
मधेशदृष्टि
धनुषाधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले हंसपुरले नगरपालिकाले आर्थिक अनियमितता गरेको र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन नसकेको भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका तर्फबाट हंसपुरका पूर्वनगरप्रमुख रामज्ञान मण्डलले नगरप्रमुख प्रदीप यादवलाई ज्ञापनपत्र, ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पार्टीले बुझाएको ज्ञापनपत्रमा हंसपुर नगरपालिकामा नयाँ नेतृत्व आएको २ वर्ष ६ महिना बित्दा पनि जनताले सुशासन र सेवा अनुभूति गर्न नसकेको, पालिकाले अनेकानेक शीर्षकमा भ्रष्टाचार गरेको, अनियमितता गरेको भनेर बुँदागत हिसाबले विभिन्न शीर्षकसमेत उल्लेख गरिएको छ । पार्टीले बुझाएको ज्ञापनपत्रमा पालिकाले भवनसमेत बनाउन नसकेको र स्थानीय सरकारको काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता नभएको आरोप लगाइएको छ । यस्तै, नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ (४ ख) अनुसार, योजना तथा कार्यक्रम अनुगमन गरी प्रतिवेदन नबुझाइएको, आयव्ययको वर्गीकरण तथा खर्च शीर्षकसम्बन्धी व्यवस्था रहेकामा यो अनुसार काम नभएको दाबी गरेको छ ।
पार्टीले स्थानीय तहले आर्थिक योजना बनाई लागू गर्नु पर्ने व्यवस्थामा हंसपुरले यस्तो नगरेको तथा आयोजना प्राथमिकीकरण आधारमा गरिबी निवारण, उत्पादनमूलक, रोजगारी, लागत सहभागिताका काममा पनि पारदर्शीपन नदेखिएको बताएको छ । योजना छनौटमै खोट पाइएको, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पालना नभएको, जिन्सी मालसामानको लागत खडा नभएको, सार्वजनिक सेवाप्रवाह प्रभावकारी नबनाएको, सार्वजनिक परीक्षण र सार्वजनिक सुनवाई नभएको पार्टीले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । एकीकृत सम्पत्ति कर, घरजग्गा कर, घरजग्गा बहाल कर, व्यवसाय कर र बहालबिरोधी शुल्क उठाउने व्यवस्थामा पनि नगरपालिकाले अपांग बनाएको लोसपाको आरोप छ ।
नगरपालिकाले नियमविपरीत करार र ज्यालादारी कर्मचारी नियुक्त गरेको आरोप लोसपाको छ । यस्तै, नगरका सर्वसाधारणले मलखाद, उन्नत जातका बिउबिजन, सिँचाइ सुविधा नपाइएकोबारे पार्टीले ध्यानाकर्षण गराएको छ । यस्तै, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि नगरले प्रभावकारी कार्य नगरेको भन्दै लोसपाले ध्यानाकर्षण गराएको छ ।
लोसपाका हंसपुर अध्यक्ष लालबाबु यादवको हस्ताक्षर रहेको ज्ञापन पत्रमा हंसपुरले निर्माण गरेको १० शैयाका प्राथमिक अस्पताल बघचौडामा टेण्डर शुरुदेखि नै अनियमितता गरेको लोसपाको आरोप छ । अन्य थुप्रै योजना र ठेक्काहरुमा सार्वजनिक खरिद ऐनविपरीत कार्य भएको बताइएको छ । यस्तै, नगरपालिकाले ४३ लाख ६० हजार रुपैयाँ भन्दा बढीको इन्धन खरिद गरेर बदमासी गरेको लोसपाले छानबिन गर्न माग गरेको छ । अन्य विभिन्न शीर्षकमा पनि नगरपालिकाको नेतृत्वले बदमासी गरेको लोसपाको आरोप छ ।






