पदमा हुँदा मौनता, पद खुस्किएपछि सक्रियता

[mashshare]

गुगलमा मेडिकल माफिया भनेर खोजियो भने देखिने विशाल पण्डितबारे असारतिर पनि हामीले समाचार लेखेका थियौँ । असारको १० गते नै बाँकी एक सातालाई कोटेसनमा डेंगुको झोल किन्न कर्मचारीलाई दबाब दिएको, नकिने कर्मचारीको सरुवाको धम्की दिएको समाचार लेखेकै हौँ । यो समाचारमा पनि भित्री पाटो यिनै पण्डित थिए । पछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रकरणमा पनि हामीले मुख्यमन्त्रीको रुचि र स्वास्थ्यमन्त्रीको रुचि फरक अनुहार भएको र यसमा पनि मेडिकल माफिया विशाल पण्डितको रोजाइका व्यक्ति आउनेछन् भनेर लेखेका थियौँ । लामो समयसम्म उपकुलपति नियुक्ति गर्न स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले चाहेनन् ।

–रामकुमार एलन

सत्ता छाडेको केही दिन नबित्दै मधेश प्रदेश सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई लामो विवरणसहितको ज्ञापन पत्र बुझाए । उनले मधेशका जनताको हितका निम्ति स्वास्थ्य क्षेत्रमा गरिनु पर्ने कामहरुबारे लामो फेहरिस्तसहित मुख्यमन्त्री यादव भेटेर ज्ञापन पत्र बुझाए । ओहो, नेता हुनु त यस्तो ? मधेशी जनता, मधेशको स्वास्थ्य र सरकारी अकर्मण्यताप्रति एउटा युवा नेताको कत्रो चासो, चिन्तन, चेतना ? यस्तै नेताहरु दुई चार जना मात्रै भए मधेश सरकारको लोकप्रियता कहाँ पुग्थ्यो होला ? यस्तै नेता मधेशमा चाहिएको छ । झट्ट हेर्दा यस्तै लाग्छ । सबैले वाह ! नेताजी पनि भन्छन् ।

वीरेन्द्र सिंहले स्वास्थ्यमन्त्री छाडेको दुई साता नपुग्दै गरेको मधेशको स्वास्थ्यको चिन्ता उनी कुर्सीमा बस्दा चैँ किन गरेनन् ? सोच्ने विषय चैँ यो हो । हुँदाखाँदाको बायोमेडिकल इञ्जिनियरलाई अन्यत्र सरुवा गरेर करारमा परामर्शदाताका रुपमा बायोमेडिकल इञ्जिनियर नियुक्त गरेर एउटा मात्र कम्पनीलाई ठेक्का दिन मिल्ने गरी गरिएको सिटी स्क्यान प्रकरणमा मन्त्री सिंह मौन बस्नुको अर्थ के थियो ? के प्रकाश सपूतले गाएको गीत जस्तै थियो त ? ‘गलबन्दी च्यातियो तिम्ले तानेर’मा दोहोरीका तीन चार तुक्का गाउँदासमेत केटीको जवाफ नआएपछि प्रकाश सपूतले भनेका छन्, ‘कि मुखैमा पिडालु राखिछौ ?’ समाज बिग्रेको नराम्रो मान्छेको संख्या धेरै भएर होइन, राम्राहरुले समयमा बोल्ने र खबरदारी नगरेर हो । सिंगो मधेश हल्लाउने गरी सिटी स्क्यान प्रकरणले तरंग ल्यायो ।

मिडियाको रत्नपार्कमा सबै भिड पत्रकारको देखिए पनि यो समाचार लगातार मधेशदृष्टिले छापिरहँदा राजनीतिक दलका २४ क्यारेटका सुनका र चम्किला चाँदीका ‘चम्चा’हरुले ‘मानसिक सन्तुलन’ गुमेको, ‘सपनामा बर्बराए’को भनेर फेसबुकमा गाली लेखेर आकाशतिर फर्केर धोको पुग्ने गरी थुके । सायद त्यो थुकले उनीहरुलाई कैयौँ दिन मुख धुन पानी पनि चाहिएन होला, मुख गजबसँग तातो भयो होला, चिल्लो भयो होला रामजाने । तर उठाइएको विषयबस्तुमा मुख्यमन्त्रीको कार्यालयमा उजुरी दर्ता भएको छ । प्रदेश लेखा समितिमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । बोल्नु पर्ने मधेशी नेता, जिम्मेवार बुद्धिजीबी नेताहरुले समयमा बोलेनन् । उनीहरुले आफ्ना चम्चा चलाए । चम्चाले भाँडो रित्तिने हो । डुंगा डुब्दा सबैभन्दा पहिला मुसा हाम्फाल्छन् । जबकि डुंगाबाट मुसा हाल्फाल्दा पनि डुब्ने नै हो, डुंगा डुब्दा पनि डुब्ने नै हो । यस्ता अकल्पनीय अनुहारहरुले फोनमा फुसफुस गरे कि, ‘उनीहरु भनिरहेका थिए, लेखिएको समाचार गलत थिएन तर समाचार नलेखिदिनोस् ।’ ती महान बुद्धिजीबीहरु, जो केही ज्ञात छन्, केही अज्ञात छन् । साँच्चै मधेशलाई माया गर्छन् कि माफियालाई, कुनै दिन नामसहित लेख्ने नै छु ।

गुगलमा मेडिकल माफिया भनेर खोजियो भने देखिने विशाल पण्डितबारे असारतिर पनि हामीले समाचार लेखेका थियौँ । असारको १० गते नै बाँकी एक सातालाई कोटेसनमा डेंगुको झोल किन्न कर्मचारीलाई दबाब दिएको, नकिने कर्मचारीको सरुवाको धम्की दिएको समाचार लेखेकै हौँ । यो समाचारमा पनि भित्री पाटो यिनै पण्डित थिए । पछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रकरणमा पनि हामीले मुख्यमन्त्रीको रुचि र स्वास्थ्यमन्त्रीको रुचि फरक अनुहार भएको र यसमा पनि मेडिकल माफिया विशाल पण्डितको रोजाइका व्यक्ति आउनेछन् भनेर लेखेका थियौँ । लामो समयसम्म उपकुलपति नियुक्ति गर्न स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले चाहेनन् । जब फागुन २३ गते केन्द्रमा गठबन्धन भत्कियो, अघिल्लो दिनसम्म प्रधानमन्त्रीले रिकापीमा कफीले स्वागत गर्ने कांग्रेस सभापति फ्याँकिए । त्यसपछि मधेशमा कामचलाउ भइसकेका र बर्खास्तमा पर्ने बेला स्वास्थ्यमन्त्रीले उपकुलपति नियुक्त गरे । हामीले जे लेखेका थियौँ, त्यही अनुसार नै नियुक्ति भयो । जुन नैतिक हिसाबले गलत थियो । गइसकेको कुर्सीले यस्तो महत्वपूर्ण निर्णय गर्नु आर्थिक लाभ र चलखेलबाहेक केही थिएन । कांग्रेसकै भौतिक पूर्वाधार मन्त्रालयबाट कांग्रेसका नेता, कार्यकर्ता, ३ पत्रकारका नाममा धमाधम कार्यादेश बाँडिएको समाचार मधेशदृष्टिले छापेको छ । कांग्रेसले खण्डन गरेको छैन । चोकचोतारामा गाली गर्दै हिँडेर र केही चम्चाहरुले फेसबुकमा वान्ता गरेको अभिलेख पत्रिका अफिस, प्रेस काउन्सिल, मधेशका मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणमा पनि पक्कै राख्ने प्रचलन आइसकेको छैन । समाचार गलत थियो भने खण्डन त पक्कै आउँथ्यो, फोन त पक्कै आउँथ्यो ।

यिनै विशाल पण्डितका तीन वटा समाचार लेखिएपछि को रहेछन् त यि भलाद्मी माफिया भनेर एक बिहान फोन गरेँ । रेकर्ड पनि छ । उनले भने, ‘म सोमबारतिर विज्ञप्ति निकाल्छु, पढ्नुहोला ।’ उनले निकालेको विज्ञप्ति पढ्न पाइएन, चम्चाहरुले पनि फेसबुकमा हालेको स्क्रिन सट आएन । सायद पण्डितको विज्ञप्ति निकाल्ने सोमबार पनि आएन । यसपटक मन्त्री छाडेको केही दिनमै पूर्वमन्त्रीले मुख्यमन्त्री भेटेर ज्ञापन पत्र दिनु र विशाल पण्डितले चैँ उजुरीकर्तालाई केही दिन मौन बसिदिनु, काम बन्दैछ, अरु काममा साझेदारी गरौँला भनेको समाचार फेरि मधेशदृष्टिमा छापियो । विभागीय मन्त्रीको कुरा पनि छापिएको छ । मधेशको पैसा हो, मधेशको कर हो । माफियालाई दिउन् कि रोकून् ? तर सेतोलाई सेतो र कालोलाई कालो भन्न कोही कसैको भिड देखेर डराउनु पर्ने दिन आइसकेको छैन । मिडियालाई सबै दबाउन खोज्छन् । अस्ति भर्खर गृहमन्त्री भएपछि रवि लामिछानेको फर्मान पनि पढियो । पत्रकारलाई सिडिओले बयान लिन सक्ने कुरा विरोध गरियो । उनी तुरुन्तै पछि हटे ।

बेथिति र विकृतिमा खोजिखोजी प्रहार गरिरहेका छौँ । तर भन्नैपर्छ, ‘माफियाले नेता बनाउने, मन्त्री बनाउने, कर्मचारी सरुवाबढुवा गर्ने काम त गरिरहेकै छन् । यसको विरोध गर्नु पर्नेमा पदमा पुगेपछि मधेशी जनताको निरीह अनुहार बिर्सेर माफियाको पाउ पर्नु पर्ने बाध्यता के हो मन्त्रीहरुको, मन्त्रीको सचिवालयमा बसेकाहरुको ?’ माफियाको होटलमा साँझको निःशुल्क खाना र एकरात सुताएको भरमा किन हाम्रा मन्त्रीका स्वरहरु माफियाको जस्तै सुनिन थालियो, जाँचपड्ताल जारी छ । समय आएपछि लेखिने नै छ । जनताले पनि धेरै मुखमा पिडालु हालेर बस्ने छैनन् । पिडालु फालेका दिन जनता बोले भने नेताहरुको बोली पक्कै बन्द हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button