
सञ्जय मिश्रा
रौतहट ।
रौतहटको गौरमा ट्युसन पढ्ने विद्यार्थी समूहबीच सामान्य कुरामा भएको विवाद कारण छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागि वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ । गौर नगरपालिका नजिकै सञ्चालनमा रहेको ट्युसन तथा कोचिङ सेन्टरका विद्यार्थीबीच झडप भएको खबर पाउनेबित्तिकै पुगेको प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले ईशनाथ नगरपालिका वडा नम्बर ९ का २० वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका वडा नम्बर ९ का १८ वर्षीय शिवम कुमार सहनीलाई पक्राउ गरेको हो ।
गौर नगरपालिका वडा नम्बर ३ राईस मिलको पश्चिमतर्फको सडकमा सोही वडाका सुरज प्रसाद यादव, अभिनाश कुमार यादवलाई संजिव गुप्ता, प्रदिप साह र शिवम कुमार सहनीले केही दिन पहिला विद्यालय पढ्न जाँदा एकले अर्कालाई आँखा तरेरेर हेरेको निहुँमा एक आपसमा रिसइबी भएको थियो । सोही रिसिविको कारणले बिहीवार राती सवा ८ बजेतिर उनीहरूमाथि छुरा प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए । निजहरुलाई खोजतलास गर्दै जाँदा बिहीबार राती सवा ९ बजेको समयमा निजहरु बसेको घरको कोठामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाउपर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।





