
सञ्जय मिश्रा
रौतहट ।
पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले पैसा अवैध बाटोबाट विदेश गइरहेका कारण आर्थिक संकट आएको बताएका छन् ।
बडादशैँ, दिपावली तथा छठको अवसर पारेर क्षेत्रको प्रत्येक घरमा पुग्ने लक्ष्यअनुरूप सातौँ दिन नेता साहले देवाहीगोनाही नगरपालिकाको टिकुलिया–पिपरा, गोनाही, धरहरी तथा गरुड़ा नगरपालिकाको लक्ष्मीपुर–अमरपट्टीलगायतका गाउँमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै यस्तो बताएका हुन् ।
देशको उच्च पदमा रहेका कर्मचारीले कमिसन (घुस)को नाममा पैसा उठाउने, ठूला व्यापारी राजस्व छली गरी पैसा थुपार्ने, नेता कमिसनका रूपमा पैसा थुपारिरहने कारण अवैध बाटोबाट पैसा विदेश पुगिरहेको उनको तर्क छ । ‘नेपालको कानुनले कुनै सम्पत्ति लैजान मिल्दैन तर तपाईं पत्ता लगाउनुस् घर भाडा पनि छोड्दैन,’ उनले भने, ‘भएको पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल समृद्ध हुन्छ ?’ उनले रौतहटकै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको छोराछोरी कहाँ छन् भनेर प्रश्न गरे ।






