नक्कली प्रहरी बनेर मोटरसाइकल चोरी गर्ने समातिए

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
बारा जिल्लामा एक जना व्यक्तिले नक्कली प्रहरी बनेर मोटरसाइकल चोरी गर्ने गरेको घटना सार्वजनिक भएको छ । आफू प्रहरी भएको र एकछिनका लागि भन्दै मोटरसाइकल मागेर फरार भएका व्यक्ति नक्कली प्रहरी भएको सार्वजनिक भएको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर ७ बस्ने सहाबुदिन अन्सारीले यसरी मोटरसाइकल चोरी गर्नुका साथै रकम ठगीसमेत गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले नक्कली प्रहरी बनेर मोटरसाइकल चोरी गर्ने र रकम ठगीका घटनामा समेत संलग्न रहेको भन्दै अन्सारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीले गत जेठ ३२ गते महागढिमाई नगरपालिका वडा नम्बर ८ जोलगावा बस्ने सीताराम राय यादवको ना ४ प २२१२ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । रायको उजुरीका आधारमा प्रहरीले उनलाई खोजतलास गरी पक्राउ गरेको हो ।

चोरीकै मोटरसाइकल लिएर अन्सारी घुमघाम गर्ने र प्रहरीकै भ्रममा पारी पैसा ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पक्राउ परेका अन्सारीलाई चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button