
वीरेन्द्र रमण
जनकपुरधाम ।
धनुषाका प्रवीणकुमार महतो र धनुषा, चक्करकै युवतीबीच प्रेम सम्बन्ध थियो । दुवैबीच निकै लामो प्रेम सम्बन्धपछि अभिभावकले युवतीलाई अर्को ठाउँमा विवाह गर्ने तयारी गरेपछि युवती आफ्नो प्रेमिकासँग भागेर काठमाडौ विवाह गरेर बस्न थालिन् । यता अभिभावकले महतोलाई अपहरण र बलात्कारको मुद्दा दर्ता भयो ।
यस्तै, धनुषाकै सन्तोषकुमार महरा र सँगै विद्यालयमा पढ्दै आएकी युवतीबीच प्रेम सम्बन्ध थियो । दुवै जनकपुर आए । जानकी मन्दिर दर्शन गरे, होटलमा समेत केही घण्टा बिताए । उनीहरुको यौनसम्बन्धको फोटोसमेत मोबाइलमा खिचे र दुवैबीचको प्रेम सम्बन्ध अभिभावकले थाहा पाएपछि मोबाइलमा तस्बिरसमेत भेटिएपछि अभिभावकले युवतीको प्रेमीमाथि बलात्कारको मुद्दा दर्ता भएको छ । प्रहरीले दुवै मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढायो । प्रतिवादी भनिएकाहरु कारागार चलान भए ।
मधेशका यी दुई घटनाले प्रेम सम्बन्धलाई कसरी बलात्कारका रुपमा मुद्दा दर्ता हुने गरेको छ, त्यसको उदाहरण प्रस्तुत गरेको छ । फौजदारी अपराध संहितामा उमेर नपुगेर गरिने यौन सम्बन्धलाई समेत बलात्कारको श्रेणीमा राखेपछि त्यसको प्रयोग गर्दै मधेशमा बलात्कारको घटनाको मुद्दा दर्ता गराउने युवालाई सजायसम्म हुने गरेको छ । यसले तराई मधेशमा प्रेम सम्बन्धमा हुने यौनसम्बन्धसमेत अपराधको श्रेणीमा राखिएपछि तराई मधेशमा बलात्कारको घटनामा वृद्धि भएको देखिएको छ ।
मधेश प्रदेशमा एक मात्र बालसुधार गृहमा समेत राखिएकामध्ये धेरैजसो बलात्कार घटनाका आरोपी नै रहेका छन् । बाल सुधारगृहमा रहेको बालकैदीको संख्या हेर्ने हो भने धेरैजसो बलात्कारकै मुद्दाका छन् । जसमध्ये जबर्जस्ती करणीका ४५, सामुहिक जबर्जस्ती करणीको १, हाडनातामा जबर्जस्ती करणीको १, जबरजस्ती करण उद्योगमा ३, बालविवाह र जबर्जस्ती करणीका १, अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीका २ छन् । जसमध्ये धेरैजसो कम उमेरमा प्रेम गर्दा र शारीरिक सम्बन्ध गाँसेका कारण सजाय पाएका हुन् ।
त्यसैगरी, तराई मधेशमा रहेका कारागारमा समेत बलात्कारका मुद्दाका कैदीबन्दी छन् । पर्सा कारागारमा जबर्जस्ती करणीका १ सय १९ कैदी, ७० थुनुवा, महोत्तरीमा कैदी १५, थुनुवा १ सय ९, सर्लाहीमा कैदी १९, थुनवा १६, रौतटहमा कैदी ३३, थुनुवा १४ बलात्कारकै छन् । संघीय संसद प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले गरेको विभिन्न कारागारको अनुगमन प्रतिवेदनमा समेत बालसुधार गृहमा रहेका बालकैदीलाई चेतना अभाव र विद्यमान सजायको विषयमा पुनरावलोकन गरिनुपर्ने राय दिइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘बालसुधार गहृको स्थगलतगत अनुगमनक्रममा जबर्जस्ती करणी मुद्दामा समेत बालकैदी रहेको पाइएको, बालकैदीसँग अन्तर्वार्तामा समेत आफूलाई जबर्जस्ती करणीबारे जानकारी नभएको र सामान्य लहलहैमा यस्तो कार्य गर्न पुगेको भन्ने जवाफ प्राप्त भयो । बालबालिका भोलिका मुलुकमा लागि आवश्यक जनशक्ति रहेको हुनाले तीनहरुलाई बालसुधार गृहमा राखेर आपराधिक मानसिकता विकास गर्नु भन्दा स्वस्थ वातावरणमा हुर्किने व्यवस्था गर्नुपर्ने उपयुक्त हने देखिन्छ । अतः यस्ता कम उमरेका बालकैदीका विद्यमान सजायका सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने देखिन्छ । त्यसैगरी, प्रतिवेदनमा भनिएको छ, ‘तराईका जिल्लामा अधिकांश १६ वर्षसम्ममा विवाह हुने प्रचलन छ तर नेपालको कानूनमा २० वर्षसम्म नाबालिका हुने, सहमतिमै यौनसम्पर्क भएपछि बलात्कार ठहर हुने कानूनी प्रावधान रहनुले नेपालका कानूनहरु सामाजिक र तथ्यअनुसार नभएको प्रष्ट देखिन्छ ।’
तराई मधेशमा केही समय यता आएर बलात्कारको घटना बढेको प्रहरी र जिल्ला अदालतमा दर्ता हुने मुद्दाको संख्याले देखाएको छ । जसमध्ये धेरैजसो प्रेम सम्बन्धकै आधारमा अभिभावकले दर्ता गराउने गरिएको छ । अधिवक्ता राजकुमार महासेठले कानूनमा उमेर नपुगेको अवस्थामा गरिने शारीरिक सम्बन्धलाई समेत करणीको श्रेणीमा राखिएका कारण बालबालिकाबीचमा प्रेम सम्बन्धलाई अभिभावकहरुले स्वीकार नगर्दा धेरैजसो मुद्दा यसैखालको आउने गरिएको बताए । उनले कानूनमा उल्लेख भएको आधारमै यसको अनुसन्धान हुने गरिएको र उमेर नपुगेको अवस्थामा मुद्दा सजाय हुने गरिएको बताए ।
यस्तै खालको राय अधिकारकर्मी राजु पासमानको समेत छ । उनले समेत आपराधिक सोचका आधारमा गरिने बलात्कारको घटना थोरै रहने गरिएको धेरैजसो घटना भने प्रेमलाई समाजमा स्वीकार नगरिने गरिएका कारण अभिभावकहरुले दर्ता गराउने गरिएको र यसलाई कानूनले जुन रुपमा परिभाषित गरेको छ, त्यसअनुसार नै दर्ता र सजाय हुने गरिएको बताए । जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता डिएसपी रञ्जन अवाले समेत आफूहरु कहाँ कानूनी आधारमा जाहेरी लिएर आउँदा दर्ता गर्ने र मुद्दा चलाउने गरिएको जिकिर गर्दै धेरैजसो जबर्जस्तीका घटना प्रेमसँग जोडिएको हुने गरिएको तर कानूनअनुसार जे व्यवस्था गरिएको छ, त्यही व्यवस्थाअनुसार आफूहरुले अनुसन्धान र मुद्दा चलाउने गरिएको बताए ।
मधेशका कारागारमा जबर्जस्ती करणी मुद्दाका कैदी र थुनुवा
पर्साः कैदी ११९, थुनुवा ७०
महोत्तरीः कैदी १५, थुनुवा १०९
सर्लाहीः कैदी १९, थुनुवा १६
रौतहटः कैदी ३३, थुनुवा १४
बालसुधार गृहः ४५






