मधेशमा कहाँ महिला हिंसा मात्रै छ र ?

[mashshare]

‘हरेक महिला सीता होइनन् त्यस्तै हरेक पुरुष पनि रावण होइनन् । महिला सशक्तिकरणका लागि बनाइएका महिलामैत्री कानुनको गलत प्रयोग गर्ने महिलाको संख्या दिनानुदिन बढ्दै छ’

–ज्योति झा
–ज्योति झा

महिला हुन त्यही भएर उनी अबला नै हुन् भन्ने हुँदैन । वा, पुरूष हरेक कुरामा हरेक समय गलत नै हँुदैनन् । पुरूष अहंकारी, अत्याचारी, बलात्कारी मात्र हुन्छन् भन्ने पनि होइन । हामीले आजसम्म आफ्नो टोलछिमेक, रेडियो, पत्रपत्रिकामा महिला हिंसाबारे मात्र सुन्दै र पढ्दै आएका छौँ । हिंसाको कुरा आउनेबित्तिकै हाम्रो मानसपटलमा महिला हिंसा मात्र आउँछ । पीडित महिला र पीडक पुरूष नै हुन्छन् भन्ने सोच्न हामी रत्तिभर समय लगाउँदैनौँ । तर, वास्तवमा महिला मात्र नभइ पुरूष पनि हिंसाका सिकार हुन्छन् । र, अहिले त झन पुरूष हिंसा दिनानुदिन बढ्दै गएको देखिन्छ ।

पुरूष अर्थात् छोरा, जसलाई सानैदेखि जिम्मेवारी बोध गराइन्छ । केटा मान्छे रूनु हुँदैन, तिमी रोयौ भने अन्य सबै हाँस्छन् । तिमीले मेहनत गर्न सिक्नैपर्छ, तिमीमाथि परिवारका सबै सदस्यलाई पालनपोषण गर्ने जिम्मेवारी छ । भोलि त्यही बच्चा ठूलो भएपछि उसलाई जति ठूलो पीडा अथवा समस्या आउँदासमेत ऊ चुप हुन्छ । यहाँसम्म कि ऊ हिंसाको सिकार भइरहँदा पनि चुप बस्छ । उसलाई डर लाग्छ कि यदि कसैसँग आफ्नो पीडा शेयर गरेँ भने समाज, परिवार साथीभाइको बीचमा मजाक बन्छु, उनीहरूले के भन्लान् । यही संकोच र डरले चुपचाप सहेर बस्न बाध्य हुन्छन् पुरूष ।
जसको एउटा प्रत्यक्ष उदाहरण हुन सन्तोष झा । सोनमा गाउँपालिका वडा नम्बर–४ खेसराहाका २८ वर्षीय युवा सन्तोष झा, जो एउटा असल आज्ञाकारी छोरा मात्र नभइ एउटा व्यवहारिक व्यक्ति पनि हुन । बुबा राधेश्याम र आमा मरनीदेविको चौथो सन्तान हुन् सन्तोष । सन्तोष सानैदेखि समझदार थिए । जनता माध्यमिक सोनमाबाट एसएलसी उत्तीर्ण सन्तोषले १२ कक्षासम्म अध्ययन गरे । २०७५ साल फागुन २४ गते सोनमा गाउँपालिकाकै वडा नम्बर–१ का हिरन ठाकुर र नगिना देवीकी छोरीसँग परिवारको रोजाइ र समाजको उपस्थितिमा विवाह भयो । केहीदिन मात्रै सन्तोष पत्नीसँग सन्तोषजनक अवस्थामा रहे । किन न होस् भर्खर २४ लागेको केटो जसको बिहे हुन्छ, उसको हजारौँ सपना हुन्छ । सपनाको आफ्नै संसार हुन्छ ।

समय बित्दै जाँदा केहीदिनमै सन्तोषलाई भित्रभित्रै पत्नीको दबाब, प्रभाव र तनाव बढ्दै गयो । तिमी आमाबुबासँग टाढा बस, नत्र म तिमीसँग बस्दिनँ । तिमी जे गर जसरी गर, तर मलाई पैसा चाहियो, गहना चाहियो, मेरो नाममा जग्गा चाहियो जस्ता थुप्रै डिमान्ड हुन थाल्यो । विस्तारै सन्तोषको तनाव बढ्न थाल्यो । अलिकति केही कुरामा बहस हुन्थ्यो कि स्वास्नी माइत गइहाल्थिन् । जे जति पैसा हात लाग्थ्यो सबै लिएर माइत गएर बस्थिन् । तर पनि सन्तोषले वैवाहिक जीवन बचाउन सब कुरा नजरअन्दाज गरे । र, पीडा मनभित्रै दबाए । सन्तोषलाई आशा थियो कि पत्नीले बुझ्दै जान्छिन्, साथ दिन्छिन् । तर, त्यस्तो केही भएन ।

विवाहका केही वर्षमै उनीहरुको एउटा छोरा भयो । र, बच्चाको बुबा भएपछि अझ आफ्नो सन्तानको मायाले सन्तोष र पत्नीबीच भइरहेको विवाद उनले नजरअन्दाज गर्दै गए । दिनहुँ झगडा र तनाव हुन्थ्यो । अलिकति केही हुँदा दाइ बोलाएर माइत गइदिने, प्रायः माइतमै बस्ने निरन्तरता चल्न थाल्यो । सन्तोषको गाउँ सोनमामा हार्डवेयरको पसल छ । उनको कमाइ पनि राम्रै छ र उनले पत्नीका हरेक चाहना पूरा गरेकै थिए । तर, एउटा कुराको विवाद उनीहरूबीच सुरुवातदेखि नै रह्यो ।

सन्तोषले परिवार छाड्नु पर्ने कुराको विवाद दिनानुदिन बढ्न थालेपछि पत्नीलाई पनि माइती त्याग्न आग्रह गरे । यही कुराका विवाद बढ्दै गयो । एकरात सासु मरनीदेवीले बुहारीलाई खाना पकाउन भनेपछि दुवैबीच विवाद भयो र बुहारीले सासुलाई झापड लगाइदिइन् । यस्तो घटना हेरेर सन्तोषले आफूलाई रोक्न सकेनन् । सायद संसारका कुनै पनि छोराले आमालाई उसको स्वास्नीले कुटेको हेर्न सक्दैन । सन्तोषले स्वास्नीलाई गाली गर्दा दुवैको चर्काचर्की भयो र रिसमा सन्तोषले स्वास्नीको कपाल समाते । तर उनलाई यो कुराको पनि ध्यान थियो कि उनकी स्वास्नी गर्भवती छिन् । उनले आफूलाई नियन्त्रित गरेर आवेश शान्त पारे । बिहानपख सन्तोषले रातिको घटना बिर्सिसके । तर उनकी पत्नीको मनमा आगो लागेको थियो । उनी पसलमा गएर त्यहाँबाट कसैसँग नसोधी २ लाख रुपैयाँ निकालेर दाईलाई बोलाएर माइत गइन् ।

केहीदिनअघि नै सन्तोषले पत्नीका नाममा जग्गा किनेका थिए । पत्नीको जिद्दी अगाडि मजबुर सन्तोषले ठूलो दाइ, बुबा र साथीसँग केही रकम सापटी लिएर १८ लाखमा जग्गा किनेर स्वास्नीको नाममा पास गरेका थिए । स्वास्नी माइत गइसकेपछि केही समयपश्चात् सन्तोषलाई थाहा भयो कि स्वास्नी पैसा लिएर माइत गएकी छिन् । पैसा लिन उनी ससुराली पुगे । त्यहाँ दुवैबीच पैसाका कारण चर्काचर्की भयो । त्यहक्रममा सन्तोषका सालोले उनीमाथि कुटपिट गरे । सासु, ससुरा, स्वास्नी र सालो मिलेर सबैले सन्तोषलाई निर्घात कुटे । स्वास्नीले त झन घाँटी नै थिचिन् । रगतले लतपत सन्तोषको लुगा स्वास्नीले कैँचीले काटेर हटाइदिइन् । र, बेवारिसे लाश जस्तो घरको आँगनमा सन्तोषलाई छाडे । छिमेककै एक व्यक्तिले सन्तोषलाई हेरेपछि उनको दाइलाई फोन गरे ।

सन्तोषको दाइ त्यहाँ पुग्दा उनी अचेत थिए । दाईले गाडी मगाएर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याए । बाटोभर रगत र बान्ताले सन्तोषको अवस्था गम्भीर थियो । सिटीस्क्यान गर्दा सन्तोषको टाउकोको हड्डी ३४ टुक्रामा विभाजित भएको पाइयो । चिकित्सकले उनलाई त्यहाँबाट रिफर गरिदिए । सन्तोषलाई जनकपुरकै न्यूरो अस्पतालमा ल्याइयो । त्यहाँ सन्तोषको उपचार सुरु भयो । ५ घण्टा लामो शल्यक्रियापश्चात् सन्तोष खतरामुक्तको खबर आयो ।

यतिसम्म हुँदा पनि सन्तोषकी पत्नीलाई कुनै फरक परेन । पतिको यस्तो अवस्था हेरे पनि उनको मनमा अलिकति पनि मानवीय भावना जागेन । जबकी एउटा छोरा करिब ३ वर्षको र अर्को बच्चा पेटमा थियो । लोग्नेको माया नलागे पनि आफ्नो बच्चाको बुबाको माया त हुन्थ्यो, त्यो पनि भएन । सन्तोष आइसियुबाट बाहिर त आए तर उनको दाहिने हाथ खुट्टा बेकाम भयो । उनी बोल्न त बोल्थे तर मनभित्र धेरै पीडा थियो उनको । उनले आफूलाई कुटपिट गर्ने दोषीमाथि सजाय हुनुपर्ने भन्दै भकानिन्थे ।

सन्तोष जस्ता धेरै पुरुष छन् सामाजमा जो वास्तविक पीडित छन् । कोही इज्जतका डरले चुप छन् त कोही परिवारका कारण चुप छन् । तर, धेरै यस्ता पुरुष पनि छन्, जो मानसिक, शारीरिक र आर्थिक रुपमासमेत पीडित छन् ।
विडम्बना त के छ भने महिलामाथि हुने हिंसा सुनिदिने थुप्रै निकाय छन् । तर, पुरुषका विषयमा न त पुरूष नै खुलेर आउँछन्, न त पुरुष अधिकारको विषयमा आवाज उठाउने त्यस्ता संघसंस्था नै छन् ।

सन्तोषलाई कुटपिट गर्नेमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरियो । सन्तोषको सासु नगिना देवी र ससुरा हिरन ठाकुरलाई प्रहरीले हिरासतमा लियो । तर सालो अझै फरार छ । अहिलेसम्म प्रहरीले समात्न सकेको छैन । घटनामा ‘सोर्सपावर’ लगाउने र पैसाको खेलाबेला गर्नेको पनि कमी छैन । हुन त सन्तोष अब घर आइसकेका छन् । उनी बहिनीको घरमा बसेर उपचाररत छन् । उनको स्वास्थ्य अवस्थामा पूर्णरुपले सुधार भइसकेको छैन । बिहान बेलुका उनको फिजियोथेरापी चलिरहेको छ । सन्तोष बोल्न थालेका छन् ।
सन्तोष जस्ता धेरै पुरुष छन् सामाजमा जो वास्तविक पीडित छन् । कोही इज्जतका डरले चुप छन् त कोही परिवारका कारण चुप छन् । तर, धेरै यस्ता पुरुष पनि छन्, जो मानसिक, शारीरिक र आर्थिक रुपमासमेत पीडित छन् ।
विडम्बना त के छ भने महिलामाथि हुने हिंसा सुनिदिने थुप्रै निकाय छन् । तर, पुरुषका विषयमा न त पुरूष नै खुलेर आउँछन्, न त पुरुष अधिकारको विषयमा आवाज उठाउने त्यस्ता संघसंस्था नै छन् । नेपालमा पुरूष शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा महिलाबाट पीडित हुने गरेको भन्दा अतिशयोक्ति नहोला ।

जस्तै, हरेक महिला सीता होइनन् त्यस्तै हरेक पुरुष पनि रावण होइनन् । महिला सशक्तिकरणका लागि बनाइएका महिलामैत्री कानुनको गलत प्रयोग गर्ने महिलाको संख्या दिनानुदिन बढ्दै छ । केही अधिकारकर्मी पैसाकै लागि गलतका साथ जानेर भए पनि दिएकै छन् । जुन कसैसँग लुकेको छैन ।
महिला अधिकार र महिलामाथि आँखा बन्द गरी यति विश्वास गरिन्छ कि यसको परिणाम अहिले विचरा केही पुरुषलाई गाह्रो बनाइदिएको छ । देशमा हिंसा जहिले पनि पुरुषले महिलामाथि मात्र गर्छन् भन्ने मानसिकता छ । महिला गल्ती गर्दैनन्, महिला भनेकै सहेर बस्ने, समझदार प्राणी भन्ने आमबुझाइ छ । तर, हेप्ने होच्याउने ठाउँ आयो भने महिलाले बाँकी राख्दैनन् । प्रेमका नाममा पनि कति पुरुष पीडित छन् । मन मिलेसम्म प्रेम, नमिलेपछि बलात्कार, त्यसपछि जेल, क्षतिपूर्ति । यस्ता कैयौँ उदाहरण त हाम्रै आँखा अगाडि देखिएकै छन् । अहिले महिला भन्दा पुरूष बढी त्रासमा छन् । उनीहरूलाई डर लाग्छ कि कसैले फसाइदेलान् । विचरा ती पुरुषलाई पत्याउने कोही हुँदैनन् । उनलाई न्याय दिने कोही छैनन् । र, त्यसमा पनि जोसँग पैसा र पावर छ, त्यसकै हातमा प्रहरी, प्रशासन, न्याय, कानुन एवम् हूलका हूल जनता पनि छन् ।

(झा, जनकपुरमा क्रियाशील पत्रकार हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button