
मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पार्टी विभाजन गर्नेहरुलाई लोभी पापीहरुको संज्ञा दिएका छन् । शनिवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा यादवले पार्टी विभाजन गरेर जानेलाई लोभी पापीहरुको संज्ञा दिएका हुन् ।
अध्यक्ष यादवले लोभी पापीहरु पार्टीबाट बाहिरिदैमा पहिचान र राष्ट्रिय मुक्ति आन्दोलनमा कुनै पनि असर नपर्ने बताए । ‘दुई–चार वटा लोभी पापीहरु यताउता गर्दैमा मुक्ति आन्दोलन र जनताको मुक्ति चाहनामा फरक पर्नेबाला छैन’ अध्यक्ष यादवले भने । साथै उनले अन्तैबाट फुटेरै आएकाहरु थप स्वार्थ पूरा गर्नका लागि अन्त गएकोले त्यो अर्थहीन भएको र उनीहरुबाट कुनै पनि कुराको आश गर्न नसकिने टिप्पणी समेत गरे ।
पञ्चातयकालको निरंकुशताविरुद्ध लडिरहेका बेला तत्कालीन शासनसत्ताले केही लोभी पापीलाई कांग्रेस र कम्युनिष्टबाट ल्याई पञ्चायतमा बसाउँदै वक्तव्यबाजी गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यो व्यवस्था र व्यवस्थालाई टिकाउन खोज्नेको पनि पतन भएको जिकिर गरे ।






