
मधेशदृष्टि
वीरगंज ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर २, ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौँका लागि छुटेको ४३ जना सवार युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबबार बिहान ऐना पहरानजिकबाट मस्र्याङ्दी नदीमा खसेको हो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुईपटक गरेर काठमाडौँ पठाइयो भने बाँकी सबैको मृत्यु भएको छ,’ गौतमले भने, ‘शुरुमा १४ र पछि १३ जनाको मृत्यु भएको हो ।’ मृत्यु भएकाहरु भारतीय नागरिक हुन् भने उनीहरुको परिचय खुल्न बाँकी छ ।
पोष्टमार्टमपछि परिवारलाई बुझाइने
मस्र्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्टम गरेर मात्र परिवारलाई शव बुझाइने तयारी गरिएको छ । ४३ भारतीय पर्यटक सवारी बस ऐना पहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मृत्यु भएका २७ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाइने बताए । शव पोखरा लगिएको छ । तनहुँको दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा पठाउन लागिएको हो । पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उनीहरुले ल्याउन चाहेको बताइएको छ ।
गुडिरहेको ट्रकमाथि ढुंगा पल्टियो
नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गुडिरहेको बसमाथि शुक्रबार दिउँसो अचानक ढुंगा खस्दा बस अनियन्त्रित भइ सडकमा पल्टेको छ । बस पल्टँदा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । रौतहट गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि दिउँसो पौने दुई बजेतिर ढुंगा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।
घाइतेहरूको भरतपुरको सरकारी अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सत्रकिलोमा यसअघि बुधबार बिहान काठमाडौँबाट भरतपुर आउँदै गरेको माइक्रोबसमाथि ढुंगा खस्दा दुई यात्रु सामान्य घाइते भएका थिए । गएको असार २८ गते बिहानपख यही ठाउँमा बसमाथि ढुंगा खस्दा चालकको निधन भएको थियो ।
००००







