
सञ्जय मिश्रा
रौतहट ।
रौतहटको सीमावर्ती ईशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा दशगजामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमासुरक्षा बल एसएसबीले संयुक्त रूपमा सरसफाइ गरेका छन् । ‘सिमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटको आयोजनामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, दुवै देशका जनप्रतिनिधि, भारतीय सीमासुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त रूपमा दशगजा सरसफाइसँगै अन्तरक्रिया कार्यक्रम गरेको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरैयासहित सशस्त्रका ४५ जना, नेपाल प्रहरीका ३ जना, एसएसबीका १४ जना र स्थानीय गरी झन्डै एक सय पचास जनाको टोलीले मंगलवार हातहातमा झाडु लिएर ईशनाथ १ बनजरहा दशगजा क्षेत्रमा झण्डै आाठ सय मीटर सरसफाइ गरेको सशस्त्रका एसपी विक्रम हुमागाईंले बताए । सरसफाइ पछि ईशनाथ नगरपालिकाकी मेयर कौशल्या देवीको प्रमुख आतिथ्य तथा दुबै देशका जनप्रतिनिधि सुरक्षा अधिकारीको सहभागिमा भएको अन्तरक्रिया कार्यक्रममा वर्षात तथा मनसुनको समयमा हुनसक्ने बाढी डुबानबाट उत्पन्न हुने जोखिम, त्यसको समाधानको उपाय, विपदको समयमा फैलन सक्ने विभिन्न रोग तथा सुरक्षात्मक उपायको बारेमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बैठकमा मेयर कौशल्या देवीका साथै सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिवक्रम हुमागाईं, भारत बिहार घोडासहन ब्लक अन्तर्गत ग्रामपञ्चायत बलुवाका मुखिया महमद फारुक आलम, सीमासुरक्षा बल एसएसबीका अधिकारीसँगै दुबै देशका जनप्रतिनिधि तथा स्थानीय भद्रभलादमी गरी दुईसय भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । रौतहटमा सशस्त्र प्रहरी प्रमुख एसपी विक्रम हुमागाईंको नेतृत्वमा विगतदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै हुँदै आएको छ ।






