रूपनगर क्याम्पसका विद्यार्थीलाई ‘छोरी छात्रवृत्ति’

[mashshare]

मधेशदृष्टि
सप्तरी ।
मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ रूपनगर नन्दराज संग्रौला क्याम्पसका पाँच जना छात्राले पाएका छन् । बर्सेनि दिइने ‘छोरी छात्रवृत्ति’ रुपनगर क्याम्पसका विद्यार्थीले पहिलो पटक पाएका हुन् । जेहेन्दार, विपन्न र दलित गरी तीन वर्गमा दिइने उक्त छात्रवृत्ति २५ हजार रुपैयाँको छ । अर्थात् छात्रवृत्ति पाउने प्रत्येक छात्राले एक मुष्ठ २५ हजार रुपैयाँ पाउने छन् । छात्रवृत्ति रकम सोझै सम्बन्धित विद्यार्थीको बैँक खातामा पठाइने जानकारी मधेश प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयले दिएको छ ।

छात्रवृत्तिका लागि छनौट भएका रूपनगर नन्दराज संग्रौला क्याम्पसका छात्राहरू मध्ये दुई जना बिबिएस पहिलो वर्ष र तीन जना दोश्रो वर्षमा अध्यनरत छन् । जेहेन्दार, विपन्न र दलितमा वर्गीकरण गरिए पनि छात्रवृत्तिका लागि आवेदन दिएका छात्राहरू मध्ये कक्षा १२ को परीक्षामा वढी अङ्क वा जीपीए ल्याउनेलाई छात्रवृत्तिका लागि छनौट गरिएको छ ।

मधेश प्रदेश सरकारले सार्वजनिक गरेको छात्रवृत्ति पाउनेहरूको विवरणमा उल्लेखित तथ्याङ्क अनुसार २.३ भन्दा कम जीपीए ल्याउनेले कुनै पनि वर्गबाट छात्रवृत्ति नपाएको देखिन्छ । जेहेन्दार वर्गमा छात्रवृत्ति पाउनेहरूमा, १२ कक्षाको परीक्षामा सबै भन्दा वढी अङ्क ल्याउने छात्राले ३.९१ जीपीए ल्याएकी छन् भने सबै भन्दा कम २.९१ जीपिए ल्याउनेसम्मका आवेदकले यो छात्रवृत्ति पाएको तथ्याङ्क मधेश प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा देखिन्छ ।

त्यसैगरी विपन्न वर्गमा छात्रवृत्ति पाउनेहरूमा, १२ कक्षाको परीक्षामा न्यूनतम् २.६६ जीपिए ल्याउनेसम्मका आवेदकले यो छात्रवृत्ति पाएका छन् । विपन्न भए पनि पढाइमा राम्रो गर्नै पर्ने सन्देश यो छात्रवृत्ति छनौट प्रक्रियाले दिएको छ । दलित, विपन्न जस्ता आरक्षणको अवधारणा मात्र होइन मधेश प्रदेश सरकारले अध्ययनमा गुणस्तरलाई पनि महत्व दिएको देखिएको छ ।

दलित वर्गबाट छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्दा पनि १२ कक्षाको परीक्षामा ल्याएको अङ्कलाई आधार मानिएको तथ्याङ्क मधेश प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा देखिन्छ । यो वर्गबाट छात्रवृत्ति पाउनेहरू मध्ये १२ कक्षाको परीक्षामा सबै भन्दा कम २.३ जीपीए ल्याएका छन् । २.३ भन्दा कम जीपीए ल्याउने कोही पनि यो छात्रवृत्ति छनौटमा परेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button