जनमतद्वारा मुख्यमन्त्रीलाई जनमुखी शासन चलाउन निर्देशन

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश र केन्द्र सरकारको सत्तामा पुगेको जनमत पार्टीको सचिवालय बैठकले मधेशमा जनतालाई रोजगारीको व्यवस्थासहित सुशासन कायम गर्न निर्देशन दिएको छ । जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा शुक्रबार शुरु भएको जनमत पार्टीको दुईदिने सचिवालय बैठक शनिबार सकिँदा मधेश प्रदेश सरकारको सञ्चालन, प्रगति र आगामी कार्यदिशामा केन्द्रित थियो ।

बैठकले बिभिन्न चार बुँदे निर्णय गरेको प्रवक्ता डा. शरदसिंह यादवले बताए । यादवका अनुसार दुई दिनसम्म चलेको सचिवालयको बैठक खासगरी मधेश सरकारको नेतृत्व पाएको ४९ दिनसम्ममा भएको प्रगतिको समीक्षा भएको छ । बैठकमा सरकारको कामकाजको समीक्षासँगै सरकार सञ्चालन गर्दा देखिएका चुनौतीका सवालमा केन्द्रित रहेको जनमत पार्टीले जानकारी दिएको छ । सरकारलाई अझ बढी चलायमान बनाउन समीक्षा बैठकले सुझाव दिएको जनमत पार्टीले जानकारी दिएको छ ।

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजनाबारे छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथिति सुधार गर्दै सुशासन कायम गर्न ध्यान दिन मुख्यमन्त्री सतिश कुमार सिंहलाई निर्देशन दिएको छ । यसैगरी, प्रदेशमा व्यापकरुपमा रोजगारीका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको जनमत पार्टी प्रवक्ता यादवले बताए ।

बैठकबाट प्राप्त सुझाव सरकारका तर्फबाट जनतालाई फाइदा हुने सबै गतिविधि गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता पनि जनाएको बताइएको छ । जनमत अध्यक्ष सिके राउतको अध्यक्षतामा बैठक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button