
मधेशदृष्टि
वीरगंज ।
मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आइसिपी भन्सार हुदै चालु आर्थिक वर्षको दश महिनामा २२ अर्ब ६० करोड १६ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको धान, चामल, मकैलगायतका खाद्यान्न भित्रिएको छ । वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ७ अर्ब ६४ करोड ४२ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरको धान भित्रिएको छ ।
सो अवधिमा १ अर्ब ५५ करोड ३३ लाख ४ हजार रुपैयाँ मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आइसिपी भन्सार नाकाबाट सो अवधिमा ७ अर्ब ६४ करोड ४२ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरको मकै भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । यसैगरी वीरगंज नाकाबाट फापर, कोदोको पिठोलगायतका खाद्यान्न १ अर्ब ५५ करोड ३३ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको भित्रिएको छ । ४ अर्ब २० करोड ६३ लाख रुपैयाँ मूल्य बराबरको गँहु भित्रिएको छ ।
धान चामल, मकै र गहुँलगायतका खाद्य सामग्रीबाट वीरगंज भन्सारले १ अर्ब २७ करोड २५ लाख २४ हजार राजस्व असुली गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । गत वर्ष वीरगंज नाकाबाट सो अवधिमा १ अर्ब ४३ करोड ८० लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको धान, चाम, मकै, फापर कोदो तथा गहुँलगायतका खाद्यान्न भित्रिएको र सो वापत १ अर्ब ७ करोड ३२ लाख ५१ हजार राजस्व असुली भएको भन्सार प्रशासक पन्थीले बताए ।






