वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेश सभामा बोल्ने अधिकांश प्रदेश सभा सदस्यले किसानले भोगिरहेको समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन् । मधेश प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले खेती गर्ने किसानलाई विद्युत्को समस्या रहेको बताउँदै उनीहरुलाई सिँचाइका लागि सरकारले सहजरुपमा विद्युत् प्रबन्ध गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले आफूहरुले प्रदेश सभामा उठाउने गरेको विषयमा सरकारको जवाफ नआउने गरेकाले आफूहरुले विषय मात्रै उठाउने गरेको बताउँदै यसका लागि मन्त्रीहरुसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद साहले सरकारले विनियोजन गरेको बजेटमा असमानता देखिएको भनदै सरकारको ध्यनाकर्षण गराएका छन् । उनले बारा–रौतहटमा ७ प्रतिशत र अन्य जिल्लामा १६ प्रतिशतसम्म बजेट विनियोजन गरिएको बताउदै सरकारले असमानताका आधारमा चलिरहेको आरोप लगाए । उनले सरकारले असमानरुपमा बजेट विनियोजन गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसमा सुधारको आवश्यकतामा जोड दिएका छन् ।
प्रदेश सभा सदस्य सुरिताकुमारी साहले मधेश प्रदेशमा पानीको सतह घटिरहेको बताउँदै यो सारै चिन्ताको विषय भएको बताइन् ।
उनले यसका लागि सरकारले ठोस कार्यक्रम र योजना ल्याउनुपर्नेमा जोड दिँदै पानीको सतह घटिरहेका कारण किसानलाई सिँचाइमा समस्या भइरहेको बताइन् । गर्मीको समयमा खानेपानीको समेत समस्या हुने गरेको बताउदै पानीको सतहलाई रिचार्ज गर्न ठोस योजनाको निर्माण गर्नुपर्नेमा उनको जोड थियो । उनले प्रदेशमा अतिवृष्टि तथा अनावृष्टिलगायतका समस्याको संकेत देखिन शुरु भइसकेकाले प्रदेशमा खेतखेतमा सिँचाइ पुर्याउन प्रदेश सरकारलाई ध्यान दिन आग्रह गरे । मधेश प्रदेशका अधिकांश नागरिक कृषिमा आधारित रहेकाले किसानको समस्या समाधान गर्न प्रदेश सरकारकै रहेको उनले बताइन् ।
जनमत पार्टीका प्रदेश सभा सदस्य वसन्त कुशवाहाले सरकारले आफ्नो आन्तरिक स्रोत बढाउनेमा ध्यान नदिएको कारणले गर्दा संघीय सरकारको अनुदानबाट मात्रै सबल संघीयताको कल्पनासमेत गर्न नसकिने बताए । माओवादी केन्द्रकी प्रदेश सभा सदस्य माला कर्णले सप्तरीको केही सडक निर्माण नहुँदा वर्षौँदेखि अलपत्र रहेका कारण सर्वसाधारणलाई आवतजावतमा समेत समस्या हुने गरेको बताइन् ।
यस्तै, लोसपा नेपाल प्रदेश सभा सदस्य जयनुल राइनले महोत्तरीको जनता सबै भन्दा बढी रातो नदीबाट पीडित बन्दै आएका बताउँदै उनीहरुको समस्याप्रति सरकारको ध्यान जानुपर्नेमा जोड दिए । राइनले प्रदेशमा कृषि विद्युतीकरण आवश्यक रहेको बताए । उनले कृषि विद्युतीकरणको अभावका कारण खेत सिँचित हुन नसक्दा धानबालीमा असर गर्नेबारे सचेत गराए । त्यसैले किसानलाई निःशुल्क मिटर वितरण गरेर खेतीयोग्य जग्गा सिँचित गर्न कदम उठाउन माग गरे ।
नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रत्नेश्वर लाल गोइतले सिँचाइ सुविधाका लागि विद्युतीकरणका लागि समयमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदनसमेत पेश गरिएको छ । प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्यायिक समितिका सभापति रुपा यादवले प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन सदनमा पेश गरेकी हुन् ।