले देशलाई दिएका सकारात्मकताको बारेमा विचार गरौँ र गर्न लगाऔँ त ।






