जसपा महाधिवेशन

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
जनता समाजावादी पार्टी (जसपा) नेपालको एकताको महाधिवेशन जनकपुरमा शुरु भएको छ । स्थानीय तिरहुतिया गाछीमा शुरु भएको महाधिवेशन उद्घाटनमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र नेताले सफलताको शुभकामना दिए । उद्घाटन सत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘जुन देशमा दुई तिहाई नागरिक उत्पीडनमा परेका छन्, त्यो मुलुकले कहिले पनि विकास गर्न सक्दैन ।’ उनले उत्पीडनमा पारिएका समुदाय धेरै भएको मुलुक कहिले पनि विकासको पथमा अगाडि बढन नसक्ने बताउँदै यसको प्रत्यक्ष उदाहरण नेपाल रहेको बताए ।

यादवले नेपालको विकासका लागि चाहिने आवश्यक पूर्वाधार र आर्थिक उन्नति भरिपूर्ण हुँदाहँुदै पनि विकास हुन नसक्नुको कारण नै उत्पीडन भएको बताए । यादवले भने, ‘हामी किन विकास गर्न सकिरहेका छैनौँ भने मुलुकमा जनजाति शोषणमा छन, दलित छुवाछुतको सिकार छन्, केही शासक वर्ग मोटाएका छन्, उनीहरुले भ्रष्टाचार गरेर मोटाएका छन्, यो समाप्त नभएसम्म मुलुक समृद्ध बन्न सक्दैन ।’

यादवले आफनो पार्टीको मूल लक्ष्य नै उत्पीडनमा परेका समुदायको अधिकार स्थापित गर्न भएकाले शासकहरुको तारो आफ्नो पार्टी बन्दै गए पनि कार्यकर्ताको आत्मविश्वासले पार्टीलाई अझ बलियो बनाएको बताए । उनले भने, ‘अहिले देखिएको लुट्तन्त्र समाप्त गरेर समावेशी लोकतन्त्र स्थापना गरेर मुलुकलाई उन्नति र विभेदमुक्त बनाएर समृद्धिको बाटोमा लैजानु पर्नेछ ।’

अध्यक्ष यादवले जो पछाडि पारिएका छन्, उनीहरुलाई समेत अवसर र अधिकारमा समान रुपमा दिनुपर्नेमा जोड दिए । उनले सबैको सहभागिताले मात्रै समुन्नत राष्ट्रको परिकल्पना गर्न सकिने बताउँदै यसले मुलुकलाई समृद्ध बनाउने बताए । उनले आफूहरुको संघर्ष नै विभेद र असमानता हटाउनका लागि भएको बताउदै विभेद र असमानता रहेसम्म कुनै पनि मुलुकले विकास गर्न नसक्ने बताए । यादवले मधेशको जनताको बलिदानीबाट नै मुलुकमा समावेशी गणतन्त्र स्थापना भएको बताउँदै बलिदानीबाट आएको उपलब्धी रक्षा गर्ने दायित्वसमेत आफ्नो काँधमा रहेको बताए । उनले भने, ‘मधेश आन्दोलन नभएको भए मधेशका जनताले यतिको संख्यामा बलिदानी नगरेको भए मुलुकमा समावेशी गणतन्त्रसमेत आउँदैन थियो ।’

‘उपेन्द्रजीले खुट्टा कमाउनु भएन’
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनता समाजवादी पार्टी नेपाल चुनौतीका बीच उभिएको बताउँदै चुनौतीबाट नै अगाडि बढ्न सकिने बताए । उनले भने, ‘चुनौती बीच जसरी उपेन्द्रजीले खुट्टा कमाउनु भएन, त्यो नै सफलताको बाटो हो, विचार, मन र बाटो प्रष्ट छ भने गन्तव्यतिर जान सकिने छ ।’ जनताका सबै समस्या विभेद, आर्थिक असमानता समाप्त गर्दै समाजवाद स्थापना गर्ने संविधानमा नै लेखिएकाले सबै राजनीतिक दलहरु यसैको बाटोमा हिँडनुपर्नेमा उनले जोड दिए ।

उनले मधेशले नेपालको परिवर्तनमा महत्वपूर्ण योगदान रहेको कारण सबैलाई एकता भएर बहुजातीय, बहुभाषिक र बहुजातीय एकता कायम गरेर देश बनाउन सकिने बताए । उनले भने, ‘महिलालाई विभेदबाट मुक्त गर्न सकियोस्, दलितलाई छुवाछुतबाट मुक्त गराउन सकियोस्, मुस्लिमलाई एक भएर लैजाने भन्नेमा सबै मिलेर एकजुट भएर अगाडि बढ्दै गर्व गर्न सकियोस् ।’ नेपालले सम्पदाले भरिपूर्ण देश भएकाले सोहीअनुसार यसलाई अगाडि बढाएर पर्यटकीय विकासको आधार खडा गरेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । उनले भने, ‘हामी मिलेर अगाडि बढे जस्तोसुकै चुनौती सामना गर्न सकिन्छ ।’ नेपालले विचार र गतव्य ठीक छ भने एकदिन सबै चुनौती समाधना गर्दै लक्ष्य प्राप्त गर्न सकिने बताए ।

अरुको पार्टी फुटाएर आफू ठूलो ?
नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरुङले आफ्नो पार्टीलाई बलियो बनाउन जनतालाई विश्वास जित्नुको सट्टा अरुको घर भत्काएर आफनो घर ठूलो बनाउने कार्य गलत भएको बताउदै केही राजनीतिक दल अरुको पार्टी फुटाएर आफ्नो पार्टी ठूलो भयो भन्ने गर्व गर्ने गरेको बताउँदै यो गलत रहेको बताए । उनले दलहरुबीच सहअस्तित्व, स्वच्छ, प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको बताउँदै केही राजनीतिक दलहरु आफ्नो निहित स्वार्थका लागि अरु पार्टीलाई समाप्त गर्ने गरेको बताए । उनले भने, ‘गरिबी र अभाव, रोगविरुद्ध लड्न सहकार्य आवश्यक छ तर हामी समस्याहरुका बीचमा सहकार्य आवश्यक छ भन्ने तर अरुको दल समाप्त पार्नका लागि सहकार्य गर्छौँ, त्यो गलत छ ।’

गुरुङले मुलुकमा देखिएका तमाम समस्या समाप्त पार्न एकता आवश्यक रहेको समय एकअर्काको अस्तित्व नै नस्वीकार गर्ने नेपालको राजनीतिक परिपाटी गलत भएको बताए । गुरुङले मधेश र पहाडका सम्बन्ध दुवै आँखा जस्तो हुनुपर्ने बताउँदै मधेश रुँदा पहाड रुनु पर्ने, पहाड रुँदा मधेश रुनु पने र त्यो भए मात्रै देश बलियो बन्ने बताए । उनले मुलुक कमजोर भएको खण्डमा कसैलाई हित गर्न नसकिने बताए ।

संरचनागत विभेद हटाऔँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सरंचनागत विभेद संविधानलाई टेकेर भएर पनि समाधान गर्नुपर्नेमा जोड दिए । उनले जनतालाई सुशासन र समृद्धि दिन सकेनौँ भने जस्तोसुकै क्रान्तिमा पनि पनि प्रतिकान्ति आएको बताए । उनले आफू योजना आयोगमा आउँदा विकासको आधार मात्रै सडक र भौतिक विकास नभएको बताउँदै यसका लागि मधेशलाई फरक दृष्टिकोणले हेर्नुपर्छ भन्दा त्यो बेला सोचेर योजना निर्माण गरेको बताए । उनले आफ्नो पार्टी हरेक प्रकारको विभेदका विरुद्ध रहेको बताउँदै आफ्नो पार्टी कुनै पनि संरचनागत विभेदको विरोधमा रहेको बताए । वाग्लेले भने, ‘संविधान अहिले सबैभन्दा बढी समावेशी छ, यदि कतै यसमा समस्या छ भने त्यसैलाई टेकेर भए पनि यसमा सुधार गर्नुपर्छ ।’

‘जसपा सामान्य दुर्घटनामा परेको हो’
नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले जसपाको जीवनमा सामान्य दुर्घटना भएको र यसलाई लिएर आफूलाई दुःखसमेत लागेको बताए । उनले जसपाको पक्षमा नेपालको श्रमिक जनता रहेको भन्ने महाधिवेशनमा उपस्थितिले देखाएको बताए । उनले भने, ‘नेपालमा सामन्तवादलाई तोडेर सापेक्षित ढंगले नेपालमा गणतन्त्र र संघीयतामा आएको छ, माओवादीले सामन्त समाप्त पार्न जसरी युघ गरे, त्यसी नै मधेशको जनताले संघीयता ल्याउनका लागि योगदान दिएका छन् ।’

उनले नेपालमा श्रमिक र किसानको सत्ता चाहिएको तर यसमा आफूहरु सफल हुन नसकेको बताउँदै अहिले लडाइँ जारी रहेको र आन्दोलनकारीलाई अहिले अपराधीकरण गर्ने षड्यन्त्र भइरहेको बताए । विप्लवले राजनीतिक स्थायित्व नआएका कारण नै आमजनतामा ठूलै भ्रमको अवस्था रहेको बताउँदै आमजनता मन्त्रीसम्मको नाम थाहा नभएको अवस्थामा रहेको बताए । उनले यसका लागि सबै राजनीतिक दलमा समस्या रहेको र यसको जिम्मेवारी सबै राजनीतिक दलले लिनुपर्नेमा जोड दिए ।

मधेशमा सिँचाई चाहियो
नेकपा एमालेका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले मधेशको विकासमा धेरै काम भएको बताउँदै अहिले पनि मधेशको विकासमा धेरै बाँकी रहेको बताए । उनले मधेशको विकासका लागि आफ्नो पार्टी सरकारमा हुँदा धेरै काम गरेको बताउँदै सिँचाई, बाटोघाटो निर्माण र शिक्षाक्षेत्रमा धेरै सुधारका काम गरेको बताए । उनले भने, ‘सिँचाई सुविधा मधेशमा पुर्याउन सकेको खण्डमा मधेश अन्नको भण्डार बन्न सक्ने बताउँदै यसतर्फ सरकारले धेरै काम गरिरहेको जिकिर गरे । श्रेष्ठले परनिर्भरता हटाउन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसका लागि मधेशको खेतमा पानी पुर्याएर मधेश मात्रै होइन, नेपालका हरेक जिल्लामा यहाँका उत्पादन पुर्याएर नेपाललाई समृद्धिको बाटोमा अग्रसर गराउन मधेशले भूमिका खेल्न सक्ने बताए ।

संघीयता टिक्न सक्दैन कि ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी विभाजन हुँदा आफ्नो अस्तित्व नै कमजोर बन्ने गरेका कारण पार्टी कमजोर भएको खण्डमा लोकतन्त्र बलियो बन्न नसक्ने बताउँदै पार्टी विभाजन हुनु कुनै पनि हिसाबले सुखद नभएको बताए । उनले कुरा जे जस्तो भए पनि राजनीतिक अस्थिरता रहेको बताउँदै संघीयताले उन्नतिको मार्ग नआएको बताए । उनले सानो मुलुकमा संघीयता टिक्न नसक्ने बताउदै यसले मुलुकको विकासमा समस्या आउने बताए ।

पुनर्मूल्यांकन गरेर अगाडि बढौँ
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले परिवर्तनका लागि हामीले जुन आन्दोलन गरेका थियौँ, त्यो अहिले पनि अपूरो रहेकाले यसलाई पूरा गर्ने दायित्व आएको बताए । उनले अधिकारसम्पन्न प्रदेश बनाउने कुरा गरे पनि संविधान र परिवर्तनको कुरा गर्ने दलहरुले धोका दिएको बताए । सोनलले अधिकार र पहिचानसहितको मधेश चाहिएको बताउँदै यसका लागि मधेशकेन्द्रित दलहरुले आफूलाई पुनर्मूल्यांकन गरेर अगाडि बढ्नु पर्ने बताए ।

लोसपा मित्रशक्ति, जनमतबारे मौनता
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मित्रशक्तिका रुपमा व्याख्या गरेको छ भने मधेशमा उदाएको जनमत पार्टीबारे मौन देखिएको छ । जसपा, नेपालले लोकतान्त्रिक समाजवादी पार्टीलाई मित्रशक्तिको रूपमा चित्रित गरेको छ । लोसपा, नेपाल समावेशीता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी भएको बताइएको छ ।

यो पार्टीसँग हाम्रा केही एजेण्डा मिल्छन् । तर यो पार्टी देश र जनताको हितमा आफ्नो निर्णय आफैँ लिन सक्दैन, अर्काको मुख ताक्ने गर्दछ । तर पनि यो पार्टीसँग सहकार्य गर्न सकिन्छ, दस्तावेजमा उल्लेख छ । जसपाले मधेशबाटै उदाएको अर्को शक्ति जनमत पार्टीको भने केही उल्लेख गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button