अस्पतालमा ताला लाग्दा चौरबाट उपचार

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जानकी आँखा अस्पतालमा पदाधिकारी र चिकित्सक–कर्मचारी नै विभाजित भएपछि अस्पताल सञ्चालन समितिको बखेडाले नयाँ मोड लिएको छ । आइतबार एउटा समूह अस्पतालमा तालाबन्दीमा जाँदा अर्को समूहले खुलाचौरमै बिरामीको उपचार गरेका छन् । तर, अस्पतालका आधिकारिक चिकित्सक र कर्मचारीले ताला लगाएर बिरामीलाई उपचार सेवा लिन वञ्चित गरेका छन् ।

आन्तरिक विवादमा फसेको आँखा अस्पताल बन्द भए पनि जानकारी अभावमा टाढाबाट आएका बिरामीलाई खुलाचौरमा उपचार गरिएको हो । जानकी आँखा अस्पतालमा कार्यरत आन्दोलनरत डा. अमित यादवले अस्पताल बन्द हुँदा खुलामैदानमै उपचार गर्नु परेको बताए । डा. यादवले सहयोगीको साथ लिएर अस्पताल परिसरमै तीन सय ५० भन्दा बढी बिरामीको आँखा उपचार गरे ।

अस्पताल सञ्चालन समितिले आर्थिक लाभको मोहमा केही चिकित्सक तथा कर्मचारीलाई कानून विपरीत हटाउन खोजेपछि अस्पतालमा विवाद चर्केको छ । समस्या समाधानको पहल गर्नुको साटो सञ्चालन समितिका अध्यक्ष नै गैरजिम्मेवार बनेपछि विवाद अरू जटिल बनेको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष नरेश प्रसाद सिंहले दुई हप्ताअघि नै राजीनामा गरिसकेको बताउँदै आएका छन् । अस्पतालमा धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहाको पूर्वी भागमा बस्ने जनतासँगै भारत बिहारका विभिन्न क्षेत्रमा बसोबास गर्ने नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button