
मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय उपत्यकाको बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यतालगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको हो ।
कार्यतालिकाअनुसार वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्नेछ । संगठित सदस्यतामा त्रुटि देखिए वैशाख १५ गतेभित्र सच्याएर १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिने छ । वैशाख १७ देखि २० गतेसम्म संगठित सदस्यतामाथि उजुरी र २१ गतेदेखि २५ गतेभित्र उजुरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ । संगठित पार्टी सदस्यको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ ।
वैशाख ३० गतेदेखि जेठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नुपर्ने तालिका सार्वजनिक गरिएको छ । त्यस्तै, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्न प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनीषकुमार सुमन छन् । पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।






