
मधेशदृष्टि
वीरगंज, २० वैशाख ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले सिचाइँ समस्या समाधानका लागि तीन विकल्प पहिचानसहित पहल सुरु गरेका छन् ।
मन्त्री कुशवाहाले सतही पानी सिचाइँको व्यवस्थापनसँगै मधेशमा झर्ने ९ ठूला नदी, प्रदेशभित्रका ९४ सहायक नदी, चन्द्र नहरलगायत सबै सानाठूला नहर पहिचान गरी उत्खनन तथा व्यवस्थापन गर्न सके मधेशमा सिचाइँ समस्या नहुने अध्ययनसहित पहल थालेका हुन् ।
संघीय र प्रदेश सिचाइँ मन्त्रालयले गरिरहेको सिचाइँको कामलाई व्यवस्थित गर्दै काम भइरहेको कमला, सुनकोशी मरिण, बागमती, नारायणी सिचाइँ आयोजना अरु व्यवस्थिति बनाउन सके सिचाइँ समस्या समाधान हुन सक्ने मन्त्री कुशवाहाको तर्क छ ।
यस्तै, कृषि विद्युतीकरण भएको भूमिमा सेलो ट्युबवेल र डीप ट्युबवेल जड़ान गर्न सके अरु उपलब्धी हुन सक्छ । अर्को विकल्प सौर्य ऊर्जा सिचाइँ, व्यवस्थापन गर्न सकिने मन्त्री कुशवाहाको धारणा छ । यो काम संघीय ऊर्जा मन्त्रालय, प्रदेश कृषि मन्त्रालयसँगै नागरिक संघसंस्थाले पनि गर्न सक्ने योजना हो र केही काम भइरहेका पनि छन् ।
मधेशलमा सम्भावित सिचाइँ प्रणाली व्यवस्थापनका राष्ट्रिय योजना आयोग, संघीय र प्रदेश सिचाइँ तथा कृषि मन्त्रालय, स्थानीय निकाय र दातृ निकायबीच समन्वय र सहकार्य आवश्यक छ । समन्वय हुँदा मधेश प्रदेशभित्र बिगतमा जति बजेट खर्च भए पनि काम प्रभावकारी नभएको देखिएको छ । मन्त्री कुशवाहाले यसपटक नतिजा आउने गरी काम गर्न पहल गरिरहेको बताएका छन् ।






