
वीरेन्द्र रमण
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै लगातार नेतृत्व गर्दै आएका यादव जनकपुरधाममा जारी राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो ।
२०६२–६३ मा भएको मधेश आन्दोलनपूर्व उपेद्र यादव मधेशमा त्यति परिचित अनुहार थिएनन् । मधेश आन्दोलनपछि एकाएक मधेशको राजनीतिमा उदाएका हुन् उपेन्द्र यादव । मधेश आन्दोलनपूर्व स्वतन्त्र वामपन्थी बुद्धिजीबी मधेशी अधिकारका लागि गैरसरकारी संस्था मधेशी जनअधिकार फोरम स्थापना गरेर यादव अध्यक्षका रुपमा क्रियशील थिए । मधेश आन्दोलनका बेला गठन भएको मधेशी जनअधिकार फोरम नेपाल र हालको जनता समाजवादी पार्टी नेपालको रुपमा यात्रासम्ममा मधेशको राजनीतिमा मात्रै केन्द्रमा रहने उपेन्द्र पार्टीको केन्द्रमा पनि कामयाव रहेका छन् ।
मधेश आन्दोलनकै आलोकमा उपेन्द्र यादव नेताका रूपमा स्थापित भएका हुन् । मधेश आन्दोलनले नै मधेशी जनअधिकार फोरम मजबुत बनेको हो । पछि निर्वाचन आयोगमा दर्ता भएपछि राजनीतिक शक्तिका रूपमा फोरम र यादवको राजनीतिक चरित्र उदायो । संविधानसभा निर्वाचनसम्म फोरम दलका रूपमा दर्ता भयो । अनि निर्वाचनमा मधेशी–पहाडी सबैको पार्टी बन्न सफल भयो । संविधानसभामा चौथो ठूलो पार्टीका रूपमा ५२ स्थान हासिल गरेपछि यादवको राजनीतिले राष्ट्रिय रुप लियो । त्यसपछि सत्ताका लागि नै पार्टी विभाजन हुने क्रम शुरु हुँदा उपेन्द्र कमजोर देखिए पनि उनले कहिल्यै पनि पार्टी अध्यक्षबाट विमुख हुनु परेन । नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएर नेताहरुले पार्टी कमजोर बनाएको आरोप लगाए पनि उपेन्द्रको अस्तित्व स्वीकार गर्न बाध्य पारिरहे । उनलाई छाडेर गएकाहरु पनि मधेश र राष्ट्रिय राजनीतिमा कमजोर नै सावित हुँदा उपेन्द्रको दिन बलिरह्यो ।
पछिल्लो समय अशोक राईसँग पार्टी एकता गर्दा वा महन्थ ठाकुरसँग पार्टी एकता गरेर जसपा नेपाल निर्माण गर्दासम्म उपेन्द्र पार्टी अध्यक्षकै जिम्मेवारीमा रहे । उपेन्द्रलाई टक्कर दिनेहरु पार्टी छाडेर नयाँ पार्टी बनाएर गए त केही पार्टीमै कमजोर बनेर बसे । पछिल्लोपटक नेतृत्वमा उपेन्द्रलाई टक्कर दिने तयारी अशोक राई समूहको थियो तर उनले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाएपछि उपेन्द्र यसपटकसमेत सर्वसम्मतरुपमा पार्टी अध्यक्ष बनेका छन् । उपेन्द्र यादव २०६१ सालदेखि २०७२ सालसम्म मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष थिए भने पार्टी गठन हुँदासमेत उनी नै अध्यक्ष थिए ।
त्यसपछि अशोक राईसँग एकतापछि बनेको संघीय समाजवादी फोरमको २०७२ सालदेखि २०७५ सालसम्म अध्यक्ष भए । त्यसैगरी समाजवादी पार्टी बन्दा समेत उपेन्द्र अध्यक्ष नै बनेका थिए । जो २०७५ साल देखि २०७६ सम्म थियो । उनी २०७८ देखि हालसम्म जनता समाजवादी पार्टीका अध्यक्ष छन् । विभिन्न पार्टीसँग एकता गरेर जनकपुरमा आयोजना गरिएको एकताको महाधिवेशनबाट समेत अध्यक्ष पदमा यादव सर्वसम्मत चयन भएका छन् ।
यादवको राजनीतिक पाइलाचाहिँ विसं २०३२ सालतिरै अघि बढेको हो । त्यतिबेला झापा आन्दोलनको उभारले ढपक्कै छोपेको थियो । त्यतिबेला उनी पुष्पलाल समूहको अनेरास्ववियूमा संलग्न भए । त्यसरी उत्प्रेरित गर्ने तत्वचाहिँ गरिब र विपन्न वर्गलाई उठाउनु पर्छ भन्ने चेतना थियो । विसं २०३५ मा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको चौवन्नी सदस्यता लिए । त्यसपछि पनि उनले विद्यार्थी राजनीति छाडेनन् । त्यतिबेला अखिल प्रतिबन्धित थियो । उनले भूमिगतरूपमा काम गरे । विद्यार्थी राजनीति हुँदै यादव जनमत संग्रहमा सक्रिय भए ।
तर, जनमत संग्रहसँगै अखिल विभाजित भयो । उनी प्रगतिशील विद्यार्थी युनियनको दुई कार्यकाल उपाध्यक्ष भए । विसं २०४६ सालमा उनी नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा सामेल भए । उनी काठमाडौँमा गिरफ्तारमा परे । उनले केन्द्रीय कारागारमा एक वर्ष बिताए । त्यतिबेला उनीसँग प्रदीप गिरी, दमननाथ ढुङ्गाना, मार्सलजुलुम शाक्य, गोपालप्रसाद भट्टराईलगायत कांग्रेसी नेताहरू थिए । पछि पुष्पलाल समूहको अध्यक्ष सहाना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (माक्र्सवादी) बन्यो । उनले कोशी अञ्चल कमिटीमा रहेर काम गरे । त्यसको इन्चार्ज भरतमोहन अधिकारी थिए ।
विसं २०४६ सालको आन्दोलनमा यादव विराटनगरमा गिरफ्तारमा परे । उनलाई धनकुटा लगियो । प्रजातन्त्र पुनःस्थापनापछि उनी छुटे । लगत्तै नेकपा माले र माक्र्सवादीबीच एकता भयो र एमाले बन्यो । विसं २०४८ सालमा यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)ले सुनसरी–४ बाट उम्मेदवार बनायो । उनले जित्न सकेनन् । त्यसपछि उनलाई पार्टीले सुनसरी र मोरङको जिम्मेवारी सुम्पियो ।
उनले २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्था गठन गरेर मधेशी अधिकारको कुरा गरेर सामाजिकरुपमा राजनीतिक सक्रियता बढाए । त्यस समय उनले अध्यक्ष बनेदेखि हालसम्म विभिन्न नामले एकता र निर्माण भएको पार्टीमा उनको अध्यक्षको पगरी कसैले खोस्न सकेका छैनन् । जसले खोस्न खोजे, उनीहरुको राजनीतिक सकिएको छ । यसपटक भने उनको पार्टीलाई सरकारले नै फुटाएकाले राजनीतिकरुपमा उनी कमजोर बनेका छन् । कमजोर भएको अवस्था, ६ वर्षपछि मधेश सरकारबाट पनि बाहिरिएको अवस्थामा महाधिवेशन नै गरेर निर्विकल्प अध्यक्ष बनेका यादवको राजनीति र पार्टी अब कसरी अघि बढ्छ, त्यो भने मधेश र देशको पनि चासो बनेको छ ।






